स्वस्थानी ब्रत सकियो



समिना तिमल्सिना, काठमाडौं
पौष शुक्लपूर्णिमादेखि स्वस्थानी ब्रत बसेका श्रद्धालु भक्तजनले हिजो शुक्रबार माघ शुक्लपूर्णिमाका दिन ब्रत पूर्ण गरेका छन्। पौष शुक्लपूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्यान्ह्कालमा श्रीमहादेवसहित स्वस्थानी देवीको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

शुक्रबार १०८ जनै, सुपारी, रोटी, फूल, अक्षतालगायत सामग्री स्वस्थानीलाई चढाउने विधि रहेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान विष्णुको निर्देशनमा स्वस्थानी देवीको ब्रत गरी श्रीमहादेव पति पाएको विश्वास छ। स्वस्थानी समापन गर्ने माघ शुक्ल पूर्णिमाका दिन साँखुस्थित शालीनदीमा अश्वमेध यज्ञसमेत गरिन्छ।

शालीनदीमा शुक्रबार एकमहिने माधवनारायणको मेलासमेत समापन गरिएको छ। यस ब्रत कथाको मेला हरेक पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने गर्दछ। साँखुको सालीनदी, भक्तपुरको हनुमानघाटलगायतका विभिन्न नदीमा यसको मेला लाग्ने गर्दछ। यस वर्ष सालीनदीमा १ सय ९२ जना ब्रतालुहरू ब्रत बसेका थिए। गत वर्षको तुलनामा यस वर्ष ब्रतालुको सख्या झण्डै आधाभन्दा बढी घटेको छ। श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले गत वर्ष ४ सय जना ब्रतालु रहेको जनाएको छ।

समितिका अध्यक्ष राजुभाइ मानन्धरले भूकम्पपछिको पुनर्निर्माण कार्य र युवा पुस्तामा धर्मप्रतिको आस्था घटेकाले ब्रतालुको संख्या घटेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,– ‘अहिले ब्रत बस्ने ब्रतालुहरू विवाहित महिला र पुरुष रहेका छन्। नयाँ पुस्ताका मानिसहरू निकै कम मात्रामा रहेका छन्। ब्रतालुहरूका लागि हामीले फलफूल, आवास, औषधि उपचारलगायत अन्य सुविधाको व्यवस्था गरेका छौँ।’ ब्रतालुका लागि आवश्यक रकम चन्दा तथा गुठी संस्थानबाट जुटाइएको छ।
यस वर्ष ३५ लाख अनुदान रकम संकलन भएको चन्दा संकलन समितिका निवर्तमान अध्यक्ष दिलीपकुमार श्रेष्ठले जनाउनुभयो। उहाँले चन्दा रकम गुठी संस्थान, महिला समूह, सहकारी संस्था, पर्यटक तथा व्यक्तिगत रूपमा विभिन्न निकायले सहयोग गरेको बताउनुभयो। संकलन भएको रकमबाट बगैंचा, पुल निर्माण, मन्दिर निर्माण, सालीनदी सरसफाइ तथा विभिन्न सजावटको काम गरेको श्रेष्ठले बताउनुभएको छ।
(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्