सहकारी ठग्नेबाट ५१ लाख भराइने

0
Shares

नेपाल समाचारपत्र
हेटौंडा
पालुङ बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दा उच्च अदालत पाटन हेटौंडा इजलासबाट फैसला भएको छ। मकवानपुर जिल्ला अदालतबाट ११ जनालाई दोषी ठहराइएकोमा उच्च अदालतले ७ जनालाई मात्र दोषी ठहर गरेको छ।जसमध्ये सुरेन्द्र कार्की, सरिता बस्नेत, रामहरि बिष्ट र सीताराम विष्टले सफाइ पाएका छन् भने जिल्ला अदालत मकवानपुरले सफाइ दिएकालाई शुरु सदर गरिएको छ।

उच्च अदालतको फैसलाअनुसार रामबहादुर बस्नेत, हरि बस्नेत, आइतीमाया बस्नेत, सुरेन्द्र बस्नेत, मनोहर बस्नेत, तुलसा बस्नेत र मीनबहादुर बस्नेतलाई दोषी ठहर गरी ५१ लाख ७६ हजार भराइ सोहीबराबरको रकम जरिवाना हुने फैसलामा उल्लेख छ।

सहकारीमा आर्थिक घोटाला गरेको अभियोग लागेका ६ जनालाई जिल्ला अदालतको फैसलापछि थुनामा पठाइएको थियो। माया थोकरसमेत एकहजार एक जनाको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेका उनीहरूलाई भीमफेदी कारागार चलान गरिएको थियो।

रामहरि विष्टलाई ५० लाख र सुरेन्द्र कार्कीलाई १५ लाख धरौटी माग गरेकोमा उनीहरू धरौटी रकम बुझाउन नसक्दा थुनामा परेका थिए। अन्य चार जना सुरेन्द्र बस्नेत, रामध्वज केसी, सरिता बस्नेत र विनिता मल्ल पुर्पक्ष थुनामा परेका थिए। ६ वर्षअघि ठगी मुद्धा जाहेरीका आधारमा तीन करोड ५६ लाख ५५ हजार ६ सय १६ रुपियाँ बिगो तोकिएको थियो। मुद्दाका केही अझै फरार रहेको पीडितले बताएका छन्। जसमध्ये अध्यक्ष रामबहादुर बस्नेतसमेत छन्।