ट्रम्प युगको उदय र प्रभाव

0
Shares

(विजय ज्ञवाली ) अमेरिकामा राष्ट्रपति पदको लागि आवेदन प्रक्रिया शुरु पनि भएको थिएन, यसै बीच देश–विदेशका तमाम मिडिया, जासुसी संयन्त्र, राजनीतिक दल र विदेशी शक्तिकेन्द्रहरुले पहिल्यै ट्रम्पको सम्भावित उम्मेदवारी, प्रतिस्पर्धा र उनीद्वारा चालिने हरेक कदमहरुको सूक्ष्म अध्ययन गरिरहेका थिए। जसै चुनावी सरगर्मी नजिकिँदै गयो उति नै ट्रम्पका आक्रामक एवं उत्तेजक भाषण र गतिविधिहरु पनि उत्तिकै मात्रामा चुलिँदै गए, जसले गर्दा पूरा विश्व अति संवेदनशील बन्न पुग्यो।

यहाँसम्म कि निवर्तमान राष्ट्रपति बाराक ओबामाले जब सिकागो शहरमा आफ्नो अन्तिम भाषण मन्तव्य व्यक्त गर्दै थिए, ओबामाका समर्थकहरुले ट्रम्पका विरुद्ध ट्विटरमा ठूला–ठूला आक्रामक एवं उत्तेजक पोस्टहरु ट्विट गरिरहेका थिए। उनीहरुको आरोप थियो– डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष एवं परोक्षरुपमा रुसी जासुसी संस्थाले सहयोग गरिरहेको छ। यस्ता गतिविधिले सिंगो अमेरिका र अन्य मुलुकलाई पनि नोक्सान पुर्याउँछ। ट्रम्प निकै खतरनाक एवं सन्की व्यक्ति हुन्, उनलाई समर्थन गर्नु भनेको समग्र अमेरिकाको संवैधानिक पद्धतिलाई नै खलबल्याउनु हो। हुन पनि समय र घटनाक्रमद्वारा पुष्टि हुँदै आएको छ कि डोनाल्ड ट्रम्पले आफ्नो चुनावी दौडाहाको दौरान रुसी गुप्तचर निकायसँग कहीँ न कहीँ सम्झौता अवश्य गरेका थिए। उनले उक्त गुप्तचर निकायसँग सम्झौता गर्नुको एकमात्र कारण थियो– विगतमा आफ्नो यौनकृत्यको कारण उनले अमेरिकालगायत कतिपय मुलुकहरुमा महिलाद्वारा उनीविरुद्ध गरिएको विरोध प्रदर्शनलाई साम्य पार्नु एवं त्यस्ता गतिविधिमाथि नियन्त्रण एवं निगरानी बढाउनु। तर यस्तो कदममा ट्रम्प भने पूर्ण सफल हुन सकेनन्।

यता ट्रम्प र उनका समर्थक भने विपक्षीका यस्ता आरोपको खण्डनमा हरसम्भव लागिपरेका थिए। विपक्षीका यस्ता आरोपहरुको खण्डन गर्न ट्रम्प र उनका निकटस्थहरुले मुख्य गरेर अनलाइन पोर्टलहरुको भरमग्दुर प्रयोग गरेका थिए। आफ्नो नियमित पत्रकार सम्मेलनमा ट्रम्प स्वयंले यस्ता आरोपहरुको खुलेर खण्डन गर्दथे भने आफू निकटस्थ संवाददाताद्वारा पनि यस्ता कुराहरुको खण्डन हुने गरी लेख्न र बोल्न लगाउँथे। ट्रम्पका विपक्षीद्वारा लगाइएको आरोपको खण्डन गर्नको लागि सोसल मिडियाहरुमा ट्रम्पका समर्थकहरुले हजारौंको संख्यामा नक्कली आईडी बनाएर पनि त्यस्ता आरोपहरुको खण्डन र ट्रम्पका पक्षमा जनमत सिर्जना गर्न सफल भएका थिए।

बज फीड म्यागजिनद्वारा केही समयपहिला प्रकाशित एक रिपोर्टअनुसार तत्कालीन समयमा स्थिति अत्यन्त जटिल मोडमा थियो। उक्त म्यागजिनका अनुसार यस चुनावी सरगर्मीमा पूर्व ब्रिटिस खुविया अधिकारीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो। कतिपय रिपोर्ट र दस्तावेजहरुमा यसको पुष्टि भएको पाइन्छ। उक्त म्यागजिनले उल्लेख गरेअनुसार वासिङ्टनको राजनीतिक अनुसन्धान र आँंकलनका बारेमा विभिन्न शक्तिराष्ट्रले आफ्ना जासुसीहरुलाई सूक्ष्मरुपमा खटाएका थिए। निकै गम्भीर एवं चातुर्यताका साथ ती उच्च अधिकारीहरुले बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सूचना एवं रिपोर्ट सम्बन्धित ठाउँमा निरन्तर सम्प्रेषण गरिरहेका देखिन्थे। राष्ट्रपति पदलाई लिएर डीसीमा शायद यसभन्दा पहिला कहिल्यै पनि यति विघ्न विचार विमर्शहरु भएका थिएनन् होला, जुन यसपालि भएको थियो। निकै ठूलो राजनीतिक कसिकसाउ र तनावका बीच ट्रम्पले आफूलाई पछिल्लो हप्ता विपक्षीद्वारा बुझाइएको एउटा आरोपपत्रको सारांशसहित उपस्थित हुन भन्दै आफू निकटस्थ एक खुफिया अधिकारिलाई उक्त पत्रको छानबिनको जिम्मा दिएका थिए। उनले नितान्त आफू निकटस्थ खुविया अधिकारीलाई यस्तो आदेश दिनुको एउटै कारण थियो– उक्त पत्रलाई गोप्य राखिरहनू। ट्रम्प कुनै पनि हालतमा उक्त पत्रको सार्वजनिकीकरण चाहँदैनथे। जुन कुरा उनले बारम्बारका बैठकहरुमा पनि दोहोर्याउँदै आएका थिए। तर उक्त पत्रमा के–कस्ता आरोपहरु लगाइएका थिए त ? यसबारेमा प्रायः सबैजना अनभिज्ञ नै थिए। उक्त पत्रलाई लिएर कतिपय भन्ने गर्दथे– यो आरोप सही हो या गलत हो, यकिन भन्न सक्ने अवस्था भने छैन। किनकि कुनै पनि मिडियाले उक्त पत्रलाई सार्वजनिक गरेका थिएनन्। कसैको प्रतिशोधपूर्ण भावको यथार्थ नबुझी टिप्पणीमा उत्रिनु पनि जायज होइन तर पछिल्लो केही समयदेखि आमनागरिकमा उक्त पत्रको विषयलाई लिएर जिज्ञासा ह्वात्तै बढेको थियो।

ट्रम्पका लागि ह्वाइट हाउसको ढोका त्यति सहज पनि थिएन, जति उनले सोचेका थिए। तर पछिल्लो निर्वाचनको परिणाम भने सबैलाई आश्चर्यमा पार्ने खालको थियो। यता वासिङ्टनमा चुनावी सरगर्मीलाई लिएर अनेकन अड्कलबाजी चलिरहँदा उता ताईवानको जलमरुडस्थलको मध्यभूभागमा चिनियाँ जासुसी विमानहरु देखा पर्न थालिसकेका थिए। जुन घटनाले अमेरिकी मिडियामा ठूलै स्थान पाएको थियो र अमेरिकी प्रशासन यस्ता गतिविधिबारे चुप लागेर बस्न सक्ने अवस्था पटक्कै होइन। तर यस घटनाले डोनाल्ड ट्रम्पलाई भने अर्को एक चुनौती थपिएको जानकारहरु बताउँछन्।

यस्तै युरोपियन शक्तिहरु युरोको भविष्य अनि सम्भाव्य आगामी संकट र उक्त संकटसँग कसरी जुझ्ने भन्ने बारेमा छलफल गर्न ब्रीक्स सम्मेलनको माग जोडदाररुपमा उठाइरहेका थिए। साथै सन् २०१७ का लागि सबैभन्दा चुनौतीको रुपमा देखा परेको उत्तर कोरियासँग कसरी प्रस्तुत हुने अनि रसिया र चीनसँग कस्तो सम्बन्ध स्थापित गर्ने भन्नेबारेमा ती शक्तिहरु गहन छलफलमा जुटेको स्रोतहरु बताउँछन्। विशेष गरेर उत्तर कोरिया जो अहिलेसम्मकै सबैभन्दा परिष्कृत एवं शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षणको संघारमा पुगेको छ, उसको उक्त परीक्षण रोक्न सकिन्छ या सकिँदैन, यसबारेमा अधिकारीहरुले गम्भीर चिन्ता जाहेर गरेका छन्। साथै आगामी दिनहरुमा ट्रम्प प्रशासन र उत्तर कोरियाबीच कस्तो सम्बन्ध रहने हो र त्यस्तो सम्बन्धले बाँकी देशहरुमा पर्ने उतारचढावको बारेमा पनि अधिकारीहरु गम्भीर भएका खबरहरु सार्वजनिक भएका छन्।

ट्रम्पले आफू निर्वाचित भएलगत्तै पहिलो प्रेस कन्फ्रेन्समा अत्यधिक उत्सुकताका साथ भनेका थिए– आज एउटा तुरुपको विजय भएको छ। र, यो तुरुपको पहिलो प्राथमिकता भनेको विदेश नीति नै हुनेछ। त्यसपछिका प्राथमिकतामा आर्थिक मजबुती एवं अधिकभन्दा अधिक जागिरको व्यवस्था गर्नु रहनेछ। साथै ट्रम्प संगठनको भविष्यसँगै उत्तर कोरिया, रुस र चीन नीतिमा तत्काल परिमार्जन गर्नु उनका लागि महत्वपूर्ण तालिका हुनेछन्।
तथ्यहरु भन्छन्– ट्रम्पले यी सबै मुद्दालाई व्यापकरुपमा बुझ्ने कोशिश गरेका छन्। तर यस्ता जटिल एवं संवेदनशील मुद्दाहरुको नजरअन्दाज स्वयं ट्रम्पका लागि जोखिमपूर्ण पनि हुन सक्छ। बज फीडका अनुसार विपक्षीद्वारा ट्रम्पमाथि लगाइएका आरोपबाट उनी टाढा जान सक्ने अवस्था छैन। उनीविरुद्ध लगाइएका जति पनि आरोपपत्रका फाइलहरु छन्, ती सबै फाइलहरुको निष्पक्ष छानबिन हुँदाका बखत उनलाई कतिपय अप्ठ्यारो अवस्था पनि आइपर्न सक्छ। यस्तोमा यस्तै अप्ठ्यारो अवस्थाका कारण कतिपय महत्वपूर्ण निर्णयहरु उल्झनमा पर्न सक्छन् वा यसै आरोपहरुको सहारा विपक्षीको दह्रो अवरोध पनि हुन सक्छ।

ट्रम्प शक्तिमा आउनुको मुख्य श्रेयका रुपमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जान्छ। अधिकांश अमेरिकी नागरिक, विश्लेषक र विपक्षीका नेताहरु दाबाका साथ भन्छन्– यो सबै रणनीति पुटिनकै हो। उनले आफ्नो जासुसी संस्थालाई खूबै प्रयोगमा ल्याएका थिए। डोनाल्ड ट्रम्पले बारम्बार दोहोर्याउँदै आएको शब्द तुरु निर्माणमा रुसी राष्ट्रपति र त्यहाँस्थित जासुसी संस्थाको अहम् भूमिका रहिआएको छ। तर यसरी निर्माण भएको तुरुपको प्रतिष्ठा भने खासै नरहने आलोचकहरु बताउँछन्। उनीहरु दाबाका साथ भन्छन् कि ट्रम्पले आफ्नो चुनावी अभियानमा उच्चस्तरको राय एवं सुझाव लिने बहानामा उनले रुसी गुप्तचर निकायका वरिष्ठ अधिकारीलाई नै आफ्नो विश्वासिलो सल्लाहकारमा राखेका थिए भने यता रुसी अधिकारीहरुको बैठकमा निरन्तर कसरी ट्रम्पलाई सहयोग एवं हस्तक्षेप गर्न सकिन्छ भन्ने बारेमा निरन्तर छलफल भैरहेका स्रोतहरु पुष्टि गर्दछन्।

ट्रम्पसँग गरिएका सबै सम्झौताहरु सही थिए वा थिएनन् भन्नेमा कतिपय रुसी उच्च अधिकारीहरु पनि अन्योलमा थिए। जुनसुकै मूल्य चुकाएर भए पनि ट्रम्पसँग गरिएको सम्झौताले पूर्णरुपमा सार्थकता पाउनुपर्दछ भन्ने रुसी चाहना थियो। मस्कोबाटै कुनै अमेरिकी राष्ट्रपतिलाई ब्ल्याकमेलिङ गर्नु भनेको चानचुने कुरा थिएन, जुन रुसबाट भैरहेको थियो। उता भने ट्रम्पले बारम्बार रुससँग गोप्यरुपमा कुराकानी गरिरहन्थे र विशेष रुपमा महिलाद्वारा हुनसक्ने विरोध प्रदर्शन र सम्भावित उजुरीहरुलाई साम्य पार्न रुससँग उनको पहिलो अनुरोध हुने गर्दथ्यो।

मस्को र वासिङ्टनबीचको टकराव कुनै नयाँ होइन तर यी दुवै शक्तिहरुले वेलाबखत दुई देशको सम्बन्धमा गरिने व्यवहार एवं रणनीतिमा सम्झौता नगरेका पनि होइनन्। जगजाहेर नै छ, विगतमा यी दुई देशमा एक–आपसमा आएका उतारचढाव अनि टकरावका बारेमा एकले अर्कोलाई दोष दिने गर्दथे। खास गरेर संयुक्त राज्य अमेरिकामा राजनीतिक अराजकता फैलाउन सघाएको मुख्य आरोप रुसमाथि लाग्ने गर्दथ्यो। त्यसैको परिणामस्वरुप नै हुन सक्छ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी जासुसी संस्थाको सक्रियता ह्वात्तै बढ्नु। किनकि रुसमा जुन विपक्षीहरुमाथि अमेरिकी प्रशासनको समर्थन एवं सहयोग हुँदै आइरहेको छ पुटिनले यसमा सीधै ओबामामाथि प्रश्न तेस्र्याउने गर्दछन्। यद्यपि दुवै देशले संयुक्तरुपमा बारम्बार अन्य देशहरुमा हस्तक्षेप गरेका उदाहरण पनि प्रशस्त भेटिन्छन्, तर पनि यी दुईवटा देशबीचको आपसी सम्बन्ध भने कहिल्यै सौहार्दपूर्ण रहन सकेन।

ट्रम्पले बेलाबखत अमेरिकी खुविया एजेन्सी र मिडियाले आफूलाई कत्ति पनि सहयोग नगरेको भनेर गुनासो गर्ने गर्दछन्। उनको आरोप छ– आफ्नै खुफिया एजेन्सीका उच्च अधिकारीहरु नै मेरा विरुद्ध लबिङ, मिडिया ब्रिफिङसँगै कसरी हुन्छ राजनीतिको भूमरीमा अल्झाएरै छाड्ने योजनामा लागेको आरोप लगाउँछन्।

त्यस्तै मिडियाहरुतर्फ पनि रोष प्रकट गर्दै उनी भन्छन्– सत्य र जनमत एकातर्फ हुँदा पनि सत्यतथ्यलाई तोडमोड गरेर प्रारम्भिक सर्वेक्षण ठीक उल्टो देखाएर ममाथि अन्याय गरिरहेको गुनासो गर्दछन्। ट्रम्प निकटका एक उच्च अधिकारी भन्छन्– एफबीआई ट्रम्पका विरुद्ध कतिसम्म लागेका थिए भने उनीहरुले हिलारी क्लिन्टनको इमेल जाच दोहोर्याएर गर्नसमेत मानेनन्, तमाम प्रमाण र तथ्यसहित आग्रह गर्दा पनि उनीहरुले उक्त इमेल जाँच गर्न नखोज्नुको एउटै कारण हो ट्रम्पका लागि ह्वाइट हाउसको ढोका कठिन बनाउँदै लैजानु। यथार्थ त यो हो कि जुनसुकै परिस्थितिमा पनि ट्रम्पले अधिकांश झुटा विवरण, आक्रामक शैली र उत्तेजक भाषणको सहारा लिएका थिए।

जुनसुकै मूल्य चुकाएर भए पनि उनी हिलारीका मुद्दाहरुलाई कमजोर पार्न चाहन्थे र आफ्ना मुद्दाहरुलाई बलियो पार्न चाहन्थे। अफवाह फैलाएर होस् वा आर्थिक प्रलोभनमा पारेर होस्, उनले कुनै पनि हालतमा हिलारीको अभियानलाई कमजोर पारेरै छाड्ने अठोट लिएका थिए। त्यसैले त रुसी गुप्तचर निकायसँग सम्झौता गर्दा ट्रम्पले करोडौं डलर खर्च गरेको कुरा जानकारहरु बताउँछन्।