यथाश्रीघ निर्वाचन गर्नुपर्छः राणा


नेपाल समाचारपत्र
भक्तपुर
राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले यथाश्रीघ निर्वाचन गर्नुपर्ने बताउनुभएको छ। रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले मधेसवादी दललाई बाइपास गरेर निर्वाचन सम्भव नभएको बताउनुभयो। दुई दशकदेखि हुन नसकेको स्थानीय निर्वाचन मधेसवादी दललाई सहमतिमा ल्याएर यथाश्रीघ यही सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो। ठूला राजनीतिक दलहरू जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले निर्वाचन नभए मुलुक संवैधानिक संकटमा फस्ने बताउनुभयो।

नेता राणाले राप्रपा सरकारबाट बाहिरिने हल्ला मात्र भएको बताउँदै राप्रपाले सरकारबाट बाहिरिने कुनै निर्णय नगरेको बताउनुभयो। सरकारले पुनर्निर्माणको कार्यलाई अगाडि बढाउन नसक्दा जनता निराश भइरहेकाले तत्काल तीव्र गतिमा पुनर्निर्माणको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभयो। आगामी निर्वाचनमा राप्रपा तेस्रो शक्तिका रूपमा स्थापित हुने उहाँले दाबी गर्नुभयो।

पार्टीको एकता महाधिवेशनले राप्रपालाई निर्वाचनमा तेस्रो शक्तिका रूपमा उभ्याउने उहाँको भनाइ छ। ठूला पार्टीले देशलाई विकास गर्न नसकेकाले नयाँ विकल्पका रूपमा खडा गरिरहेको उहाँले बताउनुभयो। महाधिवेशनबाट आउने नयाँ नेतृत्वले मुलुकमा भएको विद्यमान समस्यालाई हल गर्ने उहाँले बताउनुभयो। नेता राणाले ३ प्रतिशतको थे्रसहाल्ेडले राप्रपालाई कुनै फरक नपर्ने बताउँदै थे्रसहोल्ड राख्नुपर्ने पक्षमा राप्रपा रहेको बताउनुभयो।

वर्तमान सरकारले जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने बताउनुभएको छ। राप्रपा जेठमा निर्वाचनको पक्षमा भए पनि सरकार निर्वाचन गर्ने पक्षमा नभएको बताउनुभयो। मधेसी मोर्चाको संविधान संशोधनको मागलाई कुनै पनि हालतमा एमालेले पारित हुन नदिने र अर्कातर्फ सरकारले मधेसी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेकाले निर्वाचन असम्भव भएको उहाँले बताउनुभयो। उहाँले ठूला पार्टीले देशलाई दिशा दिन नसक्दा देश कता जाने के गर्ने अनिर्णयको बन्दीमा फसिरहेको बताउँदै उहाँले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै सरकारले भूकम्पपीडितका लागि केही काम गर्न नसकेको बताउनुभयो।