सोलुखुम्बु, १ फागुन । नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन ।
बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो । उहाँ भन्नुहुन्छ, संस्थानमा मन्सुली चामलको मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको छ भने बजारमा यही चामल ४५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ ।
यतिबेला सल्लेरी डिपोमा बिक्री नभएको सबै चामल लुक्ला डिपोमा पठाउने तयारी भइरहेको छ ।
सोताङ डिपोमा विगत दुईवर्ष देखिनै चामल बिक्री हुन छाडेपछि ढुवानीसमेत गर्न नसकिएको प्रमुख रेग्मीले बताउनुभयो । खाद्यन्नको चामल गोदाममै थन्किएपछि बिक्री मूल्य संशोधनका जिल्ला प्रशासन कार्यालय र संस्थानको प्रधान कार्यलयमा पत्र पठाइसकिएको छ ।
सल्लेरी डिपोमा अहिले दुई सय ४२ क्वीन्टल चामल मौन्दात छ । रासस
प्रतिक्रिया