चुनावको मिति घोषणासंगै सर्वसाधारण उत्साहित



सिन्धुली, १५ फागुन । स्थानीय तह चुनावको मिति घोषणासंगै यहाँका सर्वसाधारण उत्साहित भएका छन् ।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि भएपछि गाउँका विकास निर्माण तिव्र गतिमा अगाडी बढ्ने तथा विभिन्न समस्याको सहज निकास हुनेमा यहाँका जनता आशावादी छन् ।

सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तह चुनावको मिति घोषणा गरेको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि खुसी हँुदै कमलामाई नगरपालिका सुशीला लामाले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वगतयोग्य रहेको बताउनुभयो ।

‘१९ वर्षदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहँुदा सर्वसाधारणले धेरै समस्या झेलिरहेको उल्लेख गर्दै उहाँले अब पनि तोकिएकै समयमा निर्वाचन होस् भन्नुभयो’ । समयमा नै स्थानीय निकायको चुनाव गराएर विकास निर्माणको कार्यलाई गति दिनुपर्ने धारणा उहाँको छ ।

यस्तै स्थानीय टङ्कध्वज थापाले अब हुने स्थानीय निकायको चुनावमा असल, कुशल, राजनीतिक व्यक्तिको छनोट हुने विश्वास व्यक्त गर्नुभयो ।

राजनीतिक चलखेल नभइ तोकिएको मितिमै स्थानीय निकायको चुनाव सम्पन्न गर्न यहाँका सर्वसाधारणले अनुरोध गरेको स्थानीय बुद्धिजीवी फाल्णुणी शमाले बताउनुभयो । स्थानीय निकायबाट प्राप्त गर्ने सेवा सुविधा सहज रुपमा पाउन नसकेको अवस्थामा निर्वाचनको मिति घोषणा गर्नु निकै स्वागतयोग्य रहेको उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचनको टङ्गो लागेपछि जिल्लाका सबै क्षेत्रका नागरिकको मन कौतुहल्ता र आशाले भरिएको छ । निर्वाचन हुने भएपछि व्यापार व्यवसाय, विकास निमार्णमा आइपरेका अप्ठ्यारा सहज हुने भन्दै सरकारको यो निर्णयलाई सिन्धुलीका व्यवसायीलेसमेत स्वागत गरेका छन् ।

अहिले गाउँ, बजार, नगर, सदरमुकामलगायतका स्थानमा चुनावका विषयमा चर्चा परिचर्चा चल्न थालेका छन् । झन्डै दुई दशकपछि हुन लागेको यो निर्वाचनलाई स्वच्छ र पारदर्शीरुपमा सम्पन्न गराउनमा सहयोग गर्न जिल्लास्थित विभिन्न राजनीतिक दलले यहाँका समाजसेवी, बुद्धिजीवी, सरोकारवाला निकाय र सर्वसाधारणलगायत सबैलाई आग्रह गर्न थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्