भूकम्प स्मृति पार्क बनाउन १ करोड



सन्तोष अधिकारी, गोरखा
०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाई गएको विनाशकारी भूकम्पले पुर्याएका क्षति र ऐतिहासिक रूपमा संरक्षण गर्नका लागि भूकम्प स्मृति पार्क बनाउने काम अघि बढेको छ। नेपाल सरकारले हालै स्मृति पार्क निर्माणका लागि १ करोड रुपियाँसमेत विनियोजन गरिसकेको छ।

‘ढिलै भए पनि भूकम्प स्मृति पार्कको काम अघि बढेको छ, शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले भन्नुभयो– ‘केही दिनअघि मात्रै १ करोड रुपियाँ रकम विनियोजन भएको पत्र यहाँ आएको छ। आगामी चैतभित्रै टेन्डर आह्वान गरेर काम अघि बढाउने योजनाका साथ हामीले काम थालेका छौं। आगामी चैतभित्र टेन्डर आह्वान गरेर काम अघि बढाइयो भने यो आर्थिक वर्षभित्र यो रकमले काम गर्न सकिन्छ। भूकम्प गएको एक वर्षमा गएको वैशाख १२ गते राष्ट्रपति देवी विद्यादेवी भण्डारीले भूकम्प स्मृति पार्कको शिलान्यास गरेर जानुभएको थियो। त्यसबाहेक भूकम्प स्मृति पार्क निर्माणको विषयमा कुनै प्रगति भएको थिएन। राष्ट्रपतिले शिलान्यास गर्दा तत्कालै बजेट विनियोजन हुने बताए पनि त्यसो भएन। गाविस, जिविस, भवन डिभिजन कार्यालय, बारपाकीलगायतले पटकपटक विभिन्न मन्त्रालयमा पत्रचार गरेर, विभिन्न मन्त्री तथा नेतालाई ज्ञापनपत्र बुझाएपछि मात्र १ करोड रुपियाँ रकम विनियोजन भएर आएको हो।

भूकम्प स्मृति पार्कका लागि बारपाकीले २ सय १६ रोपनी जग्गासमेत छुट्याइसकेका छन्। केही व्यक्तिगत जग्गा र केही सार्वजनिक जग्गा बारपाकीले भूकम्प स्मृति पार्क बनाउन जग्गा छुट्याएका हुन्। भूकम्पले सोही ठाउँमा पुनर्निर्माण गरी बस्न नमिल्ने गरी विस्थापित भएको दलित समुदायको ४० घर रहेको ठाउँलाई समेत स्मृति पार्कभित्रको भूकम्प संग्रहायमा समावेश गरिने भएको भवन डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। भूकम्प स्मृति पार्कमा समावेश गर्न लागिएको दलित बस्तीलाई भने उपयुक्त ठाउँ खोजेर स्थानान्तरण गर्न लागिएको हो। स्मृति पार्कभि त्र भूकम्प स्तम्भ, संग्रहालय, भूकम्पका बेला भएका क्षति तथा नोक्सानीहरू झल्कने दृश्यहरूसमेत निर्माण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्