शिवरामको उपाधि नम्बर ३३

0
Shares

धन बस्नेत, पोखरा
पोखराको हिमालयन गल्फकोर्समा ३३ वर्षीय शिवराम श्रेष्ठले करियरको ३३औं उपाधि उचालेका छन्। सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको पाँचौं उपाधि उचाल्दा अन्तिम दिन दुई कीर्तिमान बनाए।

५४ होलमा ९ अन्डर २ सय १ को स्कोर खेल्दै उनले उपाधि उचालेका हुन्। अन्तिम दिनको खेलमा शिवरामले ६ अन्डर ६४ को स्थितिमा रहेर प्रतियोगिता टुंग्याएका हुन्। ५४ होलको खेलमा नौ अन्डर गल्फमा नयाँ कीर्तिमान हो भने १८ होलमा ६ अन्डरसमेत नयाँ कीर्तिमान बनेको हो। उनकै नाममा दुई वर्षअघि पाँच अन्डरसहित उपाधि लेखिएको थियो। त्यसलाई तोड्दै उत्कृष्ट लयमा रहेका शिवरामले ३३औं उपाधि उचाल्दै इतिहास लेखेका हुन्। उनी पोखरामा २००५, २०११, २०१२ र २०१३ मा च्याम्पियन बनेका थिए। उनले नगद १ लाख १० हजार राशीको पुरस्कार थापे।

अन्तिम दिन शिवरामले पहिलो नौ होलमा इभन पार ३५ खेले। पछिल्लो नौ होलमा उनले ६ अन्डर २९ को स्कोर बनाए। १८ होलमा ६ अन्डर पारको पनि यो कीर्तिमानी स्कोर हो। उनले सूर्य नेपाल गल्फ टुरको जारी सिजनमा लगातार तेस्रो उपाधि जितेका छन्।

यसै गरी नौ स्ट्रोकले पछि परेका उमेश नगरकोटी दोस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याउन पुगे। अन्तिम दिन २ अन्डर ६८ खेलेका उमेशले कुल इभनपार २ सय १० स्कोर बनाए। उनको हातमा ७० हजार रुपियाँ पर्यो। गतवर्षका विजेता धनबहादुर थापा तेस्रो भए। कुल २ ओभर २ सय १२ खेलेका धनले अन्तिम दिन एक ओभर ७१ खेलेर ४५ हजार रुपियाँ पाए। कुल ६ ओभर २ सय १६ खेलेका दीपक थापामगर र रवि खड्का संयुक्त चौथो भए। सञ्जय लामा दुई सय १७ स्कोरका साथ छैटौं र २ सय १७ खेलेका सूर्यप्रसाद शर्मा सातौं भए।
एमेच्योरतर्फको उपाधि कमल तामाङले जिते। अन्तिम दिन ४ ओभर ७४ खेलेका कमलले कुल ११ ओभर २ सय २१ स्कोर खेले। दुई सय ३४ खेलेका युवराज भुजेल काउन्ट ब्याकका आधारमा दोस्रो तथा समान स्कोर बनाएका मिथुन राई तेस्रो भए।