मजदुर किसान पार्टीको अधिवेशन शुरू


नेपाल समाचारपत्र
राजविराज
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघको दुईदिने दोस्रो राष्ट्रिय अधिवेशन शुक्रबार राजविराजमा शुरू भएको छ।

संघको उद्घाटन सत्रका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले सम्बोधन गर्दै सत्ताधारीहरूले किसानहरूको वास्तविक समस्या नबुझिदिएका कारण मुलुक परनिर्भर हुँदै गएको बताए। ‘केही वर्षअघिसम्म हामी खाद्यान्न निर्यात गथ्र्यौं’, उनले भने– ‘अहिले डेढ खर्बको उपभोग्य वस्तु आयात गर्नुपर्ने अवस्था छ।’

नेता प्रजापतिले क्रान्तिकारी भूमिसुधारमार्फत् जोत्नेको स्वामित्वमा जग्गा हुनुपर्ने, सिँचाइ, उन्नत बिउ बिजनको व्यवस्था हुनुपर्ने भन्दै तब मात्र किसानको मनाबल बढ्ने दाबी गरे। मुलुक हरेक क्षेत्रमा परनिर्भर हुँदै गएको बताउँदै उनले सत्तामा पुग्नका लागि पनि विदेशीको आशीर्वाद लिनुपर्ने नेताहरूको चरित्र रहेसम्म देशले काँचुली फेर्न नसक्ने दाबी गरे।

मुलुकमा ऐतिहासिक परिवर्तन आए पनि विदेशी हस्तक्षेप बढ्दै गएको, राजनीतिक दलले गर्ने काम विस्तारै आईएनजीओहरूले गर्न थालेको र पार्टीका कार्यकर्ता घोषणापत्र बोकेर गाउँ पस्नुपर्ने बेलामा तिनै आईएनजीओको कार्यकर्ता बन्ने क्रम बढेको आरोप लगाए। आफ्नो देशको समस्या आफैंले मिलाउनुपर्नेमा जोड दिँदै उनले खुला दिसामुक्त घोषणाका लागि समेत विदेशीको सहयोग ताक्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए।