अपहरणकारी पक्राउ



काठमाडौं, (नेस)
अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका–१९ डेरा गरी बस्ने नुवाकोट फिकुरी–९ का अशोक ढुंगेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

ढुंगेलसमेत भएको अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत पाटनको २०६९ माघ २ गतेको फैसलाले ६ वर्ष कैद हुने ठहर भएकोमा फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो।

काठमाडौं काभ्रेस्थली–६ स्थित ३६ रोपनी जग्गामा नवीनकुमार नेपालसमेतले डोजर लगाई जग्गा प्लटिङ गरिरहेको अवस्थामा ढुंगेल तथा उनका साथीहरू अमर लामा र सुन्दर श्रेष्ठसमेतले २०६६ चैत ५ गते उक्त प्लटिङका लागि प्रयोग गरिएको डोजरका चालक लोकनाथ ढुंगानालाई पेस्तोल देखाई कुटपिट गरी डोजरको साँचो खोसेर अपहरण गरी मारिदिने र डोजरमा आगो लगाइदिने धम्की दिई ५ लाख रुपियाँ फिरौती रकम माग गरेको र सोही दिन पीडितले ढुंगेललाई फिरौतीबापतको पहिलो किस्ता १ लाख रुपियाँ दिएकोमा प्रहरी कारबाहीको सिलसिलामा लामाको साथबाट काठमाडौं महानगरपालिका–२९ नयाँबसपार्कमा फिरौतीबापतको उक्त १ लाख रुपियाँसहित डोजरको चाबी र फिरौती माग्न प्रयोग भएको सीमसहितको मोबाइल सेट प्रहरीले बरामद गरेको थियो।

फैसला कार्यान्वयनका लागि ढुंगेललाई काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्