बृद्धाश्रममा बसेर साहित्य

0
Shares

कुमार श्रेष्ठ, बाँके ।

‘गाईका दूधले सर्प पुजिन्छ जुन समाज,
रहन्न जिउँदो न्याय ऐश्वर्यको रबाफमा ।
कामधेनु बली चढ्छन् बेसर्मा झांगिएपछि,
बन्दछन् मूर्ख नै राजा सज्जनका मुटुमा पसी ।’
नेपालगञ्जका लेखक एवं साहित्यकार भुपेन्द्रप्रकाश शर्माले यतिबेला यस्तै–यस्तै कविता लेखेर जीवन बिताइरहेका छन् ।
२०२४ सालमा शिक्षा शास्त्रमा स्नातक गरेका लेखक एवं साहित्यकार शर्मा खाना पुग्दो सम्पत्ति भएपनि घरपरिवारको ‘टर्चर’ले बृद्धाश्रममा बसेर साहित्य सिर्जनामा लागेका छन् । गतवर्ष चक्रब्यूह नामक कविता संग्रह प्रकाशित गरेका साहित्यकार शर्माले यसबीचमा तीन वटा सिर्जना लेखिसकेका छन् ।

‘रोपेर निमका बृक्ष फल्दैनन् सुन्तला कतै,
बैगुनीहरुका आत्मा पग्लिन्नन् ती कुजात भै ।
छरेर बीउ पत्थरमा झराउनु पसिना किन ?
माटो उर्वर बनाए पो फल्छन् बाली दिनन्दिन ।

नेपालगञ्जको गुरुद्वारारोडस्थित नीलसागर बृद्धाश्रममा बसेका शर्माले त्यहाँका भित्तामा यस्ता मर्मस्पर्शी कविता लेख्नु भएको छ । ‘कामधेनू बली चढ्ने, निम रोपेर सुन्तला खोज्ने’ जस्ता शब्द जोडेर साहित्यकार शर्माले आफ्नै सन्तान र समाजको आँखा खोल्ने प्रयत्न गर्नु भएको छ ।

‘नगर्नु गुणगान् आफ्नो आफैले म बडो भनी,
जे देख्छ समाजले भन्छ असल–कम्सल् कुनै पनि ।
कमाई जे ग¥यो जसले फल्छ आखिर,
समय बलवान् हुन्छ आत्तिएर के हुन्छ र ?’

साहित्यकार शर्माले मान्छेको घमण्ड र समयका बारेमा पनि सबैलाई सचेत गराउनु भएको छ । आफूलाई घरबाट निकाल्नेलाई समयले त्यही चक्रमा पु¥याउने शर्माको सिर्जनाहरुले देखाएको छ । शर्मा भन्नुहुन्छ, कसैले पनि म सबैभन्दा बलवान छु । मलाई कसैले जित्न सक्दैनन् भन्ने घमण्ड नगरे हुन्छ ।

समयको चक्रले सबैलाई घुमाउँछ ।’
‘नगर्नु नै कुनै पाप त्यही हो धर्म उत्तम,
सत्यमा दृढ व्यक्तिले कसम खानु बेकार छ ।
आरोग्यले धनी बन्नु बुद्धिमानी ठहर्छ,
परोपकारले मात्र हुन्छ मानव सर्वोत्तम ।’

संसारमा परोपकारले नै घरपरिवार, समाजलाई जोड्दछ । शर्माको लेखनी थियो, आरोग्यले धनी बन्नु बुद्धिमानी हुन्छ । कुनै पाप नगर्नु नै उत्तम धर्म हो ।’ विगतमा क्रान्तिकारी कम्युनिष्ट बनेर घरपरिवार भन्दा समाज निर्माणमा अग्रसर भएका शर्मा ८१ वर्षको उमेरमा बृद्धाश्रममा पुग्नुले बाहिर ठूला कुरा गरेर मात्रै होइन, घरपरिवारलाई पनि व्यवस्थित गर्नु पर्दोरहेछ भन्ने देखाएको छ ।

‘असल यूवाहरु धेरै खाडी क्षेत्र पसेपछि,
केहीले बृद्धबृद्धाका मर्म बोध गरेपछि,
रीत्तिदाछन् दिनैपिच्छे बबण्डर गृहआश्रम,
कर्तब्यले भरीदो छ नीलसागर बृद्धाआश्रम ।’

साहित्यकार शर्माले रोजगारीका लागि खाडी पुग्ने युवाको मर्म पनि छोएका छन् । युवाहरु विदेशिने र बृद्ध आमाबुवा बृद्धाश्रममा पुगेका तितो यथार्थ बाहिर ल्याएका छन् । उहाँले झैझगडा, बबण्डर भइरहने घरहरु बृद्धाबृद्धले रित्तिदै गएको बताउनु भएको छ ।

बुढेसकालमा शान्त वातावरणमा साहित्य सिर्जना गर्ने मनसाय रहदा घरपरिवारले त्यसको वातावरण नबनाइदिएको शर्माको भनाई छ । बृद्धाश्रममा बसेपछि उपन्यास, कथा र कविता संग्रह लेखिसक्नु भएको छ । ‘तिनै वटा कृति अब प्रकाशनको तयारी छ, शर्माले भन्नुभयो ।

नेपालगञ्जमा १६ धुरमा घर, खजुरामा दुई विगाह जमिन भएपनि घरपरिवारको किँचकिँचले गर्दा लेखक एवं साहित्यकार शर्मा दश महिनादेखि बृद्धाश्रममा हुनुहुन्छ । ‘मलाई यही मजा छ । खाना, औषधी उपचार मिलेको छ । शान्त वातावरणमा साहित्यिक रचना कोरिरहेको छु, शर्माले भन्नुभयो, घरमा जाने च्याप्टर क्लोज भइसक्यो ।’

केही महिनाअघिसम्म नेपालगञ्जका पत्रिकामा सामसामयिक लेख र साहित्यिक रचना लेखेर छाएका बृद्ध शर्मा अहिले बृद्धाश्रमको कुनामा बसेर जोडदार रुपमा कृति लेखिरहनु भएको छ । सन्तानले कर्तब्यको बाटो बिराउदा अभिभावकले दुःख पाउने कुरामा सहमत भएका शर्माले साहित्यिक रचनाहरुबाट आफ्ना सन्तानलाई सही बाटोमा हिडाउनु पर्ने सन्देशहरु दिइरहनु भएको छ ।