यम आए “मन भमरा” सँगै

0
Shares

अढाइ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा रहेका गायक यम बराल नयाँ गीति अडियो एल्बम मन भमरा लिएर आएका छन्। मंगलबार राजधानीको दबारमार्गस्थित तारे होटल अन्नपूर्णमा आयोजित एक समारोहबीच उनको नवीनतम एल्बमको उपराष्ट्रपति नन्दबहादुर पुनले विमोचन गरे।

एल्बममा समावेश बरालका साथ गायिका कोमल वलीद्वारा स्वरबद्ध शीर्ष गीत मन भमरा, एमकै साथ नायिका रेखा थापाको स्वरमा रहेको भुइँको माया टिप्न खोज्दा तथा उनको एकल स्वरको सप्तरंगी इन्द्रेणी र सागरबीचको मोती बोलका चार
गीतमाथि बनेका म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सो अवसरमा गायक बरालले यम बराल नाइट न्यु इयरबाट प्राप्त रकमबाट २५ हजार रुपियाँ आफ्नो ठूलीआमाको हातबाट इटहरीस्थित स्व. आमा कृतिमाया बरालको नाममा रहेको लोक कृति गंगा प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन्।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले आफूलाई मनपर्ने गायक एम बराल अमेरिका गए रे भनेको सुन्दा नराम्रो लागे पनि आज उनकै एल्बम विमोचन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए। ‘विचार निर्माणमा गीत–संगीतको ठूलो प्रभाव रहेको छ। अर्काको भारी बोकेर बोलको प्रगतिशील गीत सुनेको थिएँ। जसले गर्दा मेरो विचार बदलियो र मेरो विचार पनि परिवर्तन भयो। म जुन पृष्ठभूमिबाट आएँ, त्यति बेला म सांस्कृतिक टोलीको कमान्डर भई गाउँ–गाउँ गएर जनतालाई प्रशिक्षित पार्ने गर्थें’, पुनले भने– ‘संगीतले राष्ट्रलाई कता लैजाने भन्ने भूमिका संगीतले खेलेको हुन्छ। नेपाली संस्कृति र गीत–संगीतलाई यो स्थानमा पुर्याउन बहुप्रतिभावान् कलाकारहरूको ठूलो योगदान रहेको छ।’

गायक यम बरालले आफू केही समय अमेरिका बसे पनि आफ्नो स्थायी बसाइ नभएको बताए। ‘म अमेरिका बसे भनेर ब्लेम लाग्ने गरेको थियो। तर, त्यो मेरो अमेरिकाका लागि स्थायी बसाइ थिएन। नेपाली गीत–संगीतमा खर्चेको लामो समय खेर जान नदिउँ भन्ने संकल्पका साथ म नेपाल आएको हुँ। यो मेरो एक किसिमको पुनरागमनभन्दा पनि हुन्छ’, उनले भने– ‘योसँगै मैले मन भमरा नामक एल्बम पनि ल्याएको हुँ।’

त्यसै गरी गीतकार राजेन्द्र थापाले गीत–संगीत सबैतिर पुगेको चर्चा गरे। ‘नेपालका प्रत्येक गाउँघर आर्थिकरूपमा सम्पन्न नहुन सक्छन्, सुविधाहरू नपुगेका हुन सक्छन्। तर, यहाँको गाउँ–गाउँमा गीत–संगीत पुगेको छ। नेपाली गीत–संगीतको इतिहासमा दुई वटा पाटाहरू रहेका छन् र त्यसको दोस्रो पाटोका तीन जना गायकमध्ये रामकृष्ण ढकाल, राजेशपायल राई र एम बराल हुन्। यमको स्वरमा टोनल क्वालिटी उत्कृष्ट छ। एक वर्षको मेहनतपछि यो एल्बम आएको हो’ –उनले भने।

कार्यक्रममा बरालले उनका कुरा, अब चोटहरूले, दिलमाया, निष्ठुरीले छोडेर गइहाली जस्ता आफ्ना नयाँ तथा पुराना गीतहरू गाएर संगीतमय माहोल सिर्जना गरेका थिए। एल्बममा समावेश अन्य गीतहरूमा मरी लानु क्या छ र, उनका कुरा, सारंगीको धुन, पउँदै नपिउने मान्छे, मेरो बदनाम, जिन्दगीभरिलाई र म मात्तिएको बेला छन्। विन्ध्यवासिनी म्युजिक कम्पनीद्वारा उत्पादित एल्बममा कुल १० गीत समावेश छन्। यी गीतमा शब्द राजेन्द्र थापा, मुकुन्दराज शर्मा, जेपी ढुंगेल, विमल डाँगी, रोशन पाल्पाली, बरन राना, राम लामा तथा प्रकाश गौचनको रहेको छ भने संगीत दीपक शर्मा, शान्तिराम राई, गणेश पराजुली, आलोकश्री, विमल डाँगी, किरण श्रेष्ठ छन्। ३ गीतमा बराल आफैंले संगीत भरेका छन् भने ेरेखा थापा, कोमल वली र सपनाश्रीको स्वर रहेको छ।