जीवनशैली र संस्कृतिका लागि प्रसिद्व ठिमीमा जन्मेका मदनबाबु वज्राचार्य स्कुल कहिल्यै गएनन् तर उनको कोठासम्म विश्वविद्यालयका विद्यार्थी उनलाई अध्ययन गर्न आए । अनेक पत्रपत्रिका र मिडियाले उनलाई क्यामेरा कलेक्टरका रूपमा नायक झैं प्रस्तुत गरे । उनीसँगको लाइफस्टोरीको यो अंकमा उनीसँगका अन्तरंग।
अशोक सिलवाल
ऊबुद्धाय नमः
श्रीपञ्चमी १९९९। सरस्वती पूजाको दिन जन्मे पनि विद्यार्थीका रूपमा उनी कहिल्यै स्कुल गएनन्।
‘ऊँ नम बुद्धाय भनेर अक्षर यात्रा शुरू भयो। त्यसपछि अ आ इ ई…। पालो आयो, क ख ग… को। त्यसपछि क का कि की…।
खरीले लेखे। जे लेखे त्यही पढे। पढिसकेपछि मेटे। यसरी सिकाइ शुरू भयो। गुरु थिए बाजे ज्ञानुवज्र वज्राचार्य। उनी जजमानी गर्थे। बाजेबाट उनले कर्मकान्ड पनि सिके। तर, व्यापार बारे पढाउने चलन थिएन। हुर्कंदै जाँदा उनी ज्यासलमा बस्न थाले। ज्यासलमा बस्दाबस्दै आफैं सिक्दै गए।
नयाँ कुरा गर्न चाहन्थे उनी। ‘अरुले गरेको काम के गर्ने ? त्यो त अरुले नै गरिसक्यो नि, जहिले पनि उनी त्यस्तै सोच्थे।
केही नयाँ काम गर्थे। साथीभाइलाई देखाउँदै भन्थे, ‘मैले यो गरें। त्यो गरें। उनको नाक त्यसै फुल्थ्यो। घडी देख्नै हुँदैन थियो। कति बिगारे, कति ? रेडियो पनि कति खोले, कति ?
‘कसरी चल्छ यो ? कहाँबाट आवाज आउँछ ?, मनका यस्तै प्रश्नले ती सब भएका थिए। पछिसम्म पनि उनले त्यो बानी छाडेनन्।
००७ साल
०९० सालमा महाभूकम्प आयो। त्यो उनलाई थाहा छैन। ००७ सालमा पनि ‘आयो, आयो, आयो भने। तर, के आयो के आयो ? सबै तर्सिए। आखिरमा ‘क्रान्ति पो आएको रहेछ। त्यतिखेर के हुन्छ ? के हुन्छ भन्ने भएको थियो रे। भन्छन्, ‘त्यसैले घरमा हातहतियार तयारी हालतमा राखेका थियौं। छिमेकीहरुका घरमा पनि त्यस्तै गरिएको थियो।
केही भइहाल्यो भने भाग्नलाई भनेर उनीहरु माथिल्लो तलामा नसुती तल्लो तलामा सुत्थे। राति–राति लठ्ठी टेकेर मान्छेहरु हिंडेको सुन्थे। ढ्यांग् ढ्यांग् गरेर हूल नै हिंड्थ्यो रे।
सुरक्षाका लागि उनीहरुले हतियारहरु ठीक हालतमा राखे। तरबार, खुकुरी, भाला, छुरा आदि। कोही आयो भने छप्काइदिने भनेर। तर, त्यस्तो कुनै घटना भएन। उनीहरुलाई राजनीतिप्रति कुनै रुचि थिएन। प्रजातन्त्र आउँदै छ वा आओस्, त्योसँग पनि मतलब थिएन।
केही गरी आक्रमण भयो भने के गर्ने भनेर उनी त्यतिबेला पनि सचेत थिए। उनले सोचे, दराजमा लुक्ने। त्यहाँ त बन्दुक चल्दैन। बन्दुक चले पनि गोली छिर्दैन। आफू बच्नका लागि उनले घरको एउटा दराज छानेका थिए।
परिस्थितिअनुसार कसरी अगाडि बढ्ने ? कसरी सुरक्षित रहने ? उनले उपाय निकाले, ‘लडाईं भयो भने दराजमा लुक्छु। अरुलाई जेसुकै होस्, आफू त बच्नुपर्यो। ठूला मान्छे त्यहाँ अट्थेनन्।
एक दिन उनीहरु खेतमा केराउको मुन्टा टिप्न गएका थिए। आकाशमा प्लेन देखियो। प्लेनबाट छरेको पर्चा टिप्न उनीहरु खेतखेतै दौडिएका थिए। आकाशमा प्लेन आउँदा अनौठो मान्दै बच्चाहरु दौडिन्थे। बच्चाहरु मात्र होइन, ठूला मान्छे पनि बाहिर आएर आकाशतिर हेर्थे। उनले पहिलोपल्ट ००७ सालताका प्लेन देखे।
पहिलो पटक आकाशमा प्लेन देख्दा प्लेनबाट पर्चा फालेको थियो। धेरै वर्षसम्म ठिमीको आकाशमा प्लेन देख्दा पर्चा फाल्छ कि भन्ने लागिरहन्थ्यो।
प्रजातन्त्र आएपछि राजा त्रिभुवन भारतबाट फर्केको उनलाई याद छ। उनी पनि एयरपोर्ट गएका थिए। तर, उनीहरुले पानी खान पाएनन्। असाध्यै तिर्खाएका थिए। त्यसपछि ‘पानी, पानी … भनेर निकै कराएका थिए।
राजा त्रिभुवनको शवयात्रामा उनीहरु पाठ गर्न गएका थिए। सम्झन्छन्, ‘हामी अगाडिअगाडि र शव पछिपछि। वज्राचार्यले पाठ गर्नुपथ्र्यो। हामी ठिमीका सबै गुरुजु एयरपोर्टबाट पशुपतिसम्म गएका थियौं। कोही नेवार बित्यो भने पनि पाठ गर्न हामी वज्राचार्यलाई नै बोलाउँछन्।
ठिमीका सबै गुरुजुलाई पाठ गर्न बोलाइएको थियो रे। उनी पनि गएका थिए। पहिलोपटक त्रिभुवनलाई ००७ सालमा प्लेनबाट हात हल्लाउँदै झेरेको देखेका थिए। अर्कोपटक उनको अन्तिम यात्रामा पाठ गर्न पुगे।
पहिलोपटक देख्दा उनी ज्युँदा आएका थिए, भारतबाट। अन्तिमपटक स्वीट्जरल्यान्डबाट ल्याइएको थियो तर शव।
त्रिभुवनलाई श्रीखण्डले जलाइएको थियो। सम्झन्छन्, ‘हामी पारिपट्टि थियौं। श्रीखण्डको बास्ना परपरसम्म फैलिएको थियो।
उपस्थित सबै भावुक भएका थिए तर नाक भने सुगन्धले खुसी थियो।
जन्म जिज्ञासा
उनी जहिल्यै आमालाई सोध्थे, ‘म कसरी जन्में ? आमाको उत्तर सधैं एउटै हुन्थ्यो, ‘शिवरात्रीमा जोगीले छोडेर गएको अनि हामीले पालेको।
त्यसपछि उनीबारे घरमा केही कुरा भयो कि कान ठाडो पार्थे। उनको मनमा बारम्बार एउटै प्रश्न आइरहन्थ्यो, ‘साँच्चिकै मलाई जोगीले छोडेर गएको हो त ?
कुरैकुरामा एक दिन आमाले भनेको उनले सुनें, ‘मेरो माइलो छोरो मदन जन्मदाखेरी…।
त्यस्तो भनेको सुनेपछि उनले बुझे, ‘मलाई त मेरै आमाले जन्माएकी रहिछन्। त्यसपछि उनी खुसी भएँ र बुझें, ‘आमाले पहिले मलाई भनेको कुरा त टार्नलाई मात्र भनेकी रहिछिन्।
गणेशमानको बगैंचा
उनीहरुको बगैंचा थियो। त्यहाँ आरु बखडा लटरम्म फलेका हुन्थे। त्यसको कुनै महत्त्व थिएन। तर, अरुको बगैंचामा रहेका आरु बखडा चोरेर खान्थे। त्यसको मज्जा बेग्लै। महत्त्व नै अर्कै। भोगटे पनि चोर्थे।
यो त भक्तपुरको कुरा हो। यता काठमाडौंमा मामाघरनजिक नेता गणेशमान सिंहको घर थियो। मामाघर जाँदा उनी पर्खाल नाघेर गणेशमानको बगैंचामा आरु बखडा र भोगटे चोर्न गएका थिए। संयोगले उनीहरु समातिएनन्।
त्यसरी चोर्नुलाई उनीहरु बहादुरी ठान्थे। र, पटकपटक बहादुर हुन मन पराउँथे। तर, उनीहरु कहिल्यै पक्राउ परेनन्।
गणेशमानको बगैंचामा भोगटे चोर्न गए पनि उनीसँग भेट भएन। तर, त्यतिबेलै पनि गणेशमान नेता हुन् भन्ने उनलाई थाहा थियो।
चोर्नलाई बहादुर भए पनि उनीहरु भूतसँग डराउँथे। उनीहरुलाई ठूलाले भनेका थिए, ‘भूत आउँछ। भूत यस्तो हुन्छ। उस्तो हुन्छ। उनीहरुलाई भूतको डर देखाइएको हुन्थ्यो। उनीहरु त्यो सुनेर भूतरुपी डर पालेर हुर्केका थिए।
घडी
उनले ०१२ सालमा बुवाले दिएको घडी लाए। तर, उनको मनमा एउटै प्रश्न आइरह्यो, ‘सुई कसरी चलिरहेको छ ?
पहिलोचोटि घडी लाएपछि उनलाई कसले छुने ? त्यतिबेला कोसँग घडी थियो र ? घडी लाएको छ। घडी फुकालेको छ। पूरै सकसकमा बिते घडी दिनहरु।
सबैले सोध्थे, ‘कति बज्यो ?
सुई चलिरहको थियो। हरेक दिन १२ बजे दम राख्ने घडी थियो, त्यो।
उनले त एकछिन मात्र दम दिए। तर, सेकेन्ड सुई त घुमेको घुम्यै। कसरी ? केले चलेको त ?
उनलाई दिएको घडी नयाँ थिएन। त्यसैले कहिले घुम्ने, कहिले बन्द हुने गर्न थाल्यो। दम दिन बिर्सेर वा के भएर हो ?
घडी चल्न छोड्यो।
त्यतिबेला घडी मात्र होइन, उनका लागि समय नै रोकिएको थियो।
त्यसपछि उनले ज्यासलको ज्याबलले जबरजस्ती घडी खोले। रौंले रोकेर पो घडी नचलेको रहेछ भनेर निकालेर फ्याँकिदिए।
त्यसपछि घडी खत्तम।
त्यो खासमा रौं होइन रहेछ। घडीकै एउटा पुर्जा पो रहेछ।
घडी खोलेर बिगारेको भनेर उनले गाली खाए।
त्यो पहिलो घडी उनले जम्मा एक महिना जति लगाए होला। तर, उनलाई घडी लाउने बानी परिसकेको थियो। त्यसपछि फेरि अर्को घडी …।
त्यसरी उनको घडी यात्रा शुरू भयो।
साइकल
ठिमीमा यदि कोही बाहिरबाट आएका हुन्थे भने त्यो बाहिरबाट आएको हो भनेर ठ्याक्कै चिनिन्थ्यो रे। किनभने, शहरबाट आएका मान्छेको लवाइखवाइ नै अर्कै हुन्थ्यो। भन्छन्, ‘शहरियाले त यहाँ आउँदा घरबुनुवा लगाएका हुन्थेनन्।
कोही नयाँ मान्छे आयो भनेटाढैबाट थाहा हुन्थ्यो र त्यो गाउँभरिका लागि समाचार हुन्थ्यो। शहरिया मान्छेका कपडामा स्त्री लगाएको हुन्थ्यो।
त्यतिबेला मोटरसाइकलको चलन थिएन। उनीहरु साइकल चढ्थे। उनीहरु साना थिए। त्यसैले कैंचीबाट चलाउँथे। आधा पाइडल चलाएर। त्यसरी चलाउँदा पनि कहिलेकाहीं अर्को एकजना राखेर पनि चलाउँथे।
त्यही बेला कहिलेकाहीं पुलिस आइरहेका हुन्थे। त्यसरी दुई जना भएर साइकल चलायो भने पुलिसले समातिहाल्थ्यो।
कहिलेकाहीं अलि टाढासम्म पनि जान्थे। साइकल एउटा हुन्थ्यो। मान्छे दुईजना। पुलिस चौकीतिर आइपुग्दा उनीहरु साइकलबाट ओर्लिहाल्थे। एकजनाले चलाउँथ्यो। अर्को चाहिं हिंड्थ्यो। पुलिस चौकीबाट अलि पर पुगेपछि फेरि दुईजना चढ्थे।
तर, कतै पुलिस देखियो भने उसले देख्नुअघि नै फेरि ओर्लन्थे।
उनी १३ वर्ष छँदाको कुरा हो। साइकलको यति आकर्षण थियो कि मान्छे साइकल आएतिर हेर्थे। साइकल गएतिर हेर्थे। त्यति बेलाको सबैभन्दा राम्रो साइकल थियो, रेले।
ती दिन सम्झन्छन्, ‘साइकल चढ्दा धेरैपटक लडियो। धरैपटक घाइते भइयो। तर, कुनै चोटको अनुभव गरेनन्। साइकल चढ्नुको आनन्द यति थियो कि घाउजस्तै लाग्थेन घाउ।
पछि त ज्यासल र जजमानीको काममा यताउता जाँदा आउँदा पनि उनले साइकल प्रयोग गर्न थाले।
पोखरी पाठ
००९ सालतिर उनका बज्यैको भक्तपुर, नवदुर्गा हलछेउतिर रहेको माइतीमा कसैको विवाह थियो। उनी पनि गएका थिए।
बिहान मुख धुन कोही खोलातिर त कोही पोखरीतिर गए। उनलाई पनि मुख धुन भनेर अग्रजले दुई मिनेट दूरीमा रहेको सिद्धपोखरी लगे।
सबैले मुख धोए। उनले पनि धोए। अरु सबै पोखरी छेउछाउ पूजामा व्यस्त थिए। उनको त केही काम थिएन। उनी पोखरीतिर हेर्दै थिए। पोखरीमा रातो, कालो माछा देखे। उनलाई लोभ लाग्यो। ती माछा झन् उनका नजिकै आए। उनलाई समात्न मन लाग्यो। माछा समात्न के खोजेका थिए, पोखरीमा खसे। उनी पौडी खेल्न जान्दैन थिए।
त्यसपछि के भयो, उनलाई थाहा छैन। धेरै पानी खाएछन्। केही छिनमा उनको होस् खुल्यो। घरमा आएर निकै बेरसम्म रोए।
पछिसम्म पनि लुगलुग कामिरहेका थिए। निकै जाडो भएको थियो। त्यो सब माछाको लोभले भएको थियो। रातो, कालो माछाको लोभले। झन्डै त्यो नै जीवनको अन्तिम दिन भएको थियो।
त्यो घटनाले उनलाई ठूलो पाठ पढायो, ‘लोभ गर्न नुहने रहेछ।
कि आमा कि सिनेमा
उनलाई सानो छँदा सिनेमा हेर्न पाए खान पनि पर्थेन। माइतीघरमा मुनलाइट हल थियो। त्यहाँ उनले पहिलोपल्ट प्रेमनाथ हिरो भएको हिन्दी सिनेमा हेरेका थिए, ०१४ सालतिर। दाइसँग गएका थिए। पछि अरु पनि फिल्म हेरे।
एउटा सिनेमा हेर्यो भने उनीहरुलाई एक महिनालाई गफ गर्न पुग्थ्यो। अर्को नयाँ कुरै हुन्थेन, त्यसपछि।
जहाँ गए पनि पहिलो काम हुन्थ्यो, सिनेमा हेर्नु। चाहे वीरगन्ज वा इन्डियाको कुनै शहर नै किन नहोस्।
एक सुकामा सिनेमा हेर्न पाइन्थ्यो, त्यति बेला।
नयाँ सिनेमा चल्नेबित्तिकै उनलाई फस्र्ट सो मै हेर्नुपर्ने। नेपाली सिनेमा त त्यति बेला बनेकै थिएनन्। पछि अलिअलि बन्न थाले। आमा, आदि।
त्यति बेला उनलाई दुनियाँको सबभन्दा ठूलो चीज सिनेमा हल नै हो जस्तो लाग्थ्यो।
उनीहरु त्यतिबेला भन्थे, ‘कि आमा कि सिनेमाक? त्यति ठूलो लाग्थ्यो उनीहरुलाई सिनेमा र सिनेमा हल।
कालो चामल र सिन्की
एक किसिमको कालो चामल। त्यसको धानै कालो हुन्छ।
त्यो खायो भने चाँडै पच्दैन रे। चाँडै भोक पनि लाग्दैन रे।
उनले सुनाएअनुसार त्यसको कथा यस प्रकार छ।
नेपाल खाल्डोमा एउटा सुल्तानले हमला गर्यो। नेवारहरु डराएर पहाडतिर भागे। खाना र पानी भयो भने धेरै समय सुल्तान यो खाल्डोमा बस्छ भनेर भाग्नुअघि नेवारहरुले इनार, धारा, अन्न सबै पुरेका थिए।
लडाईं सकिएपछि नेवारहरु फर्केर आए नेपाल खाल्डोमा। तर, त्यही क्रममा कालो धान वा चामलको आविष्कार भयो।
धान काटेर नचुटाइकन परालसहित कुन्यु बनाएर मिलाएर राखिएको बेलामा नेपाल खाल्डोमा आक्रमण भएको रहेछ। आक्रमणकारीले त्यसलाई परालको थुप्रो ठानेर चलाएनछ। त्यो त्यस्तै रह्यो, जस्तो छोडिएको थियो।
लडाईं सकिएपछि त्यसलाई नेवारहरुले हेरे। अरु सबै चीज उस्तै थियो। तर, धान कालो भएको थियो। धानबाट चामल निकाल्दा थाहा भयो, धानमात्र होइन, चामल पनि कालै भएको रहेछ। खाँदा ठस्स गन्हाउने। वा भनौं बास्ना आउने। र, चाँडै नपच्ने। चाँडै भोक पनि नलाग्ने।
त्यो चामललाई मान्छेले मन पराए।
उनले सुनाएअनुसार मूलाको पनि त्यस्तै कथा छ।
त्यही लडाईंकै बेलामा मूलालाई माटोमा गाडेर भागे। फर्केर आएर खनेर हेर्दा मूला त देखिएन, जे देखियो, त्यो सिन्की थियो।
हेलो हिप्पी
गर्मी महिनामा अन्तजस्तै न्युरोडमा पनि निकै गर्मी हुन्थ्यो। गर्मी भगाउन लस्सी खान झोंछे जान्थे उनी।
त्यहाँ रस्टुरेन्टहरु थिए। विस्तारै रेस्टुरेन्टमा खाने बानी पर्यो। त्यसपछि धेरैजसो उनी रेस्टुरेन्टमै खाना खान थाले। खाना खान घर आउनजान टाढा थियो।
भर्खरभर्खर हिप्पीहरु आइरहेको समय थियो, त्यो। उनलाई त्यति बेलासम्म अंगे्रजी पनि अलिअलि बोल्न आउन थालिसकेको थियो। उनलाई अंग्रेजहरुसँग कुरा गर्न मन लाग्ने। नजिक हुँदा केही भए पनि सिकिन्छ भनेर उनी अंग्रेजहरुको नजिक बस्थे। उनले देखे, नेपालीहरु त जे खाने हो हो भटाभट खान्थे र बाहिरिन्थे। विदेशीहरुचाहिं विस्तारै खान्थे। आफ्नै मस्तीमा रहन्थे।
उनलाई पनि विदेशीहरुले जस्तै गर्न मन लाग्यो। त्यसपछि विस्तारै खान थाले।
विदेशीहरुले उनलाई पनि ‘हाई भन्न थाले। गाँजाको पनि अफर गर्न थाले। भन्छन्, ‘तर, लाग्ने गरी खाइनँ। संगतका लागि मात्र मैले खाएजस्तो गर्थें।
उनको हिप्पी संस्मरण यस्तो छ, ‘पछि आएकाहरु त नक्कली हिप्पी हुन्। तर, पहिलेका हिप्पीहरु असाध्यै पैसावाल। धेरै पैसा, धेरै सुविधा। विलासी जीवन बिताउँदा–बिताउँदा त्यसैबाट वाक्क भएका। शुरूका हिप्पी त मोज गर्दागर्दै थाकेर जीवनमा अलग स्वाद लिन यहाँ आएका। उनीहरु जहाँ पनि बस्थे। जीवनलाई आफ्नै तर अनिश्चित बाटोमा जान स्वतन्त्र छोडेका थिए। तर, उनीहरुलाई अझ पुगेको थिएन, उनीहरु गाँजा तानेर रिल्याक्स गर्थे।
रिल्याक्स भन्ने चीज (शब्द) उनले तिनीहरुसँगै सिके। भन्छन्, ‘म पनि मोज गर्दागर्दै थाकेको मान्छे हुँ। र, अहिले घरमा बसिरहेको छु, एक्लै। आफ्नै संसारमा।
खासमा उनलाई उनीहरुको डाहा लाग्थ्यो। वाह ⁄ क्या जीवन। बाँच्नुको अलग स्वाद। आफ्नै सुर। आनन्द। हल्लियो। बस्यो।
जिन्सको चलन उनीहरुकै कारण नेपालमा चलेको हो रे। भन्छन्, ‘जिन्स पाइन्ट इन्डियामा पाइँदैन थियो। कि टुरिस्टसँग किन्नुपथ्र्यो। होइन भने, अमेरिकी एम्बेसी, युएन आदिमा काम गरेका मान्छेसँग किन्नुपथ्र्यो।
त्यो बेला उनले धेरै खालका सामान जम्मा गरेका थिए।
जोडी पाठ
एक दिन उनी न्युरोडकै पसलको ढोकामा उभिइरहेका थिए। ठीक उनको अगाडिबाट मान्छेहरु ओहोरदोहोर गरिरहेका थिए। त्यही बेला एउटा विदेशी जोडी पनि त्यही बाटो हिंड्दै थियो। उनीहरु हाँसखेल गर्दै अगाडि बढिरहेका थिए।
केटी एकदम राम्री थिई। उनले त्यो केटीलाई पूरै डुबेर खुब हेरे। र, मनमनै भने, ‘आहा!
केटीलाई एक टकले हेर्दै मनमनै कुरा खेलाउँदै गर्दा केटो उनको ठीक सामुन्ने आइसकेको थियो। उनले सर्टको खल्तीमा सेफर्ड कलम भिरेका थिए।
विदेशी केटोले सरासर उनको अगाडि आएर भन्यो, ‘एक्सक्युजमी ‘यस प्लिज –उनले भने।
त्यसपछि केटाले एक्कासि उनको खल्तीबाट कलम झिक्यो र भन्यो, ‘योर सेफर्ड पेन इज भेरी नाइस। क्यान आइ गेट इट ?
विदेशी केटाले उनलाई कस्तो व्यंग्य हानेको ?
उनले ‘नो भने।
त्यसपछि केटाले यति मात्र भन्यो, ‘टेक इट। र, ‘ओके। बाई भनेर त्यहाँबाट गइ पनि हाल्यो।
उनी धेरै बेरसम्म अचल भएर जोडी गएतिर हेरिरहे।
‘मैले तिम्रो खल्तीको कलम मन पर्यो भन्दैमा पाउँदिन भनेजस्तै तिमीले पनि त्यसरी लोभी आँखाले मेरी प्रेयसीलाई हेर्दैमा पाउँछौ र, विदेशी केटाले कूटनीतिक तरिकाबाट नबोली भनेको थियो।
त्यसपछि उनले त्यसरी केटीहरु हेर्न छाडे। खास गरी जोडी भएर आएका केटीलाई।
आन्दोलन ०३६
०३६ सालको आन्दोलन भयो।
न्युरोडमा जुलुस आएको उनलाई सम्झना छ। भन्छन्, ‘कफ्र्यु पनि लगाएको थियो। त्यसअघिसम्म हामीलाई कफ्र्यु भन्ने थाहा थिएन।
एक सँँझ जुलुस भइरहेको थियो। कफ्र्यु लाग्यो तत्कालै। जुलुसलाई लखेट्दै न्युरोड गेटबाट आर्मीहरु आइरहेका रहेछन्। पुलिसले छोडिसकेको थियो। आर्मी अगाडि बढिसकेको थियो। आर्मीभन्दा पहिले टियर ग्यास आउँथ्यो।
त्यसपछि बल्ल उनीहरु आउँथे।
त्यहींक्रममा उनकै अगाडि टियर ग्यास फुर्रर आइपुग्यो। तर, उनी भागेनन्। किनभने भाग्यो भने समात्न वा गोली हान्न सक्छ भन्ने उनलाई लाग्दै थियो।
तर, उनी हावासरी तीव्र वेगले टेकुतिर हिँडे। त्यही दिन गोली पनि चलेको रहेछ। भन्छन्, ‘म त्यो दिन बाँचेकै भन्नुपर्यो नि।
भोलिपल्ट पनि स्थिति त्यस्तै भयो। उनी टेकुतिर जान सकेनन्। न्युरोडकै ग्रिन होटलमा बसे। खाएको मात्र बिल तिरे। तर, सुतेको पैसा लिएन रे।
जनआन्दोलन ०४६
०४६ साल। जनआन्दोलन उकालोतिर लाग्दै थियो। भक्तपुरलाई त्यति चासो थिएन। काठमाडौं र ललितपुरमा भने आन्दोलन निकै अगाडि बढिसकेको थियो। काठमाडौंले एक दिन भक्तपुरलाई सिन्दुर, पोते र चुरा पठायो। त्यसपछि भक्तपुर जोसियो। जाग्यो। ठिमीमा पनि आन्दोलन शुरु भयो। प्रहरीको गाडी नगदेशतिर अगाडि बढ्दै थियो।
गाडीमाथि आक्रमण भयो। तोडफोड भयो। हंगामा भयो।
त्यसबेला उनलाई प्रहरी हेडक्वार्टरबाट फोन आयो, के के भयो भनेर ?
‘थानामा सोध्नोस् न –उनले भने रे।
उनलाई भनियो रे, ‘तपाईंसँग कुरा गर्दा लाइभ हुन्छ। थानाबाट आउने सूचना त अरुले बताएअनुसार हुन्छ।
नगदेश कान्डबारे बुझ्न राजदरबारबाट पनि फोन आयो रे। वज्राचार्य थरका दरबारका एकजना कर्मचारीले फोन गरेका थिए रे।
ती कर्मचारीले उनलाई भनेअनुसार दरबारमा उनको नाम खुब चलेको थियो रे।
तर, उनलाई डर पनि लाग्यो, अर्को पक्षले उनलाई सुराकी भन्ला कि भनेर। उनी त राजनीतिमा रुचि नभएको मान्छे।
तर, उनको त्यस्तो भूमिका रह्यो।
जनआन्दोलन सफल भयो।
प्रतिक्रिया