कमल ढकाल
एक थोपा पानी पनि वर्षातजस्तो लाग्छ, खुसी मन छ भने समुद्रको पानीको पनि के औकात छ जस्तो लाग्छ, मन दुःखी छ भने ।
मन बारे थोरै मन्थन गर्न खोजेको यो वाक्यांशसहित आजको स्टोरी शुरू भएको छ । मनको ब्याख्या कसले गरोस् र कसरी जानोस् । मनको जति रंग परिवर्तन कसको पो होला र । बादलजस्तो बदलिने मनका बारेमा विवाद नगर्दै बेस । भनाइ पनि छ ‘स्वाद र विवाद दुवै छाडिदिनुपर्छ । स्वाद छोड्दा शरीरलाई फाइदा । विवाद छाड्दा सम्बन्धलाई फाइदा ।’ दुवै जिब्रोका कारण उत्पत्ति हुने चिज रहेछन् फेरि । स्वाद पनि र विवाद पनि । मनलाई भने जिब्रो मात्र हैन आँखा कान, मुखलगायत धेरै कुराले
प्रभाव पार्छ ।
मनलाई ठीक पार्ने मस्तिष्क छ । कहिलेकाहीं मस्तिष्कले पनि हरेक मान्छे आफैंमा केही न केही प्रतिभा हो भन्ने बिर्सेर अर्काे जस्तै बन्नुपर्यो भन्छ र आफ्नै प्रतिभा गुमाउन लगाउँछ । यस्ता उदाहरण धेरै छन् । कहिल्यै नबिर्से मान्छेबाट सिक्न किनकि हरेक जिन्दगीले सिकाइरहन्छ भन्ने कुरा यहाँ प्राथमिकतामा राखिएको छ ।
६२ वर्ष अघिको लक्ष्मीपूजाको दिन आज गज्जब लाग्यो मलाई । धन्यवाद दिन मन लाग्यो त्यस दिनलाई अनि असनको कमलाक्षीलाई । झनै धन्यवाद दिन मन लाग्यो उनकी आमा नारायणदेवीलाई र बाबु तीर्थ नारायणलाई । त्यो दिन नभएको भए । ती बाबुआमा नभएको भए । अनि असन कमलाक्षी नभएको भए म एकाबिहान स्वयम्भू जानै पर्दैनथ्यो । ती दिनका संयोगले आज अर्काे संयोग बन्यो । स्वयम्भूको दुई आँखासँग आँखा जुदाउँदै त्यो हावामा स्पर्श गर्दै सारालाई जोश भर्ने कुरा सुन्न पाउदैनथेँ लेख्न झनै पाउँदैनथँे । हो त्यही दिनले त हो आजको समयमा महिलाका लागि महिलाले मात्र चलाएको माइक्रो फाइनान्सकी महिला नायिका जन्माएको अनि उनको कुरा सुन्न म एकाबिहान स्वयम्भू किमडोल पुगेको ।
महर्जनको छोरीले महर्जनसँग मात्र विवाह गर्नुपर्ने परम्परा थियो । त्यो तोडियो ३३ वर्षअघि । जब सुमित्रा मानन्धरले चन्द्र गुरुङसँग भेटिन् । यो स्टोरी सुमित्रा मानन्धरको हो । उनी गुरुङ भएपछिका कुरा हो । र उनको आजसम्मको कुरा हो । उनीसँग सास्तीको कहानी छ । आफ्नै इतिहास र भूगोलका कथा छन् । अनि छन् संस्कृति, अध्यात्म, विज्ञान र कलाका कहानीहरू । उनी जन्मेको दश वर्षअघि उनका हजुरबाले नेपालको पहिलो साइकल पसल खोलेछन् । राणाका लागि मात्र साइकल चढ्न पाउने त्यो समयमा जनताका लागि पनि साइकल पसल खोल्ने हजुरबा क्रान्तिकारी थिए । नेपाली कांग्रेसको आन्दोलनका अनुयायी । उनका बाजे सोसियल वर्कर र चेतनाका वाहक भएकाले उनका फुपूहरूले पढ्न पाए । शान्ति निकेतन स्कुल उनीहरूको पारिवारिक स्कुलजस्तै भयो । सबैले त्यहींबाट एसएलसी गरे । महर्जनको छोरीहरूले पढ्ने भनेको उनको फेमेलिमा मात्र भएको उनी बताउँदै थिइन् ।
पढाइ रोके जीवन रोकिन्छ । यही चेतनाका साथ उनका परिवार सबैले पढे । सुमित्रालाई जोग्राफीमा रुचि बढ्यो । पाटनबाट आईए, त्रि–चन्द्र कलेजबाट बीए र त्रिभुवन विश्वविद्यालयबाट एमए गरी अमेरिकाको हवाइ विश्वविद्यालयबाट हाजार्ड एन्ड डेभलपमेन्टमा पीएचडी पनि गरिन् ।
भूगोललाई प्रेम गरेका कारण बालाजुदेखि ककनीसम्म इन्च–इन्च फित्ता लिएर नाप्न हिँडेको भन्दै थिइन् । नेपालको ६९ जिल्ला पुगेको गन्दै थिइन् । हिमालको, पहाडको, र तराईको माया भएको बताउँदै थिइन् । ईसिमोड, प्लान नेपाल र इन्कार्डमा १२ वर्ष काम गरेको भनिसकेकी थिइन् ।
सुमित्राको त्रिवि पढ्दा २०३१ मा चन्द्रसँग चिनजान भएछ । चिनजान प्रेममा बदलियो । प्रेमले आगो लगाएर उनी चन्द्र पढ्दै गरेको बैंककको एआईटीमा पुगिन् । चन्द्र त्यही थिए । उनले उही बोलाए । अकस्मात त्यहाँ इगेजमेन्ट भयो । त्यही इगेजमेन्टले उनलाई चन्द्रसंँग हवाइ पुर्यायो । बीचमा नेपाल आएको बेला चन्द्र र उनको परिवारले भोज भतेर खुवाएर भित्र्याए । हवाइमा पीएचडी गर्दा एक छोरा र छोरी जन्मिसकेका थिए । नेपाल आएको बेलामा जन्मेकी चार महिनाको छोरी बोकेर सुमित्रा फेरि हवाइ गइन् । बच्चा, पढाइ र कामको गाह्रोको किस्सा भनेरै थाकिने रहेछ । तिनै किस्साले उनलाई जीवन सिकायो ।
अफ्ठयारो समयले सिकाएको अनुभवभन्दा ठूलो अनुभव विश्वविद्यालयले पनि सिकाउँदैन भन्ने उनले त्यही जानिन् । छोरी अमान्दामध्ये पीएचडी २०४२ मा जन्मिन भने छोरा अदीश पीएचडी सकिँदा २०४५ मा । छोराछोरी हुर्किए । पति चन्द्रको हेलिकप्टर क्य्रासमा मृत्यु भयो । जीवन अगाडि त लैजानै पर्छ । उनी एक्लो जीवन दौडाउन थालिन् । नयाँ काम गरेर ।
केही नयाँ गरिरहन चाहने सुमित्रालाई फेरि नयाँ काम गर्न मन लाग्यो । त्यसैले नै महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था खोलियो । २०६९ सालमा करिब सय महिला मिलेर खोलिएको यो संस्थामा अहिले १५ हजार सदस्य पुगिसकेको सुमित्रा बताउँछिन् । रोल्पा, रुकुम, सल्यानलगायतका नौवटा पहाडी जिल्लाको महिलाका लागि फोकस गरेर अहिले संस्था चलिरहेको उनी बताउँछिन् । चित्लाङमा हेडअफिस राखेको यो संस्थाले महिलाका लागि महिलाको बैंक भन्ने अवधारणासहित काम गरेको छ ।
लाइभस्टक तरकारी पसल, जग्गा, उपचार र शिक्षामा लगानी गरिरहेको छ यो संस्थाले । जसरी मान्छेको जीवनलाई स्वास्थ मात्रै र शिक्षा मात्रै भनेर छुटाएर हेर्न मिल्दैन त्यसै गरी महिलालाई आर्थिक रूपमा सक्षम बनाउन लोन मात्र हैन तालिम पनि दिनुपर्छ भन्ने यसको मान्यता रहेछ । यसका लागि अर्काे संस्थासँग सहकार्य गरी तालिम पनि दिने सुमीत्राले बताइन् ।
दुर्गम जिल्लामा काम गर्ने यो संस्थालाई अरू संस्थाजस्तो मोटरसाइकल दिएर कुदाउन ग्राहो पर्ने रहेछ । पहाडी बाटो र महिला भएकै कारण । सुमित्रा भन्दै थिइन्– ‘राष्ट्र बैंकले अंकमा हेर्छ हामीले चेतनाको विकास गरेको पनि हेरोस् भन्ने चाहन्छु ।’ साढे दुई वर्षपछि उनको सीइओको म्याद सकिन्छ । भूगोल पढेकी माटोको माया भएकी सुमित्रा त्यसपछि जमिनको उपचार गर्ने दृढतासहित अर्गानाकि फार्मिङमा लाग्ने बताउँदै थिइन् । उनी र उनीजस्तै महिलाका कारण यो बेरोजगारीको समयमा ८४ जना महिलाले अहिले रोजगारी पाएका छन् । त्यो मान्छे मन पर्छ भन्न सजिलो छ तर अरूका लागि मन पर्ने बन्न गाह्रो छ । उनी अरूका लागि मन पर्ने मान्छे बन्दै दिनहरू बढाइरहेकी छन् । एक नयाँ र बासनादार धुपजस्तै बन्दै आफू बलिरहेकी छन् । अरूलाई बास्ना छर्दै गइरहेकी छन् । नयाँ–नयाँ काम गरेर ।
प्रतिक्रिया