एनसेलको एप मार्केट



काठमाडौं, (नेस)
मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ। यो एप मार्केटमा ग्राहकले करसहित १५ रुपियाँमा हप्ताभरी आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्नेछन्।
पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलोपटक बिहीबारबाट सञ्चालनमा आउने एप मार्केट अथवा स्टोरले ग्राहकलाई सजिलैसँंग पेड एप्स उपलब्ध गराउने छ। यो एप मार्केट ओपेरा मिनी क्लबको को–ब्रान्ड सर्भिस हो। जुन फिचर फोन र स्मार्टफोन प्रयोगकर्ताका लागि उत्कृष्ट एप्स र गेम्स पाइने विश्वकै तेस्रो ठूलो एप्लिकेसन स्टोर हो।

एनसेल एप मार्केटमा शिक्षा, व्यापार तथा व्यवसाय, मनोरञ्जन, सञ्चार, मल्टिमिडियालगायत अरु विविध विधाका तीनलाख भन्दा बढी एप्स उपलब्ध छन्। भुक्तानीमा असहजतालगायत विविध कारणले गर्दा नेपाली ग्राहकको पेड एप्समा पहुँच कठिन रहेको विद्यमान अवस्थामा यस एप मार्केटले ग्राहकलाई विभिन्न उपयोगी प्रिमियम एप्समा सजिलै पहुँच सुनिश्चित गर्नेछ।

‘नेपालमा धेरै ग्राहकले फिचर फोन प्रयोग गरिरहेका र स्मार्टफोन प्रयोगकर्ता पनि व्यापकरुपमा बढिरहेको विद्यमान परिप्रेक्षमा हामीले ती ग्राहकलाई सजिलै प्रिमियम एप्स उपलब्ध गराउने उद्धेश्यका साथ ओपेरासँगको सहकार्यमा यो एनसेल एप मार्केट सञ्चालनमा ल्याउन पाउँदा खुशी छौं,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्