ग्रामीण बस्तीको जनजीवन भगवान् भरोसा



नवीन श्रेष्ठ, सिन्धुली
रबन्दीअनुसार स्वास्थ्यकर्मी अभाव, भएका स्वास्थ्यकर्मी पनि ग्रामीण क्षेत्र नजाने समस्या तथा ग्रामीण क्षेत्रका अधिकांश औषधि पसल विनाइजाजत सञ्चालन गर्दा ग्रामीण बस्तीका जनजीवन भगवान् भरोसामा चलिरहेको छ।

ग्रामीण क्षेत्रमा कति औषधि पसल सञ्चालनमा रहेको छ भन्ने कुरा जिल्ला जनस्वास्थ्य कार्यालयमा कुनै तथ्यांक नै छैन। सिन्धुली सदरमुकाममा केही इजाजत प्राप्त व्यक्तिले आषधि पसल सञ्चालन गरेपछि केहीले अन्य व्यक्तिको इजाजतपत्र राखेर सञ्चालन गरिरहेका छन् भने ग्रामीण क्षेत्रका सबै औषधि पसल इजाजतविना नै सञ्चालनमा रहेका छन्।

सामान्य बिरामी हँुदा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटिने र औषधि पसल सञ्चालक पनि स्वास्थ्यसम्बन्धी वा औषधिसम्बन्धी अध्ययन नभएका व्यक्तिले सञ्चालन गर्दा ग्रामीण क्षेत्रका मानिसको स्वास्थ्य जोखिममा परेको छ। औषधि बिक्रीवितरण गर्न फार्मेसी अध्ययन गरी अनुमतिपत्र प्राप्तले मात्र औषधि बिक्रीवितरण गर्न पाउने प्रावधान भए पनि सिन्धुलीका ग्रामीण क्षेत्रमा अधिकांश सामान्य लेखपढ गरेकाले औषधि बिक्रीवितरण गरिरहेका छन्।

ग्रामीण क्षेत्रममा स्वाथ्य चौकी तथा उपस्वास्थ्य चौकी भए पनि स–साना औषधि पसलहरूबाट औषधि उपभोग गर्न बाध्य छन्। ग्रामीण क्षेत्रमा अधिकांश किराना पसलमा नै औषधि पसल सञ्चालन गरिरहेका छन्। मापदण्ड पूरा नगरी सञ्चालन गरिएका यस्ता औषधि पसलले सर्वसाधारणको स्वास्थ्यमाथि चरम खेलवाड गरिरहेका छन्।

औषधिका कारण मानिसको मृत्यु भएको खबर बेलाबेलामा आइरहे पनि सरोकारवालाको व्यस्तताको कारण ग्रामीण क्षेत्रका मानिस जोखिपूर्ण जीवन बिताउन बाध्य छन्। गाउँमा सञ्चालन रहेका औषधि पसल केही केही सीएमए अध्ययन गरेका व्यक्तिले सञ्चालन गरेका भए पनि अधिकांश अनुभवको आधारमा अन्दाजी औषधि दिने व्यक्तिले औषधि पसल सञ्चालन गरिरहेका छन्।

ग्रामीण क्षेत्रका कुनै पनि औषधि पसल औषधि व्यवस्था विभाग, जिल्ला स्वास्थ्य कार्यालय वा कुनै पनि निकायमा दार्ताविना सञ्चालित रहेका छन्। ग्रामीण क्षेत्रका अधिकांश औषधि पसल इजाजतपत्रविना नै सञ्चालन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत पनि स्वीकार गर्नुहुन्छ। तर जिल्ला जनस्वास्थ्य कार्यालयभन्दा पनि औषधि व्यवस्था विभाग क्षेत्रीय निर्देशनालयमा दर्ता भएर सञ्चालन हुने भएकाले कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको जनस्वास्थ्य प्रमुख बस्नेतले बताउनुभयो।

स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनमी, एचए, सीएमएले औषधि बिक्रीवितरण गरे पनि उनीहरूले औषधि बिक्रीवितरण गर्न नपाउने जनस्वास्थ्य प्रमुख बस्नेतले बताउनुभयो। औषधि बिक्रीवितरण गर्न अनिवार्य फार्मेसी उत्तीर्ण गरी औषधि व्यवस्था विभागबाट इजाजत लिएकाले मात्र औषधि बिक्रीवितरण गर्न पाउने जनस्वास्थ्य प्रमुख बस्नेतले बताउनुभयो।

ग्रामीण क्षेत्रमा सीएमए, अनमी नै सबैभन्दा ठूलो डाक्टर भन्ठान्नेलाई उनीहरूकै विश्वासमा औषधि सेवन गरिरहेका छन्। अन्दाजको भरमा वितरण गरिएका औषधिले कतिको नकारात्मक असर गर्छ भन्ने कुरा थाहा नै छैन। ग्रामीण क्षेत्रमा कम औषधि बिक्रीवितरण हुने र ठूलो रकम खर्चिएर अध्ययन गरेकाहरू शहरमा नै बढी कमाउने भएकाले ग्रामीण क्षेत्रमा इजाजत प्राप्त व्यक्तिहरू जान मान्दैनन् र ग्रामीण क्षेत्रका स्थानीयको जनजीवन भगवान् भरोसा नै चलिरहन्छ।

प्रतिक्रिया दिनुहोस्