नरेन्द्र केसी
ठीक आठ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। हरेक दुई–दुई वर्षमा चुनाव हुनुपर्ने भए पनि २०६५ सालपछि अहिलेसम्म चुनाव हुन सकेको थिएन। यसपटक पनि सबै क्याम्पसमा सहजरूपमा चुनाव होलाजस्तो देखिएको छैन। केही विद्यार्थी संगठनको अवरोधका कारण २५ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया शुरु हुन सकेको छैन भने ३५ क्याम्पसमा प्रक्रिया शुरु भएको छ। चुनाव होला नहोला प्राविधिक पाटो हो तर स्ववियु निर्वाचनको सन्दर्भ व्यक्त हुनुपर्ने राजनीतिक संस्कार र यसबाट नयाँ पुस्ताको राजनीतिक संस्कारको आधारसमेत तय हुने भएकाले केही चर्चा गर्नु सान्दर्भिक ठहर्छ। स्ववियु निर्वाचन नयाँ पुस्ताले प्रयोग गर्ने महत्वपूर्ण लोकतान्त्रिक अभ्यासको उच्च रूप हो। हामीले यसलाई मुलुकको राजनीतिक अवस्था, राजनीति चेतना र राजनीतिक संस्कारभन्दा पृथक् राखेर हेर्न सक्दैनौं।
हाम्रो विडम्बना के भएको छ भने, सबैभन्दा राजनीति हुने देशमा नेपाल अग्रस्थानमा पर्छ तर राजनीतिलाई सही प्रयोग गर्ने देशको सूचीमा भने नेपाल निकै पछाडि छ। देश बिग्रेको राजनीतिले गर्दा हो भन्ने आममान्यताजस्तै बनेको छ, तर यो यथार्थ होइन। कुनै पनि देश राजनीतिले बिग्रँदैन बरु राजनीतिको गलत व्याख्या र प्रयोगले देश बिग्रन्छ, नेपालमा पनि त्यही भइरहेको छ। राज्यको नीति निर्माण प्रक्रिया नै राजनीति हो। कुनै पनि देश नीति निर्माणविना चल्न सक्दैन, बरु मुख्य कुरा के हो भने, त्यस्तो नीति देशको हितमा हुनुपर्छ। यसरी हेर्दा नेपाल धेरै राजनीतिले बिग्रेको होइन बरु सही राजनीति नहुँदा बिग्रेको हो।
पदलाई प्रतिष्ठाको विषय बनाउने, त्यो प्रतिष्ठा प्राप्त गर्न जतिसुकै पैसा पनि खर्च गर्न तयार हुने र पदमा पुगिसकेपछि खर्च भएको पैसा पूर्ति गर्न गैरकानुनी बाटो अपनाउने नितान्त गलत राजनीतिक संस्कारको विकास भइरहेको छ। जसले पदमा पुग्न जस्तोसुकै लगानी गर्न पनि तयार हुने र पदमा पुगिसकेपछि पदीय दुरूपयोग गरेर आफ्नो निजी जीवन, पारिवारिक जीवन, बढीमा गुटगत र पार्टीगत जीवनलाई समृद्ध बनाउने चिन्तनको विकास गराइदिन्छ। यस्तै राजनीतिक संस्कारले निरन्तरता पाउँदै जाँदा नेपालमा राजनीति बदमान मात्र हुन पुगेको छैन, राजनीति सेवा होइन शासन गर्ने र त्यसमार्फत जीविका निर्वाह हुँदै आफ्नो जीवनस्तर माथि उठाउने अवसर हो भन्ने गलत मान्यता पनि विकास हुन पुगेको छ। जसले गर्दा जिम्मेवार पदीय हैसियतामा नपुग्दासम्म ज्यानको बाजी लगाएर कठिन संघर्षमा होमिन तयार हुने राजनीतिकर्मीहरू सत्तामा पुगेपछि विगत बिर्सने र आफ्नो जीवनस्तर उकास्नबाहेक समाज परिवर्तनमा कम समय दिने स्थितिमा पुग्छन्। निरन्तर दोहोरिरहने यही विरासतका भुक्तभोगी भएका कारण पनि धेरैले राजनीतिलाई घृणाभावमा हेर्ने गर्छन्। कतिपय नयाँ पुस्ताले राजनीतिक फोहोरी खेल हो समेत भन्ने गरेका छन्।
राजनीतिशास्त्रको विद्यार्थी भएकाले यो पंक्तिकार के भन्छ भने, राजनीति फोहोरी खेल हुँदै होइन, बरु यो सबै गलत राजनीतिक संस्कारको परिणाम हो। राजनीतिप्रतिको घृणाभावको मान्यता परिवर्तन गर्न राजनीतिक संस्कार परिवर्तन गर्नुपर्छ, त्यसका लागि नयाँ पुस्ताले हिम्मत गर्नुपर्छ।
आसन्न स्ववियु निर्वाचनको सन्दर्भमा राजनीतिक संस्कारबारे छलफल गर्नु किन पनि महत्वपूर्ण छ भने, यो निर्वाचन नयाँ पुस्ताले अभ्यासले गर्ने महत्वपूर्ण थलो हो। नेपाललाई अघि बढ्न नदिने एउटा सबैभन्दा ठूलो समस्या गलत राजनीतिक संस्कार नै हो। केहीले भन्ने गर्छन्, नेपालमा धेरैले राजनीति गर्ने भएकाले पनि समस्या आएको हो। यथार्थमा नेपालमा राजनीति गर्नेहरू निकै कम छन्, धेरैले राजनीतिलाई दुरूपयोग मात्र गरिरहेका छन्। साँचो कुरा गर्ने हो भने, नेपालमा सही राजनीतिज्ञको अभाव छ, जसले सही राजनीति गर्न खोज्छ उसले राजनीतिमा टिक्न नै सक्दैन। के नयाँ पुस्ता यो कुरालाई बदल्न तयार छ ? स्ववियु निर्वाचनको सन्दर्भमा धेरै संगठन र उम्मेदवारले मत प्रभावित गर्न धेरै उपाय अपनाऊलान्, के आमविद्यार्थीको तहमा सही राजनीतिक विचार प्रवाह गर्न तयार छन्। कुनै पनि व्यक्तिलाई कुनै पनि दल वा सम्बद्ध संगठन रोज्न स्वतन्त्रता छ तर कम्तीमा ऊ त्यस संगठनको विचार र नीतिप्रति जानकार हुनुपर्छ। त्यति मात्र होइन, उसले आफ्नो धारणा पनि सशक्तरूपमा प्रस्तुत गर्न सक्नुपर्छ।
स्ववियु निर्वाचनको सन्दर्भमा विद्यार्थी संगठनहरूले एउटा राम्रो नमूना देखाएका छन्, उम्मेदवार बन्न उमेर हद लागू गरेर। यो नयाँ राजनीतिक संस्कारका लागि फलदायी हुनेछ। अन्य निर्वाचनको अभ्यास हेर्यौं भने पनि गाउँ वा नगरपालिकामा उठ्न २१ वर्ष, सांसद बन्न २५ वर्ष र राष्ट्रपति बन्न ४५ वर्षको उमेर तोकिएको हुन्छ। यसको विशेष अर्थ छ। उमेर हदबन्दी लगाउँदा एकैचोटि दुईवटा फाइदा भएका छन्। एउटा त सर्लक्कै नयाँ पुस्ताले अवसर पाउनेछ भने अर्कोतिर स्ववियु निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षामा क्याम्पस छाडिसकेकाहरूले पनि भर्ना गरेर गैरविद्यार्थीको बाहुल्यता बढाउने काम यसले रोक्नेछ।
क्याम्पस विद्यार्थी जीवनमा अन्तिम खुड्किलो हो र स्ववियु क्याम्पसमा महत्वपूर्ण संस्था हो भन्ने मान्ने हो भने यसले एउटा काम गर्नै पर्छ। त्यो हो– निरन्तर राजनीतिक बहस। अहिले मानविकी संकायतर्फ विद्यार्थीको संख्या घटिरहेको छ भने कतिपय क्याम्पसमा पठनपाठन नै भइरहेको छैन। जुनसुकै फ्याकल्टी पढे पनि अब विद्यार्थीमा देश, समाज र आफ्नै बारेमा अध्ययन र बहस गराउन बानीको विकास गर्नै पर्छ। शासन प्रशासन जे चलाए पनि क्याम्पसबाटै उत्पादन भएका विद्यार्थीले देश चलाउने हो। प्रायः सबै क्याम्पसकै उत्पादन हुन्। हरेक क्याम्पसमा क्रियाशील स्ववियुहरूले क्याम्पसबाट उत्पादन हुने जनशक्तिलाई सामाजिक प्राणी बनाउन मद्दत गर्न सक्नुपर्छ, अनि मात्र यसको सार्थकता रहन्छ।
प्रतिक्रिया