(गोपाल मरासिनी ) युवाहरू कामको सिलसिलामा विदेश पलायन हुने क्रम दिनानुदिन बढिरहेको छ। घरको आर्थिक अवस्था कमजोर भएर होस् या रोजगारको अभावमा देशका सजीवन मानिने युवाहरू विदेशी भूमितर्फ आकर्षित भइरहेका छन्। हरेक वर्ष करिब ४ लाख युवाहरू रोजगारको सिलसिलामा विदेश पलायन हुने गरेका छन्। यसरी विदेशिने युवाहरूमध्ये ८५ प्रतिशत अदक्ष, १० प्रतिशत अर्धदक्ष तथा ५ प्रतिशत दक्ष रहेका छन्। नेपालको अहिलेको समग्र बेरोजगारको दर हेर्दा ४ दशमलव १ प्रतिशत रहेको छ। आन्तरिक रोजगारको व्यवस्था नहुनु, उद्योग कलकारखानाको स्थापना नहुनु, सरकारी नीति नियमको प्रभावकारी कार्यान्वय हुन नसक्नु युवाहरू विदेशिनुका मुख्य कारण हुन्।
कर्मशील युवाहरूको बढ्दो विदेश जाने संख्यासँगै गाउँ–बस्तीसमेत युवाविहीन बन्दै गएको छ भने कृषिका लागि उर्वर भूमि मानिएका जमिनहरू पनि बाँझो हुँदै गएका छन्। यसले एकातर्फ खाद्यान्नको डरलाग्दो अभावलाई निम्त्याइरहेको छ भने अर्कोतर्फ खाद्यान्न आयातका कारण देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ। यसका साथै औद्योगिक उत्पादनसमेत नराम्रोसँग प्रभावित भएको छ। आर्थिक विकासको प्रमुख ऊर्जाको रूपमा रहेका युवाहरू अधिकांश अदक्ष रहेकाले विदेशमा गएर पनि न्यून पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य भएका छन्।
वैदेशिक रोजगारको दिगो गन्तव्यको अभाव, प्रतिस्पर्धी बन्दै गएको अन्तर्राष्ट्रिय श्रमबजार र नेपाली श्रमिकहरूको दक्षताको कमीले गर्दा केही समयको लागि राम्रो आकर्षणको रूपमा वैदेशिक रोजगार रहे पनि भविष्यमा रोजगारका बाटाहरू थुनिएर युवाहरूलाई घर फर्काउने खतरा पनि प्रबल बन्दै गएको छ। युवाहरूले विदेशमा पसिना बगाएर रेमिट्यान्स प्रवाह बढ्ने र सोधनान्तर सम्बोधनमा सहजता आउने भए पनि नेपालमा दिगोरूपमा नकारात्मक आर्थिक असर देखा पर्न थालेका छन्। विदेशमा कमाएर पठाएको रेमिट्यान्सबाट भित्रिएको रकम उचित प्रयोगको अभावमा जग्गाजमिन खरिद गर्ने, घर बनाउने ऋण तिर्ने, विवाह–व्रतबन्धमा खर्च गर्ने आदिका कारण आर्थिक विकासमा युवाहरूको भूमिका क्रमशः न्यून बन्दै गएको छ। युवाहरूको क्षमतालाई देशभित्रै सही उपयोग गर्न नसक्दा र युवा पलायन रोक्ने कुनै प्रभावकारी उपायहरूको अवलम्बन हुन नसक्दा उत्पादन घट्दै गएको छ भने आयात बढेर व्यापार घाटा चुलिँदै गएको छ।
देशमा बढ्दै गएको राजनीतिक अस्थिरता, भ्रष्ट राजनीतिक सरकार, धराशायी बन्दै गएको नेपाली अर्थतन्त्र र विकास निर्माण कार्यमा आएको सुस्तताले दक्ष तथा शिक्षित युवाहरूले रोजगार पाउन सकेका छैनन्। पञ्चायत कालमा ठूलो संघर्षबाट हासिल गरिएका औद्योगिक पूर्वाधारलाई २०४६ पछि सरकारले शुरु गरेको उदारीकरण, निजीकरण र भूमण्डलीकरणले असर पुर्याएको छ। देशका मुख्य औद्योगिक केन्द्रहरू सरकारले कौडीको मूल्यमा बेचेको छ। जुन देशका १५ लाख बढी नौजवान युवाहरू विदेशी भूमिमा रोजगारीका लागि पलायन हुने गरेका छन्, त्यस देशमा यसरी औद्योगिक क्षमताको ह्रास हुनु विडम्बना नै मान्नुपर्छ। बचेखुचेको रुग्ण उद्योग बचाउने दिशामा सरकारसँग कुनै योजना र सोच छैन। बन्द, हड्ताल, चन्दाको फणा सर्वत्र हुनाले लगानीकर्ताहरूमा उदासीनता छाएको छ। आन्तरिक रोजगारका अवसरहरू पनि खुम्चिँदै गएका छन्। जसोतसो ऋण गरेर भए पनि विदेशी मुलुकमा रोजगारका लागि चाँजोपाँजो मिलाउनु नै युवाहरूका लागि उत्तम विकल्प भएको छ।
जेनतेन नेपालमा रोजगार पाएका युवाहरू उत्पादनमूलक क्षेत्रमा रहेका छैनन्। उत्पादनमूलक क्षेत्रहरूमा युवाहरूलाई प्रयोग गर्ने नीति नहुँदा र प्रभावकारी कदम चाल्न नसक्दा देशले आर्थिक सवलतामा लक्षित आशा हासिल गर्न सकेको छैन। राजनीतिक अस्थिरता र युवाहरूलाई गलत क्रियाकलापमा संलग्न गराउँदा देशमा बिस्तारै नराम्रा क्रियाकलापहरू बढ्दै गएका छन्। युवाहरूको जोश र जाँगरलाई उचित ठाउँमा प्रयोग हुन नसक्दा युवाहरू गलत कार्यमा लाग्ने गरेका छन्।
रोजगारको अभावमा जगडिएका युवाहरूलाई लागूऔषध विक्री वितरण गर्ने गिरोहले बिस्तारै रक्सी, चुरोटलगायतका नशालु पदार्थको सेवन तर्फ आकर्षित गरी आफ्नो व्यवसायलाई बलियो बनाउँदै लगेका छन्। युवाहरू संख्यात्मक र गुणात्मक हिसाबले आर्थिक विकास र समृद्धिका महत्वपूर्ण ऊर्जा हुन्। आर्थिक विकासका लागि युवाहरूको भूमिका गौण हुने हुँदा युवाहरूलाई पूर्णरूपाले औद्योगिक र रोजगारको क्षेत्रमा परिचालन गर्नु आवश्यक छ। वैदेशिक रोजगारले देशमा पैसा भित्रिनु र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनुलाई नराम्रो मान्न सकिँदैन तर जुनरूपमा देशमा उत्पादनशील युवाहरू विदेशी मुलुकमा श्रम र पसिना बगाएका छन् त्यस्ता युवाहरूलाई आन्तरिक उत्पादनमूलक रोजगारको व्यवस्था गरी उनीहरूको क्षमतालाई देशभित्रै सही उपयोग गर्नुपर्छ भन्ने हेक्का सबैले राख्नु जरुरी छ। देशको आर्थिक क्षेत्रलाई मजबुत बनाउनका लागि आन्तरिक रोजगारको व्यवस्था गर्न, वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन, उत्पादनमूलक क्षेत्रहरूमा युवाहरूको पहुँचलाई सहज र सरल बनाउन जरुरी छ। साथै प्राविधिक शिक्षामा प्रोत्साहन गर्नु र सहुलियतमा कर्जा प्रवाह गरी स्वरोजगारमूलक कार्यक्रमहरू ल्याउन जोड दिनु अपरिहार्य छ। अन्यथा युवाहरूको समस्याले देशको अवस्थालाई कहालीलाग्दो नबनाउला भन्न सकिँदैन।
प्रतिक्रिया