मधेसी मोर्चाद्वारा भारतीय राजदूतको बिदाइ


काठमाडौं, (नेस)
सेवा निवृत भएका नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबार विशेष बिदाइ गरेको छ। काठमाडौंस्थित एक होटलमा राजदूत रेलाई मधेसी मोर्चाका अध्यक्षहरूले गम्छा तथा अन्य उपहारहरू दिएर बिदाइ गरेका थिए।

कार्यक्रममा मधेसी मोर्चाका नेताहरूबाहेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराई, पशुपतिशमशेर राणा, दिपक बोहरा र एकनाथ ढकालसहितका नेताहरू सहभागी थिए। यता शनिबार नै बसेको मधेसी मोर्चाको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल चलाएको छ। मोर्चाका केही घटकले सरकारलाई दिइएको समर्थन फिर्ता लिएर सडक आन्दोलनमा जानुपर्ने अडान लिएका थिए।

तर केही नेताले अहिले समर्थन फिर्ता लिन नहुने अडान राखेको तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले नेपाल समाचारपत्रलाई बताउनुभयो।