नेपाल समाचारपत्र
नुवाकोट
रसुवागढी जलविद्युत् आयोजनाबाट अढाई वर्षभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण कार्य अगाडि बढेको छ। सन् २०१९ को अगस्टभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित आयोजनाको काम तीव्र रूपमा अगाडि बढेको हो।
सन् २०१७ को जुन महिनासम्म निर्माण पूरा गरिने पूर्वयोजना रहे पनि भूकम्प, नाकाबन्दी र वर्षायाममा गएको पहिरोका कारणले आयोजना पूरा गर्न बढी समय लाग्ने आयोजना प्रमुख छवि गैहे्रेले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै गैहे्रले भन्नुभयो–“गत नोभेम्बर महिनादेखि आयोजनाको काम तीव्र रूपमा सञ्चालन गरिएको छ।” हाल चार–पाँच स्थानबाट सुरुङ खन्ने काम भइरहेको, सुरुङको लम्बाइ करिब ४२ सय मिटर रहने आयोजनाका आयोजना प्रमुख गैह्रेले जानकारी दिनुभयो। मुख्य सुरुङको सहायताले तिनै स्थानबाट दायाँबायाँ सुरुङ खन्ने काम भइरहेको र बाँध स्थलदेखि भित्री भागमा रहने बालुवा रोक्ने तीनवटा पोखरीमध्ये एउटा पोखरीको सुरुङ (ब्रेक थ्रु) निर्माण भइरहेको आयोजनाले जनाएको छ। आयोजनाको काम निर्धारित समयमा पूरा गर्ने लक्ष्यसहित ३० भन्दा बढी आयोजनाका प्राविधिक, ८० जना चिनियाँ र ३ सयभन्दा बढी अन्य कामदार संलग्न रहेको आयोजनाले जनाएको छ।
सन् २०१४ बाट निर्माण शुरू गरिएको चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धन गरिएको यस आयोजना नेपाल–चीन सिमा नाका नजिकै भोटेकोशी नदीमा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्य तीव्र पारिएको छ। करिब १३ अर्ब ६४ करोड ४० लाख रुपियाँको लागतमा रसुवा जिल्लाको थुमन र टिमुरे गाविसमा योजना निर्माण भइरहेको छ । टिमुरेको विद्युत्गृह रहने तातोपानी क्षेत्रभन्दा पारिको पहिरो र बाँधस्थलदेखि तल सुरुङको सहायताले मुख्य सुरुङबाट अन्य सुरुङको निर्माण भइरहेको छ। रसुवागढी जलविद्युत् आयोजना पूरै भूमिगत संरचना भएका कारण बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपले असर नपुर्याउने आयोजना प्रमुख छवि गैहे्रेको दाबी छ।
यसैबीच चिलिमे प्रवद्र्धित चार आयोजनामध्ये १ सय ११ मेगावाट क्षमताको रसुवागढी आयोजना सबैभन्दा ठूलो आयोजना हो। यो सहित सान्जेन ४२ दशमलब ५ र अपर सान्जेन १४ दशमलब ६ मेगावाट र सिन्धुपाल्चोकमा १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोसी आयोजना थालनी कार्य हुँदैछ। यी चार जलविद्युत् आयोजनाको कुल विद्युत् उत्पादन क्षमता चार आयोजनाले २ सय ६० मेगावाट विद्युत् उत्पादन गर्नेछ।
शुरुमा यो आयोजना सय मेगावाटमात्रै डिजाइन गरिएको थियो। भूमिगत संरचनामा निर्माण हुने आयोजनाको निकास नहरलाई पूर्व निर्धारित क्षेत्रभन्दा तल सार्दा विद्युत् गृहको जडान सतह पनि तल सर्न गई ६ मिटर हेड बढ्ने भएपछि ११ मेगावाट उत्पादन क्षमता अभिवृद्धि गरिएको थियो। विद्युत् गृहमा जडान हुने फ्रान्सिस तीनवटा टर्वाइन तलमाथि ३ भागमा बस्ने र भोटेकोसी नदीमा बाँध बाँधेर चार हजार दुई सय तीन मिटर दूरीको सुरुङबाट ल्याइएको पानीलाई तीन सय १३ मिटर उचाईमा पेनस्टक पाइप जडान हुनेछ। यसको सहायताले रनरमा खसालिएको प्रतिसेकेन्ड ८० घनमिटर पानीबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना छ।
प्रतिक्रिया