शारीरिक अशक्तता भएका गीतकार सोम राईको आधुनिक गीति संग्रह एक्लोपनमा संग्रहित दुई दिनलाई मुटु चल्दै छ मेरो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवराज चौलागार्इंको स्वर रहेको यस गीतमा संगीत रिमेश कुमारले दिएका छन्। सार्वजनिक म्युजिक भिडियोमा शिल्पा पोखरेल, डा. रामेश्वर यादव र सुजितको अभिनय रहेको छ। रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको म्युजिक भिडियोलाई अनन्त तिमल्सिनाले निर्देशन गरेका छन्।
कम्पास मिडियाले बजारमा ल्याएको आधुनिक गीति अडियो एल्बम एक्लोपनको केहीअघि राजधानीमा आयोजित एक समारोहबीच गीतकार डा. कृष्णहरि बराल र शास्त्रीय संगीतकार चण्डी काफ्लेले सार्वजनिक गरेका थिए। कार्यक्रममा गीतकार डा. बरालले गीतका शब्दहरू मन छुने भएको र संगीतले झनै सुवास थपिदिएको चर्चा गरे। एल्बममा ३ आधुनिक र एउटा राष्ट्रिय गीत समावेश छन्। सबै गीतमा संगीतकार रिमेश कुमारको संगीत रहेको छ भने कर्णदास, युवराज चौलागार्इं, दृष्टिविहीन गायक अजय लामा र गीतकार स्वयंले गाएका छन्। एल्बममा संग्रहित एउटा गीत टीकाराम ढुंगानाले रचना गरेका छन्।
गीतकार सोम राईको एउटा खुट्टा छैन, उनी ह्विल चियरमार्फत् हिँडडुल गर्छन्। पटक–पटक खुट्टाको उपचार गरिरहेका उनको आर्थिक अवस्था पनि दरिलो छैन। तर पनि गीत–संगीतप्रतिको तीव्र लगावका कारण संग्रह निकाल्न सफल भएका छन्। एल्बममा राष्ट्रिय, भावुक र रमाइलो पनका गीतहरू समावेश छन्।











प्रतिक्रिया