नेपालको सन्दर्भमा भ्रष्टाचारको मूल जरो राजनीति नै हो । त्यसपछि कर्मचारीतन्त्र हो । जनतामा चेतना र जागरुकताको कमी पनि भ्रष्टाचारको कारण हो । जसरी हुन्छ शक्ति र सत्ता हत्याएर त्यसको दुरुपयोग गरी आफ्ना मान्छेलाई भर्ती गर्ने अनि त्यसलाई दुहुनो गाई बनाउने काम भयो । यसले गर्दा भ्रष्टाचारीहरूलाई झनै संरक्षण मिल्यो र भ्रष्टाचारले मौलाउने मौका पायो । भ्रष्टाचारको मूल जरो राजनीति नै भएकाले राजनीतिक तहबाटै भ्रष्टाचार निर्मूल गर्ने प्रयास नगरेसम्म यसको अन्त्य हुन सक्दैन ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१५ को भ्रष्टाचारसम्बन्धी प्रतिवेदनअनुसार नेपाल विश्वका १६८ मुलुकहरूमध्ये १३० औँ स्थानमा पुगेको छ । यसले भ्रष्टाचारमा नेपाल अग्रपंक्तिमा परेको प्रस्ट हुन्छ । राजनीतिक तहबाट भ्रष्टाचार हुने गरेकाले नै कर्मचारीतन्त्रमा समेत भ्रष्टाचारले जरो गाडेको हो । नेपालको कर्मचारीतन्त्र ढिलासुस्ती र भ्रष्टाचारको पर्याय बनेको छ । सेवाग्राहीलाई गुणस्तरीय र छिटोछरितो सेवा दिनुपर्नेमा आलेटाले गरेर टेबुलमुनिबाट मोटो रकम असुलेपछि मात्र काम गर्ने प्रवित्ति झनै बढ्दो छ । सेवाग्राहीहरू कर्मचारीको व्यवहारबाट आजित भएका छन् ।
राजनीतिक पार्टी र तिनका नेताहरूको अप्रत्यक्ष संलग्नतामा कालोबजारीलाई बढावा दिनेजस्ता कार्य कर्मचारीतन्त्रबाट भइरहेको छ । हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ठूलो परिमाणको सुनले यसको पुष्टि गर्दछ । आजसम्म यो सुनको मुख्य मालिक पक्राउ पर्न सकेको छैन । यसले भ्रष्टाचार नियन्त्रणको प्रयासमा चुनौती थपेको छ । भ्रष्टाचारको नियन्त्रण र नियमन गर्ने अधिकार पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठूलाबडालाई दृष्टि दिन नसकेको अवस्था छ ।
नेपालमा भ्रष्टाचारको रोगले हरेक तह र तप्कालाई नकारात्मक असर पुर्याइरहेको छ । भ्रष्टाचारकै कारण देशमा अपेक्षाकृतरुपमा विकास निर्माणका कार्यहरूले गति लिन सकिरहेका छैनन् । भ्रष्टाचार देशको समृद्धिको सबैभन्दा ठूलो बाधक हो । त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न सर्वप्रथम राजनीतिलाई पेसा नभएर सेवाको रुपमा लिने परिपाटीको विकास गर्नुपर्छ । जनता नै सचेत र जागरुक भएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ । हरेक तह र तप्कामा भइरहेका भ्रष्टाचारजन्य व्यवहारहरूको भण्डाफोर गर्ने, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नेजस्ता कार्यहरू पनि गर्न सकिन्छ । भ्रष्ट पार्टी र नेतालाई चुनावमा बहिष्कार नै गर्नुपर्छ । उनीहरूलाई जिताउने भोट होइन, हराउने भोट अर्थात् विरुद्धको भोट हाल्ने परिपाटी शुरु गर्नुपर्छ । यसपछि मात्र उनीहरूका भ्रष्टाचारजन्य गतिविधिलाई निरुत्साहित गर्न सकिन्छ ।
प्रतिक्रिया