प्राविधिक शिक्षा उत्पादनमुखी हुनुपर्ने



नेपाल समाचारपत्र
भक्तपुर
प्राविधिक शिक्षा गुणस्तरीय र उत्पादनमुखी हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञहरूले जोड दिएका छन्।

प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद् (सीटीईभीटीले) आयोजना गरेको परीक्षा अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा विज्ञहरूले प्राविधिक शिक्षालाई ‘बोली खानेभन्दा गरी खाने शिक्षा भएकोमा जोड दिनुभयो।

कार्यक्रममा सीटीईभीटीका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले प्राविधिक शिक्षाले विकट कर्णाली जिल्लाको मुहार फेर्न थालेको भन्दै यसले मुलुकको विकासलाई नै ठूलो टेवा पुर्याउने बताउनुभयो।

प्राविधिक शिक्षाले काम गर्नका लागि व्यक्तिलाई तयार पार्ने बताउँदै उहाँले प्राविधिक शिक्षा गुणस्तरीय र उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभयो। स्रोत साधन न्यून भए पनि प्राविधिक शिक्षाको विकासमा एउटै चिन्तन भएका सबै एकैठाउँमा बसेर भावी कार्यदिशा निर्धारण गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सीटीईभीटीका सदस्य–सचिव रमेश बखतीले गुणस्तर वृद्धि, पूर्वाधार विकास, समयानुकूल पाठ्यक्रम परिमार्जन गर्न परिषद् लागिरहेको बताउँदै प्राविधिक शिक्षामा सरकारको लगानी अपुग रहेको बताउनुभयो। प्राविधिक शिक्षाले समुदायलाई पनि लाभ प्रदान गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले विस्तारै सबैले यसको महत्त्व बुझ्न थालेको बताउनुभयो।
कार्यक्रममा सीटीईभीटीका निर्देशकहरू महेश भट्टराई, पुष्पा वाग्ले, दीपक पौडेल, टेकबहादुर मल्ललगायतले पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरीखाने शिक्षाप्रति युवापुस्ता आकर्षण बढ्दै गएको बताउँदै त्यसै भएर पनि सीपयुक्त नेपाल, सम्वृद्ध जनता भन्ने नारा सीटीईभीटीले अघि सारेको बताउनुभयो।

वैदेशिक रोजगारका लागि बजार प्रवेश पाउन पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम एक सहज माध्यम बनेको बताउँदै वक्ताहरूले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरूलाई साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा वृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्छ भन्नुभयो।

कार्यक्रममा टीआईटीआईका प्रशासन प्रमुख तथा कार्यक्रम संयोजक प्रमोद आचार्यले प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद् (सीटीईभीटीले) ले ७३ जिल्लाका ७६ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

उहाँले दुर्गमका सीमान्तकृतवर्गमा प्राविधिक शिक्षाको पहुँच एवं विस्तार गर्ने उद्देश्यले उक्त सामुदायिक विद्यालयमा ३ वर्षे डिप्लोमा कार्यक्रम तथा प्राविधिक एसएलसीका कक्षा सञ्चालनमा रहेको जानकारी दिनुभयो।

प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनमा रहेका सामुदायिक विद्यालयले स्थानीय आवश्यकताअनुसार थप स्वीकृति लिई २२ वटा कार्यक्रम सञ्चालन गरेको आचार्यले बताउनुभयो। यसै गरी निजीरूपमा सामुदायिक विद्यालयले पनि विभिन्न जिल्लाका ६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत ११औं परीक्षा अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा देशभरका ५३ जिल्लाका विद्यालयमा कार्यरत प्राचार्य र प्रतिनिधि सहभागी छन्। गोष्ठी आज बिहीबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्