मनाङ झापा गोल्डकप च्याम्पियन


रमेश समदर्शी, बिर्तामोड

नेपाली फुटबलको महारथी मानिने लक्ष्मी हुन्डाइ मनाङमस्र्याङ्दी क्लब दोस्रो रमपम झापा गोल्डकपको च्याम्पियन बनेको छ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा मनाङले आयोजक टोली झापा–११ लाई १–० गोलअन्तरले पराजित गर्दै पहिलोपटक च्याम्पियन बन्यो। यो जितबाट मनाङले सुदूरपश्चिमदेखि सुदूरपूर्वका महत्वपूर्ण तीन गोल्डकप जितेको छ। माघ महिनाभित्र खप्तड गोल्डकप, आहा रारा गोल्डकप र झापा गोल्डकपमाथि कब्जा जमाउँदै ह्याट्रिक पूरा गरेको छ।

मोफसलको सर्वाधिक राशि सात लाखको नगद मनाङले हात पार्दा झापा भने दोस्रो पटक उपविजेता बन्न पुग्यो। उपविजेता झापा–११ ले नगद ३ लाख ५० हजार रुपियाँमा चित्त बुझायो। पहिलो संस्करणमा झापा त्रिभुवन आर्मीसँग १–० गोलको नतिजाबाट उपविजेता बनेको थियो।

गोलको खाता खोल्न खेलको ६३औं मिनेट कुर्नुप¥यो। त्यो पनि विदेशी खेलाडी मनाङका ओलावालेबाट। निराजन मल्लले प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपानेले धेरैबेर होल्ड गर्न नसक्दा ओलावालेले जाली चुमाएका हुन्। ओलावालेको त्यही गोल नै मनाङका लागि निर्णायक बन्यो।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने सुन्दर अवसरहरू खेर फालेका थिए। खेलको १५औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गरेको हेड पोस्टबाट बाहिरियो। रञ्जित श्रेष्ठको फ्रि–किकमा कर्णले हेडमार्फत गोल गर्न खोजेका थिए। १७औं मिनेटमा मनाङका कप्तान सुजल श्रेष्ठको लामो प्रहार बाहिरियो।

१९औं मिनेटमा मनाङका ओलावालेले पेनाल्टी एरियाबाट प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपानेले बचाए। ३२औं मिनेटमा झापाका कप्तान कर्णको प्रहार बाहिरियो। ३९औं मिनेटमा झापाका खेलाडी रजिन धिमालको फ्रि–किक मनाङका गोलरक्षक दिनेश थापाले पञ्च गरेर गोल हुनबाट बचाए। ४३औं मिनेटमा झापाका लागि विदेशी खेलाडी मार्टिनको प्रहार मनाङका गोलरक्षक थापाले विफल पारे। दोस्रो हाफको १६औं मिनेटमा मनाङका कप्तान सुजलले प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपाने बिट भइसकेको अवस्थामा पोलमा लागेर फर्कियो।

प्लेयर अफ दि टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित हुँदै सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे। फाइनल खेलको म्यान अफ दि म्याच मनाङका निराजन मल्ल घोषित भए। उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपियाँ प्रदान गरे।

समान ३–३ गोल गरेर हाइस्कोरर बनेका झापाका कर्ण लिम्बू र बुद्ध चेम्जोङले नगद १५ हजार रुपियाँ प्राप्त गरे। उत्कृष्ट डिफेन्स झापा ११ का देवेन्द्र तामाङ घोषित भए भने उत्कृष्ट मिडफिल्डर झापा ११ कै रञ्जित श्रेष्ठ भए। त्यस्तै, उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित हुँदा उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ गुरुङ बने। उनीहरूले जनही नगद १५ हजार पाए। माघ १५ देखि आयोजित प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता थियो।