कारोबार बढे पनि परिसूचक घट्यो

0
Shares

काठमाडौं, (नेस)
बजार उतारचढावपूर्ण रहेको साता कारोबार रकममा वृद्धि भए पनि समग्र नेप्से परिसूचक भने ओरालो लागेको छ। साताको पहिलो दिनको तुलनामा नेप्से ३१ दशमलव ८९ अंकले घटेर अन्तिम दिन परिसूचक १३३७ दशमलव ४६ अंकमा झेरेको छ। सबै समूह ओर्लिएको साता बैंकिङ समूह ३३ अंक, विकास बैंक समूह १३ अंक, वित्त समूह २० अंक, होटल समूह ११ अंक, जलविद्युत् समूह २० अंक, उत्पादनमूलक समूह २ अंक र अन्य समूह २ अंकले ओर्लिएका छन्। अघिल्लो साता नेप्से ९१ दशमलव ३५ अंकले बढेको थियो।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको कारोबार भएको छ। जसअनुसार २८ हजार ६८ कारोबारबाट २ अर्ब ७४ करोड ७४ लाख ५६ हजार रुपियाँका ६२ लाख ३४ हजार ३५० कित्ता शेयर खरिद बिक्री भएको नेप्से जनाएको छ। कारोबार रकम गत साताको भन्दा ६ दशमलव ४३ प्रतिशत बढी हो। अघिल्लो साता १५५ कम्पनीको २९ हजार ३२७ कारोबारबाट २ अर्ब ५८ करोड १४ लाख १५ हजार रुपियाँको ७९ लाख सात हजार ७२० कित्ता शेयर खरिद बिक्री भएको थियो। यस साता १४ करोड ८८ लाख ६० हजार रुपियाँको कारोबार गर्दै बैंक अफ काठमाडौं लुम्बिनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ। साथै १५२९ वटा कारोबारकाको आधारमा पनि बैंक अफ काठमाडँैं लुम्बिनी लिमिटेड अगाडि रहेको छ। यस साता नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, शिखर इन्स्योरेन्स र नबिल बैंक (संस्थापक) शेयरको कारोबार पनि उच्च रह्यो।
त्यस्तै तीन लाख ८४ हजार कित्ताको आधारमा एनआइबीएल समृिद्ध फन्ड–१ शेयर संख्याको आधारमा अगाडि रहेको छ। यस साता एभरेष्ट फाइनान्सको १ लाख ९९ हजार ४०३, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १ लाख, सहारा विकास बैंकको ८२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्सको ६ लाख र मुक्तिनाथ विकास बैंकको २८ लाख ५० हजार ६७१ कित्ता बोनस शेयर सूचीकृत भएका छन्।

यसैगरी अरनिको डेभलपमेन्ट बैंकको ९ लाख २८ हजार १९०, सहारा विकास बैंकको ३ लाख ५४ हजार र मुक्तिनाथ विकास बैंकको ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद शेयर तथा टुरिजम् डेभलपमेन्ट बैंकको १३ लाख २८ हजार २७२ कित्ता गरी कुल एक करोड ६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्।
नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो तर यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। त्यस्तै “क” वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव २८ अंकले घटेर २९० दशमलव ८८ अंकमा आइपुगेको छ।