निर्वाचनको मिति घोषणा अर्को हप्ता


नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई भेटेर तत्काल निर्वाचनको मिति घोषणा गर्न पुनः माग गर्नुभएको छ।

बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री दाहालले फागुन ८ गतेभित्र निर्वाचनको मिति घोषणा गर्ने कार्यमा आफू लागेको जानकारी गराउनुभएको छ। प्रधानमन्त्री प्रचण्डले जेठ २ र जेठ २१ गतेको मितिमा स्थानीय निकायको चुनाव गर्न सरकार तत्पर रहेको जानकारी आफूलाई गराएको प्रमुख निर्वाचन आयुक्त यादवले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

प्रमुख आयुक्त यादवले निर्वाचनको मिति घोषणा गरेर मात्रै नहुने र स्थानीय निकायको निर्वाचनका लागि चाहिने कानुनसमेत तत्काल पारित गरिदिन आग्रह गर्दा प्रधानमन्त्री प्रचण्डले निर्वाचन ऐनका बारेमा दलका नेतासँग कुराकानी भएको र उक्त ऐन पनि चाँडै आउने आश्वासन दिनुभएको उहाँले बताउनुभयो। फागुन ८ गते निर्वाचनको मिति घोषणा नगरे जेठमा चुनाव नहुने भएकाले सरकारले चुनावको मिति फागुन ८ गते नै घोषणा गर्ने तयारी गरेको हो। निर्वाचन घोषणा गरेको १ सय २० दिनपछि मात्रै निर्वाचन आयोगले चुनाव गर्न सक्ने बताउँदै आएको छ।