राजधानीमै स्वाइन फ्लुको संक्रमण


प्रशान्त वली, काठमाडौं
नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ। एक हप्ताअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका ५० वर्षीय एक जना पुरुषमा स्वाइन फ्लुको जीवाणु भेटिएको सो अस्पतालबाट जानकारी प्राप्त भएको छ।
उपचारका क्रममा निजलाई परीक्षण गर्दा स्वाइन फ्लुको भाइरस (इन्फ्लुएन्जा ए, एच वान एन वान पीडीएम ०९) भेटिएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो। स्वाइन फ्लु हुँदा १ सय १ डिग्रीको ज्वरो आउने, सुख्खा खोकी लाग्ने, आँखा रातो हुने, सास फेर्दा अप्ठेरो हुने लक्षण देखा पर्ने गर्दछ।

स्वाइन फ्लु लाग्दा बालबालिकामा वान्ता हुने र पखाला लाग्ने लक्षण देखिने गरेको डा. पुनले बताउनुभयो। स्वाइन फ्लुको खतरा देखिएमा रोग निवारणका लागि एन्टिभाइरल औषधि सेवन गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। रोग लाग्न नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने, मास्क लगाएर हिँड्नुपर्ने तथा संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा रुमाल प्रयोग गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. पुनले बताउनुभयो।

स्वाइन फ्लु एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। यसको संक्रमण मेक्सिकोको वेराक्राज इलाकाको सुँगुर फार्ममा सबैभन्दा पहिले देखिएको थियो। यसलाई कतैकतै सुँगुर ज्वरो पनि भन्ने गरिन्छ। अहिले सबैभन्दा खतरनाक भाइरस एच वन एन वनको संक्रमण संसारका करिब २ सय देशहरूमा देखिइसकेको छ। प्रयोगशालामा गरिएको परीक्षणबाट यो रोगको भाइरसको जिन उत्तरी अमेरिकाका सुँगुरमा पाइने जिनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लु भन्न थालिएको हो।

सर्वप्रथम त सुँगुरको सम्पर्कमा नियमित रहिरहने मानिसहरूमा सुँगुरबाट यो भाइरस सर्ने गर्दछ। त्यसपछि स्वाइन फ्लु प्रभावित व्यक्तिहरूको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ। स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ। रोगीले कुरा गर्दा, खोक्दा वा हाच्छ्युँ गर्दा विषाणुयुक्त स–साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ। यसबाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत विषाणु हुन सक्छन्। यो रोगबाट केहीअघि पनि राजधानीमा केही व्यक्तिको मृत्यु भए पनि पछिल्लो समयमा यसको असर नदेखिएकोमा अहिले एक्कासि संक्रमण देखिएको हो।