बालन जोगाउने अभियान



पोखरा, २२ माघ । पछिल्लो वर्षमा डिस्को, दोहोरी र पप ब्यान्डले युवा पुस्तालाई आकर्षित गरेका अवस्थामा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको बालन जोगाउने अभियानको यहाँ थालनी गरिएको छ ।

विशेष गरी पश्चिम नेपालका कास्की, तनहुँ, स्याङ्जा, बाग्लुङ, पर्वतलगायत जिल्लाको मौलिक संस्कृतिका रुपमा रहेको बालन आधुनिक नृत्य एवम् बाद्यवादनको विकाससँगै लोप हुने अवस्थामा पुगेका कारण यसको जगेर्नाका लागि अभियान सुरु गरिएको छ ।

कास्की एवम् तनहँुका बासिन्दाको सक्रियतामा बालन संरक्षणको अभियानलाई साकार पार्ने उद्देश्यले यमप्रसाद पौडेलका अध्यक्षतामा इन्द्रप्रसाद भट्टराई, उमाकान्त ढकाल, यमबहादुर राउतलगायत रहेको नेपाली लोक संस्कृति संरक्षण प्रतिष्ठान समेत गठन गरिएको छ ।

अध्यक्ष पौडेलका अनुसार प्रतिष्ठानले कास्की, तनहुँका साथै आसपासमा प्रचलित बालनको थप अध्ययन अनुसन्धान गर्दै यसको दीर्घकालीन सञ्चालनका लागि पहल गर्ने भएको छ ।

देवीदेवताको गुणगानमा केन्द्रित बालन सृष्टिकालदेखिका भगवानका लीला र अवतारको वर्णनमा आधारित संस्कृति हो । “आधुनिकताको मारमा धेरै प्राचीन संस्कृति लोप भइसकेको वास्तविकतामा मौलिक संस्कृतिका रुपमा रहेको बालनलाई संरक्षण गर्न प्रतिष्ठानले सक्रियताका साथ अभियान बढाउने छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “यसको जगेर्नामा सरकारको गम्भीर चासो र सहयोग पनि आवश्यक छ ।” रासस

प्रतिक्रिया दिनुहोस्