भगवती तिमल्सिना नर्थक्यारोलिना, अमेरिका
स्वास्थ्यका विषयमा विश्वका हरेक मानिसलाई बढी नै चासो र कौतुहल हुन्छ। कम विकसित मुलुकमा सिटामोलको अभाव भइरहँदा विकसित मुलुकहरूमा राज्यबाटै जनताको स्वास्थ्यको रेखदेख गरेको पनि पाइन्छ। विकसित मुलुकका हरेक नागरिकलाई जनस्वास्थ्यको महत्त्वका बारेमा निकै जानकारी हुन्छ र उनीहरू सधैं आफू स्वस्थ रहन सकौं भन्ने चाहनाका साथ हरेक कुरामा विशेष ध्यान दिइरहन्छन्।
जनस्वास्थ्यलाई अत्यन्तै प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने मुलुक अमेरिका स्थित नर्थक्यारोलिनाको वाक फरेस्ट ब्याप्टिस अस्पतालमा मैले सोचेजस्तो स्वास्थ्य सेवा प्रदान गरेको देख्न पाएँ। फेब्रुअरी १० तारिख २०१७ मा मेरो दिदी सरस्वतीको हिस्टेरिकटोमी शल्यक्रियाका लागि मिति र समय तय गरेकाले बिहान हामी सबेरै उठ्यौं। बिहानको ५ बजेको थियो भिनाजु हेरि कुक, म र दिदी घरबाट बाहिरियौं। घरबाट गाडीमा ५ मिनेटको यात्रापछि अस्पताल पुगियो।
म अमेरिकाको स्वास्थ्य सेवा कस्तो होला भन्दै नियाल्न उत्सुक थिएँ।
अस्पतालभित्रको व्यवस्था कुनै पाँचतारे होटलको सेवाभन्दा कम थिएन। ढोका खोल्नासाथ अगाडि रहेको काउन्टरको नजिकै सिँढीमा नम्बर लेखेर राखेको टेबुल देखें। दिदीले गएर एउटा निकाल्नुभयो। त्यसमा २७ नम्बर लेखिएको थियो। हामी त्यो नम्बर बोकेर ५ मिनेट प्रतीक्षालयमा बसेका थियौं, भित्रबाट बोलाहट भयो। दिदी सरासर काउन्टरमा जानुभयो। निर्देशनअनुसार हस्ताक्षर र ल्याप्चे लगाएपछि बिरामी कुरुवाको नाम सोधियो। उहाँले भिनाजु र मेरो नाम लेखाउनुभयो। नाम लेखाएसँगै मेरो भित्री चाहनाको सम्बोधन भएकोमा खुसी भएँ र अझ थप जानकारी पाउने अपेक्षामा बसें।
दिदीलाई शल्यक्रिया कक्षमा लानु पहिला सबै परीक्षण गरियो। उहाँलाई स्वास्थ्यकर्मी चिकित्सकको टोलीले बिरामीलाई जस्तो नभई साथीलाई जस्तो व्यवहार गरे। म अचम्मित भएँ। मैले नेपाल, भारत, बंगादेश, चीन र कोरियामा प्रवाह गर्ने स्वास्थ्य सेवाका बारेमा केही हदसम्म बुझ्ने अवसर पाएको थिएँ तर अमेरिकामा जस्तो यति राम्रो व्यवहार देखेको थिइन। बिरामी भनेका केही नबुझेका मान्छे हुन् चिकित्सकले जे भन्छन् त्यही मान्नुपर्छ भन्ने व्यवहार पहिला देखेको थिएँ। बिरामीका आफन्तले बिरामीको बारेमा जानकारी माग्नु भनेको ठूलै अपराध गर्न खोजेजस्तो गरिन्थ्यो। तर, यहाँ बिरामीका बारेमा लागेको जिज्ञाशा चिकित्सकसँग जति पनि राख्न सकिँदो रहेछ। अझ आफन्तले बिरामीसँग छुटिनुअघि फोटो लिने, अंकमाल गर्ने, सान्त्वना दिनेजस्ता क्रियाकलाप गरेपछि आफ्नो सम्पर्क नम्बर शल्यक्रियाको टोलीलाई दिएर बाहिरन पाइने रहेछ।
हामी बिरामीको शल्यक्रियाको सफलताको कामना गर्दै यताउता छटपटाउँदै थियौं। शल्यक्रिया कक्षबाट गाइनोकोलोजिस्ट डा. बर्जेसले फोन गरेर भन्नुभयो– ‘शल्यक्रिया शुरू भयो। साढे ३ घन्टा लाग्छ। १ घन्टापछि फेरि जानकारी गराउँछु।’ १ घन्टापछि पुनः फोन आयो– ‘शल्यक्रिया जारी छ।’ यसरी ८ जनाको टोलीले शल्यक्रिया सम्पन्न गर्यो। साढे ३ घन्टाको बीचमा ४ पटक फोनबाट जानकारी दिए।
‘अन्तिममा शल्यक्रिया सफल भयो। बिरामी होसमा आउन थप २ घन्टा लाग्छ त्यसपछि वार्डमा ह्यान्डओभर गर्छौं’ –डा.बर्जेसले भन्नुभयो। हामीमाझ आएको सकारात्मक सन्देशले तनाव कम गर्दै बिरामी कतिबेला भेट्ने भन्ने हतार भने सिर्जना गरेको थियो। जब २ घन्टापछि हामीले बिरामी होसमा आएको खबर पायौं हामीमाझ खुसीको सीमा रहेन। त्यो सबै बिरामी र आफन्तको चाहना हो।
जब दिदीलाई वार्डमा भेट्यौं उहाँ केही तन्द्रामा हुनुहुन्थ्यो। मुख सुख्खा भएकाले उहाँले इशाराले पानी माग्नुभयो। म दुविधामा परें । नेपालमा शल्यक्रियापछि १० देखि १२ घन्टा पानी खान दिनुहुन्न भन्दै रोक लगाएको देखेको थिएँ। म अल्मलिए र भिनाजुको मुखतिर हेरें। उहाँले दिनहुन्छ भन्नुभयो ? हामी बिरामी राखेको वार्डमा प्रवेश गर्दा बिरामीको हातमा खानाको मेनुकार्ड थमाइएको थियो। मलाई अचम्म लाग्यो, सायद पछि खाना मगाउन होला भन्ने सोचें। एक घन्टा पछि एक जना नर्सले दिदीलाई सोधिन्– ‘कस्तो छ तिमीलाई, केही खाने हो ?’ उहाँले चिया खाने भन्नुभयो। उनले प्रश्न गरिन्– ‘दूध चिनी पनि हो ?’ दिदीले हो भन्नुभयो । तुरुन्त तातोपानी, दूध, चिनी, चिया प्याक र अदुवा मिसिएको बिस्कुट ल्याइन्। यो देख्दा मलाई नेपालको एउटा ठूलो अस्पतालमा कार्यरत नर्सहरूको व्यवहारको याद आयो। २०७३ साल भदौ महिनामा बिरामीलाई अस्पतालको चिसो र फोहोरको एलर्जी भएर एक घन्टासम्म हाच्छ्यिूँ आइरह्यो। मध्यरात भएकाले नसिङ स्टेसनमा गएर नर्ससँग तातोपानी कहाँ पाइन्छ भनेर सोधें। नर्सले जवाफमा भनिन्– ‘यहाँ पानी पाइन्न अरू बिरामीको मागेर दे कि घर गएर लिएर आइज।’ यसपछि उनी नर्सिङ स्टेसन नै छोडेर कहाँ गएर सुतिन् पत्तै भएन। बिरामीलाई निकै गाह्रो भएको थियो। म हतारिएर अर्को वार्डमा गएँ र बिरामीसँग मागेर आफ्नो बिरामीलाई तातोपानी खुवाएँ। आखिर ती र यी नर्सको डिउटी बिरामीका लागि किन फरक ?
यहाँ काम गर्ने डाक्टर नर्स भनेका अत्यन्तै जिम्मेवार बिरामीप्रति जवाफदेही हुँदा रहेछन्। देशको कानुन आम जनताको हितमा भएकै कारण यस्तो भएको होला। यो सेवा देख्ने वित्तिकै मेरो दिमागमा नेपाल सरकार र नेपालका नेताहरूले जनस्वास्थ्यमाथि गरेको लुटतन्त्रको याद आयो। के हाम्रा देशका नेताहरूले स्वास्थ्य सेवा नबुझेका हुन् त ? यदि त्यस्तो हो भने किन हाम्रा नेताहरू सामान्य टाउँको दुख्दा र पेट दुख्दा पनि विकसित मुलुक ताक्छन्। राष्ट्रको ढुकुटी रित्तो बनाएर देश जनतालाई कंगाल बनाउँछन् ? होइन नेताहरूले स्वास्थ्य सेवा भनेको पद र पँहुचमा हुनेहरूको पेवा हो भन्ने सोचेर सोहीअनुरूपको कानुन बनाएकै कारण जनस्वास्थ्यमाथि हरेक क्षेत्रबाट खेलवाड भइरहेको छ। नेताहरूले आफ्नो शरीरलाई मात्र प्राथमिकता दिँदै उपचारका नाममा विदेश भ्रमण गरेर नेपालको ढुकुटी रित्याइरहेका छन्। यिनै अविवेकी नेताहरूकै कारण आम नेपाली नेपालको संविधान २०७२ मा व्यवस्था भएको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारबाट वञ्चित भइरहेका छन्।
यहाँको स्वास्थ्य सेवालाई लिएर नेपालको स्वास्थ्य सेवा र आम नेपाली जनताको स्वास्थ्य अवस्थालाई नियाल्ने हो भने आनको तान फरक छ, आखिर किन ? जनस्वास्थ्य जनता र नेताका लागि किन फरक आखिर विकसित मुलुकमा पनि त नेता र जनता दुवै छन्। किन यहाँ त्यस्तो हुँदैन ? हो यहाँका जनता आफ्नो अधिकारका लागि आफैं लड्न सक्षम छन्। बिरामीका लागि सबैले सहयोग गर्नुपर्छ भन्ने भावना आम नागरिकमा पाएँ। अस्पतालको सेवा कुनै पाँचतारे होटलभन्दा फरक छैन। बिरामीलाई खाना, बिरामी कुरुवाका लागि खाना, खाजा, नास्ता सबै बिरामीको कोठामै पुग्छ। एउटा बिरामीका लागि आवश्यक सबै सेवा सुविधाका साथ एउटा बिरामीलाई एउटा सिंगै कोठाको व्यवस्था गरिएको छ। त्यहाँ २४सै घन्टा स्वास्थ्यकर्मी उपलब्ध छन्। बिरामीको सलाइन सकियो कि, बिरामी ट्वाइलेट जाँदा उठाउन नसकिने हो कि, बिरामीलाई कहाँबाट के ल्याएर खुवाउने, सफा कसरी गर्ने, औषधि कतिबेला खुवाउने, अर्को बिरामीको औषधि खुवाउने हुन् कि, दोहोरो इन्जेक्सन लाउने पो हुन् कि भन्ने कुनै चिन्ता बिरामी कुरुवा र बिरामीलाई छैन। यहाँ त उल्टै नर्स तथा स्वास्थ्यकर्मीहरूले बिरामी कुरुवाको समेत स्वास्थ्यको ख्याल गरेर आराम गर्न आवश्यक व्यवस्था मिलाउँदा रहेछन्।
न त चिकित्सक वा नर्स बिरामी र बिरामी कुरुवासँग झर्कन्छन्, न रिसाउँछन्, उनीहरूको पनि ८ घन्टाको डिउटी हुन्छ। बिरामीलाई भगवान् मान्ने यी स्वास्थ्यकर्मीहरूको सेवाकै कारण जस्तोसुकै बिरामी किन नहोस् छिटो निको हुन मद्दत मिल्दोरहेछ। आधा रोग चिकित्सकको बोलीचाली र व्यवहारका कारण निको हुन्छ भन्ने कुरा यहाँ भने व्यवहारिकरूपमै लागू भएको पाएँ। बिरामी भर्ना गर्दाको सम्मान डिस्चार्ज गर्दासम्म उत्तिकै देखियो। बिरामी डिस्चार्ज गर्दा पनि निकै ध्यान दिने रहेछन्। नेपालमा बिरामी डिस्चार्ज गर्दा ह्विलचियर खोज्न यता र उता भौतारिँदै बिरामीको आफन्तले हतार–हतार डिस्चार्ज कार्ड लिएर नगद कक्षमा पुगेर घन्टौं लाइन बस्दाको छटपटी, औषधिका लागि उस्तै लाइन बस्नुपर्ने समस्या अमेरिकामा हुँदो रहेनछ। यहाँ पहिला बिरामीको उपचार अनि मात्र बिल घरमै पठाइँदो रहेछ। बिल पनि कति तिर्न सक्ने⁄नसक्ने छलफल गरी निकास निकाल्दा रहेछन्। नेपालमा त पहिला पैसा अनि बिरामीको प्रवेश हुने र बाहिरिन पनि सबै भुक्तानी गरेपछि मात्र पाइने सास्ती छ।
नेपालमा देशको ढुकुटी रित्याएर पेट फुलेकाहरूको उपचारका लागि भने राज्यको ढुकुटीबाट झिक्न पाउने भएकै कारण पहिला शुल्क दिनुपर्दैन। जो उपचारका लागि धौ–धौ परेर आउँछन् उनीहरूका लागि शुल्क नतिरी अस्पताल प्रवेश नै पाइँदैन। जोसँग पैसा छैन उसले डिपोजिट नगरी अस्पताल भर्ना नै पाउँदैनन्। जो पैसावाल छ, नेता वा पहुँचवाला छ उसलाई डिपोजिट पनि चाहिँदैन मुखैको भरमा उपचार हुन्छ।
आम मानव जातिको शारीरिक तन्दुरुस्ती अर्थात् निरोगितालाई स्वास्थ्य भनिन्छ। हरेक मानिसका लागि स्वास्थ्य अपरिहार्य कुरा हो। हरेक मानिस कुनै न कुनै स्वास्थ्य समस्या नभएको हुँदैन। तर, समस्या कस्तो प्रकृतिको हो र उपचार विधि प्राथमिक हो या विशेषज्ञ सेवा लिनुपर्ने फरक यति मात्र हो। तर, नेपालमा धेरै काम बिगार्नमा नेताहरूको गैरजिम्मेवारीपना बढी दोषी देखिन्छ भने जिम्मेवारी सम्हालेका व्यक्ति तथा अस्पताल, स्वास्थ्य संस्था सञ्चालकहरू सबैको जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण हुनुपर्छ। धेरै सम्भावना बोकेको मुलुक नेपाललाई स्वास्थ्य सेवा प्रदायक मुलुकका रूपमा विस्तार गरेर पर्यटन स्वास्थ्यका क्षेत्रमा विकास गर्ने हो भने हरेक दिन विदेशिने युवा शक्तिले आफ्नै भूमिमा रगत–पसिना बगाउने थिए। आम नेपालीले पनि स्वस्थ जीवन जिउन पाउने थिए। तर, यसतर्फ हाम्रा नीति निर्माताको ध्यान कहिले जाने होला ?
प्रतिक्रिया