बन्दीगृहभित्रै कैदीबीच विवाह



कालीबहादुर मल्ल, कालिकोट
जिल्ला कारागार कालिकोटमा रहेका कैदीको एक जोडी जेलभित्रै बिहीबार विवाह बन्धनमा बाँधिएका छन्। कालिकोट राचुली गाविस–९ का ३३ वर्षीय डिल्ली कोइराला र कालिकोट लालु–७ घर भएकी ३० वर्षीया मिम्कोशा विष्टबीच विवाह भएको हो। कोइराला पत्नी हत्या गरेर जेल सजाय भोग्न आएका हुन् भने विष्ट पनि पतिको हत्याको अभियोगमा जेल सजायमा आएका जेलर सञ्जय महतोले बताए।

उनका अनुसार, डिल्ली कोइरालाले २०६८ साल साउन २९ गते पत्नी नन्दशोभा कोइरालाको हत्या गरेपछि जिल्ला अदालत कालिकोटको फैसलाअनुसार भदौ २२ गते जेल चलान भएका हुन्। त्यस्तै मिम्कोशाले २०७२ असोज १ गते पति प्रेम विष्टको हत्या गरेपछि जिल्ला अदालतको फैसलाअनुसार असोज १० गते जेल चलान भएकी हुन्। पत्नी हत्याको आरोपमा डिल्ली र उनकी आमा रन्ता कोइराला कैदी भएका थिए। बन्दीगृहभित्र महिलाको छुट्टै र पुरुषको पनि छुट्टै बस्ने खाने व्यवस्था छ।

तर डिल्लीकी आमा महिला बस्ने कोठामा हुँदा मिम्शोभालाई बुहारी बन्न अनुरोध गरेकी थिइन्। जेलभित्रै बधु बनेकी मिम्कोशाले भनिन्– ‘डिल्लीको आमाले गर्दा मैले उहाँलाई मन पराएको हुँ। मैले श्रीमान्को हत्या गरें, डिल्लीले पनि श्रीमतीको हत्या गरे। त्यसैले उहाँसँगै विवाह गर्ने मन लाग्यो।’ दुवैलाई एउटै प्रकृतिको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालतले फैसला गरेको थियो।

कैदी डिल्ली कोइरालाले भने– ‘आमाले मिम्कोशालाई विवाहको प्रस्ताव राख्दा स्वीकार गरेकी हुन्। त्यसै कारणले विवाह गरेका हौं। जेलबाट भविष्यमा छुट्दा एक अर्काेले श्रीमती मार्ने र श्रीमान् मार्ने भनेर झगडा नहुने भएकाले पनि हाम्रो दीर्घकालीन माया हुन्छ।’ उनले थपे– ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ। दुइटैको कमजोरी भएको छ। कमजोरी गरेकाले कमजोरी गर्ने सँगै विवाह गरेको हुँ।’

उनीहरूले जेलभित्रै विवाह गरे पनि कानुनी रूपमा जेल सजाय पूरा नगर्दासम्म सँगै हुन नपाउने जेलेर सञ्जय महतोले बताए। डिल्ली कोइरालाले ७ वर्ष कैद सजाए भोगेका छन् भने उनको ३ वर्ष अझै जेल कुर्नुपर्ने छ। त्यस्तै मिम्कोशाले १ वर्ष जेल सजाय भोगे पनि अझै ४ वर्ष सजाय भोग्न बाँकी छ।

कोइरालाद्वारा हत्या गरिएकी पहिलेकी श्रीमतीबाट दुई छोरा छन् भने विष्टका १ छोरा र ३ छोरी छन्। विष्टसँगै ५ वर्षकी छोरी छन्। विवाह कार्यक्रममा पुजारी जयचन्द्र अधिकारीले विवाह गराएका थिए। विवाहमा पत्रकार, मानव अधिकारकर्मीको सहभागिता रहेको थियो। श्रीमती हत्या गरेर विधुर बनेका कोइराला र श्रीमान् हत्या गरेर विधुवा बनेकी विष्टको वैवाहिक सम्बन्ध दीर्घायुका लागि जेलर सञ्जय महतोलगायतकाले शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्