लहान क्याम्पसमा तोडफोड


फिरोज सिद्दिकी, सिरहा
स्ववियु निर्वाचन स्थगित भएपछि सिरहाको लहानस्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसमा तोडफोड भएको छ।

मंगलबार क्याम्पस प्रशासनले स्ववियु निर्वाचन हुन नसक्ने भनेपछि त्यसको विरोधमा अनेरास्ववियु र नेविसंघले तोकेको मितिमा स्ववियु निर्वाचन हुनुपर्ने भन्दै क्याम्पसमा तोडफोड गरेका हुन्।

निर्वाचन हुने निर्णय गर्न नेविसंघ र अनेरास्ववियुले क्याम्पस प्रमुख तुलसी पोखरेललाई दबाब दिएका थिए। तर क्याम्पस प्रमुख पोखरेलले निर्वाचन गराउन नसक्ने बताएपछि आक्रोसित नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूले क्याम्पसको लाइब्रेरी शाखामा तोडफोड गरी क्याम्पस प्रमुखसहित प्राध्यापकलाई समेत छ घण्टासम्म कोठामा थुनेका थिए। तोकेको मितिमै निर्वाचन गराउने निर्णय नगरेका कारण क्याम्पस प्रमुख पोखरेलसहितलाई थुनेको अनेरास्ववियु केन्द्रीय सदस्य सुरेश यादवले जानकारी दिनुभयो।

यता, क्याम्पस प्रमुख पोखरेलले मधेसी विद्यार्थी संगठनहरूले क्याम्पसमा गरेको तालाबन्दी र चेतावनीका कारण निर्वाचन गराउने वातावरण नरहेको बताउनुभयो। उहाँले मलाई ‘थ्रेट छ, त्यसैले निर्वाचन गराउन सम्भव छैन भन्नुभयो।

त्रिभुवन विश्वविद्यालयले १८ गते स्ववियु निर्वाचन सम्पन्न गर्ने भने पनि मधेसी विद्यार्थी संगठनहरू निर्वाचनको विरोधमा उत्रिएपछि जिल्लाका क्याम्पसहरूमा उम्मेदवारी मनोनयनसम्म हुन सकेको छैन।