नियमित खोप प्रभावित


नेपाल समाचारपत्र
बाँके
स्वास्थ्यकर्मीको आन्दोलनका कारण नियमित खोपका साथै राष्ट्रिय अभियानहरू प्रभावित भएका छन्।

संयुक्त ट्रेड युनियनले जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेमा तालाबन्दी गरेर आन्दोलन थालेपछि राष्ट्रिय अभियानका साथै जिल्लाका सबै नियमित कार्यक्रमहरू प्रभावित भएका हुन्। यो बीचमा आह्वान गरिएको राष्ट्रिय पोलियो खोप अभियान र हात्तीपाइले अभियान प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। पोलियो फागुन ७ र ८ गते थियो भने हात्तीपाइले फागुन २२ र २३ गते तोकिएको छ। हात्तीपाइलेका तालिम गोष्ठीहरू अवरुद्ध भएकाले अभियान पनि निर्धारित मितिमा नहुने आन्दोलनकारी बताउँछन्।
जिल्लाका स्वास्थ्य संस्था⁄चौकीमा पनि कामकाज ठप्प पारिएका छन्। यी संस्थामा प्रसूति र क्षयरोगबाहेकका सेवा बन्द गरिएका छन्। दफा ९ (घ) कार्यान्वयन तथा पदास्थापनाका लागि स्वास्थ्यकर्मी निरन्तर आन्दोलनमा रहेका छन्।

स्वास्थ्य मन्त्रालयमा अनौठो रोग नै देखिएको छ। कर्मचारी बढुवा, सरुवा, पदस्थापना, ग्रेडका लागि कर्मचारीहरू अदालत नै जानुपर्ने बाध्यता रहेको छ। ‘स्वास्थ्यकर्मी अदालत नगएसम्म केही नहुने रोग नै भएको छ’, एक स्वास्थ्यकर्मी भन्छन्– ‘हामी जिल्लामा सेवा दिने कि मुद्दा लड्न जाने ?’ जानकारहरूका अनुसार, देशभरबाट स्वास्थ्यकर्मीका यस प्रकारका २० हजार मुद्दा अदालतमा रहेका छन्।