भ्रूण पहिचानपछिको गर्भपतन विकराल समस्या


दिना श्रेष्ठ
नेपाली समाजमा वंश चलाउने नाममा होस् या मोक्ष प्राप्ति हुने आशमा, निरक्षरदेखि साक्षार अनि पढेलेखेका आधुनिक पुरुष÷महिला सबैलाई भित्री अभिलासाको स्वरुप छोरा चाहिएको छ । दुई सन्तानको अघोषित नारा बोकेका दम्पतीले जसको पहिलो सन्तान छोरो छ भने दोस्रो सन्तान जे भए पनि सहर्ष स्वीकार्छन् ।

तर पहिलो सन्तान छोरी भएका दम्पतीले गर्भमा बच्चा आएको दिनदेखि नै दिनगन्ती शुरु गर्छन् । अनि महँगा क्लिनिकमा गई रेडियोलोजी÷भिडियो एक्सरे गराउने र छोरा पहिचान भए खुशी हुने अनि छोरी पहिचान भए गर्भपतन गराउने लहर शहरी इलाकाका दम्पतीहरूको अघोषित अभियान नै भएको छ ।

मानौं यस्तो दम्पती जसको पहिलो सन्तान छोरो छ र यदि भिडियो एक्सरेमा दोस्रो सन्तान पनि छोरो नै हुने निश्चित भएको खण्डमा के उनीहरूले छोरीसरह गर्भपात गर्छन् त ? गर्दैनन् । पहिलो छोरामाथि दोस्रो छोरा थपिने भयो भने भगवान्को कृपा भन्दै हार्दिकतापूर्वक स्वीकार्ने समाजमा पहिलो छोरी हुने दम्पतीले दोस्रो सन्तानमा छोरी नै पो हुने हो कि भनी सन्त्रास लिई लिंग परीक्षण गराउने अनि गर्भपातसम्म गर्न पछि पर्दैनन् ।

यो कुकर्ममा मौनस्वीकृति दिई यस जघन्य आपराधिक कार्यमा आफैं महिला भईकन पनि किन महिलाले विरोध गर्न नसकी सो अपराधमा मतियार हुन बाध्य भएका छन् ? यो विषय कानुनशास्त्रीको लागि नभई समाजशास्त्री एवं मनोविज्ञको लागि समेत अनुसन्धानको विषय भइसकेको छ ।

नारीलाई माता भगवती, दुर्गा, सरस्वती, चण्डिका, लक्ष्मी, कालीको दर्जा दिई अनेक रुपले पुजिने हिन्दुधर्मको अत्यधिक बाहुल्यता भएको हाम्रो देशमा छोरीलाई भेदभावपूर्ण तरिकाले हेर्ने, विभेद गर्ने अनि उसलाई आमाको गर्भबाट सकुसल जन्मन पाउने अधिकारबाट किन वञ्चित गर्ने ? यस्तो हो र यसलाई तत्काल नरोक्ने, कारबाही नगर्ने हो भने भने आजको २० वर्षपछि नेपालमा छोरी मान्छेको न्यूनता आई सामाजिक संरचना नै खलल नहोला भन्न सकिन्न ।

बाह्र हप्तापश्चात् पत्ता लाग्ने गरेको भु्रणको लिंग पहिचान आधुनिक यन्त्रहरूले सुसज्जित अस्पताल, नर्सिङहोम तथा क्लिनिकहरूमा हाल छ हप्ताको भु्रणको लिंग समेत पत्ता लगाइदिने होड चलेको छ । स्त्रीलिंगी भएकै कारण एउटी नारीले यो सुन्दर संसारमा अवतरण गर्ने मौकाबाट आफ्नै मातापिता परिवारबाट वञ्चित गराइँदा हामी कसरी चुप लागि बस्न सकेका छौं ? यी विषय स्वास्थ्य सेवाका खातिर खोलिएका संघसंस्थाका दायित्वमा पर्दैनन् ? अथवा हामी सबैको राष्ट्रिय सवाल एवं दायित्वको विषय होइन र ? गम्भीरतापूर्वक सोच्न आवश्यक भइसकेको छ ।

नेपाली महिलालाई आफ्नो बच्चा जन्माउनमा आफ्नो निर्णय लिन पाउने कानुनी अधिकारले केही सुखद सन्देश ल्याएको देखिए तापनि अप्रत्यक्षरुपमा नेपाली महिला झन् पीडित हुन पुगेका छन् । समाज, परिवार अझ शिक्षित भनाउँदा पुरुषहरूले खुलेआम नर्सिङहोममा लगी भु्रणको लिंग छुट्याउने र छोरी थाहा पाउनेबित्तिकै गर्भवती महिलालाई भावनात्मक ब्ल्याकमेल गर्ने वा दोस्रो विवाहको अप्रत्यक्ष धम्की, करकाप, ललाई–फकाई वा प्रलोभनमा पारी गर्भपात गराउने विकृति बढेको छ ।

केही नेपाल ऐन संशोधन गर्ने ऐन २०६३ ले ज्यानसम्बन्धी महलको दफा २८ को उपदफा (ग) मा कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भु्रणको लिंग पहिचान हुने कुनै काम गर्नु गराउनु हुँदैन भनी स्पष्ट व्यवस्था गरेको छ । त्यस्तो काम गर्ने गराउनेलाई ३ महिनादेखि ६ महिनासम्म कैद र लिंग पहिचान गरी गर्भपतन गर्ने गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैद सजायँसमेत तोकिएको छ ।

गर्भपतनसम्बन्धी कानुन नुहुँदाका बखतमा असुरक्षित गर्भपात गराएर कतिपय नेपाली महिलाले ज्यान नै गुमाए भने कतिपयले कालान्तरसम्मका अनेक स्त्रीरोग अँगाल्न बाध्य भएका थिए र छन् । कतिपय महिलाले जातक फाली जेलजीवन पनि बिताउनुपरेको विडम्बना छँदै छ । तर गर्भपतनसम्बन्धी कानुन आएपश्चात् सोको सकारात्मक उपयोगभन्दा बढी छोरा भए जन्माउने र छोरी भए गर्भपतन गर्ने गरी ऐनको दुरुपयोग बढी मात्रामा भएको पाइन्छ । समाजको नाउँमा होस् वा पति एवं परिवारको दबाबमा या धर्मशास्त्र, दाइजो वा आडम्बरी शानका नाउँमा गर्भवती महिलामाथि लिंग पहिचान गरी गर्भपतन गर्ने गराउने गरी अर्काे मानसिक र शारीरिक हिंसा थपिएकोे छ । आधुनिक समयमा गर्भपतनका औषधि छ्याप्छ्याप्ती औषधि पसलमा बिक्रीमा राखिएका छन्, जसले सजिलै गैरकानुनी गर्भपतनलाई मात्र हौसला नदिई कतिपय अवस्थामा त महिलाको अनाहकमै ज्यान जानेसम्मका काम भइराखेका छन् ।

देशमा छोराको जन्मदर बढ्दो अनि छोरीको घट्दो किन भइरहेको छ ? यसबारे सामाजिक सचेतना जगाउने, भएका कानुनलाई प्रभावकारी कार्यान्वयन गराउने, दुई छोरी भएका दम्पतीलाई सम्मान गर्ने तथा राज्यकोषबाट केही कोषको व्यवस्था गरी सरकारले सकारात्मक भूमिका खेल्न आवश्यक छ । छोराको मात्र गुणगान लेखिएका प्रचलित धर्मग्रन्थहरूलाई समेत समयसापेक्ष परिमार्जित गर्दै समानताको यथार्थमा लैजानुपर्छ ।

विद्यमान कानुनी प्रावधानअनुरुप प्रहरी प्रशासनले पनि समस्या समाधानमा योगदान गर्नु अपरिहार्य छ । भु्रण पहिचान गरी गर्भपतन गर्नेलाई नियन्त्रण गर्न गर्भ पहिचान गर्ने स्वास्थ्य संस्थामा छापा मार्ने, लिंग पहिचान गर्ने यन्त्र आयातमा रोक लगाउने, लिंग पहिचानपश्चात् भु्रणहत्या गराउने दम्पती एवम् सो कार्य गर्न उक्साउने मतियार, स्वास्थ्यकर्मीलगायत सबैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाएँ गर्ने गरी छुट्टै भु्रण हत्यासम्बन्धी ऐन ल्याउन जरुरी भइसकेको छ ।
(लेखक श्रेष्ठ अधिवक्ता हुनुहुन्छ ।)