आईपीएलमा स्टोक्सलाई महँगो दाम

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिगको नयाँ सिजनका लागि खेलाडी लिलामीमा विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले सबैभन्दा महँगो दाम पाएका छन्। सोमबार राइजिङ पुणे सुपरजायन्टस्ले उनलाई १७ लाख पाउन्डमा किनेको हो। पुणेका मालिक सञ्जीव गोयन्काले बताए– ‘स्टोक्स पूर्ण खेलाडी हुन्। उनले हाम्रो टोलीलाई पूर्णता दिएका छन्। उनी महँगो खेलाडी बनिरहेका छन् तर उनी पहिलो १४ खेलका लागि उपलब्ध हुनेछन्।’

त्यसपछि रोयल च्यालेन्जर्स बैंगलोरले टायमल मिल्सलाई १४ लाख पाउन्डमा किन्यो भने इंग्ल्यान्डकै बलर क्रिस वोक्स कोलकाता नाइट राइडर्सका लागि ५ लाख ४ हजार १ सय ४० पाउन्डमा टोलीमा सम्मिलित भएका छन्।

यसैगरी इंग्ल्यान्डका वानडेका कप्तान इयान मोर्गानलाई किंग्स ११ पन्जाबले २ लाख ४० हजार ६६ पाउन्डमा आफ्नो टोलीमा राखेका छन्। इंग्ल्यान्डकै जेसन रोय र क्रिस जोर्डान क्रमशः गुजरात लायन्स र सन राइजर्स हैदराबादका लागि विक्री भएका छन्। उनीहरूको रकम थोरै रहेका छन्।

आगामी अप्रिल ५ देखि २१ मे सम्म हुने आईपीएलको लिलामीमा हाइलाइट अफगानिस्तानका खेलाडीसमेत प्रतियोगितामा विक्री हुनु हो। अलराउन्डर मोहम्मद नाबी आईपीएलमा खेल्ने पहिलो अफगानिस्तान खेलाडी बनेका छन्। उनलाई सनराईजर्स हैदरावादले ३६ हजार पाउन्डमा किनेको छ।