फेरि नयाँ मोड

0
Shares

कमल ढकाल

मान्छे परिभाषाभित्र नअट्ने जीव हो । जति परिभाषा गरे पनि कम लाग्छ । जति गरे पनि बढीजस्तो लाग्छ उसको परिभाषा । अजब गज्जब चिज मान्छे नै हो यो संसारमा । कसैलाई माया गर्दा उसको नराम्रो कुरा बिर्सिदिन्छ । कसैलाई घृणा गर्छ उसको राम्रो कुरा भुलिदिन्छ । सारा संसार मान्छे भएर सुन्दर र डरलाग्दो दुवै छ । परबाट राम्रो देखिएको मान्छे संगतमा आएपछि खराब लाग्छ । परबाट खराब देखिएको मान्छे संगतमा आउँदा राम्रो लाग्छ । भएर नहुने नभए पनि नहुने मान्छेको महिमा अपरम्पार छ ।

मान्छेका लागि दुनियाँ बहुत छोटो छ दिल ठूलो बनायो भने। प्रेरणाका लागि पनि मान्छे घृणाका लागि पनि मान्छे । साथी पनि मान्छे । दुश्मन पनि मान्छे । सकारात्मक हेर्दा मान्छेका कथा नै मान्छेका लागि महत्त्वपूर्ण छ । जसले अर्काे मान्छे बन्न प्रेरणाको मल हाल्छ । राजेन्द्र पान्डेको कथा अचम्मकै छ । उनीसस्तो चुइगमजस्तो मान्छे हैनन् । पहिला मीठो र पछि तीतो आउने । बरु गमजस्तो रहेछन् उनको कुरा खोल्यो कि अरुलाई जोड्दै लैजाने । खल्लो कुरा गर्नै जान्दैनन् नुनको ढुंगो मानिने गाउँबाट आएर पो हो कि जस्तो लाग्यो ।

चेपाङ भाषामा छे भनेको नुन हो । अनि पाङ भनेको ढुंगा । नुनिलो ढुंगा भएको गाउँ धादिङको गजुरी गाविस वाड नम्बर ८ छेपाङमा २०१३ सालमा जन्मेका रहेछन् राजेन्द्र । गाउँका लागि मात्र हैन देशकै लागि उनी छेपाङ जस्तै बने । उनको गाउँको नुनको ढुंगो गाईले चाट्थ्यो उनका नुनिला कुरा आज देशले नै चाट्छ ।

हरेकको जीवन फरक हुन्छ । उस्तै मान्छेको कथा दुरुस्त हँुदैन । उनको पनि छैन । एकै पल्ट सात कक्षामा भर्ना भएको कुरा । राजनीतिमा तानिएका कुरा ।

पञ्चायतदेखि प्रजातन्त्र अनि गणतन्त्रसम्म आउँदाका कुरा सबै फरक छन् र त उनको इतिहास फरक छ । चितवनमा सातमा भर्ना भएका उनले गजुरीको स्कुलबाट २०२९ सालमा एसएलसी दिए । २०३० सालमा सरस्वतीमा सोझो पढाइ पढ्न आएका उनको दिमाग बटारियो । देशै नरहे मैले पढेर के भन्ने उनलाई लाग्यो । कारण थियो सिक्किमलाई भारतले बिलय गराउनु । कमर्श पढेर चार्टड एकाउन्ट हुन आएका राजेन्द्रको बाटो त्यहींबाट फरक भयो । विद्यार्थी नेता बन्दै सडक आन्दोलन र जेल पो उनको पढाइको विषय बन्यो । दश वर्ष जेल र जरिवाना, तीन वर्ष जेल र तीन हजार जरिवाना यस्तै उनका त्यतिबेलाका पुरस्कार बने । धरौटीमा छुट्थे फेरि जेल पर्थे । प्रहरीको घेरामा बसेर जाँच दिँदा पनि आफू पास भएको घटना हाम्रो लागि मात्र हैन स्वयम् उनका लागि पनि सरप्राइज रहेछ ।

सुरुङबाट भाग्नेलाई बाहिर बसेर रेखदेख गर्नु भनेको त्यतिबेला तातो गोली खानु थियो । उनले रेखदेख गरे तर गोली खाएनन् । किनकि थाहै पाएन सरकारले। चाल नपाएपछि के को गोली हान्नु । यसै भन्दैथे उनी । राजधानीको राजनीतिमा सबै साथी समातिएपछि उनी धादिङमै आफैंले पढेको स्कुल गजुरी माविमा टिचर बने । शिक्षक संगठन धादिङको अध्यक्ष २०३६ मै भए । राजधानीमा उनी वान्टेड भए पनि धादिङमा केही थाहा नहुने समय थियो त्यो ।

२०४२ को शिक्षक आन्दोलनमा उनी जेल परे । सात⁄आठ महिना जेल बसे । पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवार बने । तर हारे । फेरि जिल्ला पञ्चायत चुनाव लडाउने भयो पार्टीले । तत्कालीन मालेसँग नजिक राजेन्द्रलाई पार्टीले त्यतिबेला भनेको उनी सम्झन्छन् । ‘पञ्चायतमा आत्मसमर्पण गरे पार्टीेले हदैसम्मको कारवाही गर्छ भूमिगत पार्टीमा लागेको थाहा पाउँदा पञ्चायतले मार्छ बचेर काम गर्नुहोला’ वडा सदस्यमा हराउन ब्यापक खुराफाती गरे पञ्चायत पक्षधरले तर उनले जिते । वडा जितेपछि यसपाला राजेन्द्रले जिल्ला पञ्चायत सभापति खायो खायो भन्ने लहर आयो उनले खाए पनि । पञ्चायतको सभापति भएपछि २०४५ फागुन ७ गतेको आमसभामा संसारका राजा महाराजाको अन्त भए जस्तै ईरानमा शाहहरूको अन्त भएजस्तै नेपालका शाहको अन्त हुन्छ भन्ने भाषण ठोकेपछि उनलाई अपदस्त गरियो । राजकाज मुद्दा लगाइयो ।तीन वर्ष जेल र तीन हजार जरिवानाको ठहर गरेर । पञ्चायत ढल्दा उनी जेलभित्रै थिए ।

संसदीय चुनाव २०४८, २०५१ र २०५६ मा लगातार जिते । २०६४ मा मार्ने योजना थियो उनलाई बालबाल बचे । त्यो चुनाव उनको हार भयो । फेरि २०७० मा जिते । उनी आफूलाई दाबी गरेर भन्छन्– ‘२०४३ देखि मैले मात्र होला भएभरको चुनाव लडेर जितेको।’

२०६३ मा स्थानीय विकासमन्त्री भएपछि राजेन्द्र गाउँ–गाउँमा अधिकार दिने विकेन्द्रीकरणको अभियन्ता बने । उनी भन्दैथे– ‘भारतको युपीमा २१ करोड जनसंख्या छ नेपालमा तीन करोड छ युपी एक प्रान्त छ भने नेपालमा सातवटा संघीय राज्य किन चाहियो ? जबकि नेपालभन्दा युपी डेढ गुणा ठूलो नै छ ।’

उनका तर्क सुन्दा खल्लो लाग्दैन उही छेपाङ मै भएजस्तो लाग्छ । विकेन्द्रीकरणको पक्षपाति हुन उनी। स्थानीय निकायको अधिकारका लागि उनी टोटल डिसेन्ट्रलाइज भन्थे । स्रोत र आर्थिक अधिकार सबैको अधिकार गाउँलाई दिऊँ भन्थे । त्यो कुरा सुनिएको भए अहिले संघीयता आवश्यक नै नपर्ने दाबी गर्छन् उनी ।

पछिल्लो समय मनमोहन अस्पताल अध्यक्ष भएकैले उनलाई विवादमा तानेका छन् धेरैले । स्वास्थ्यको अवस्था नाजुक देखेर त्यसलाई उठाउन सकिन्छ कि भनेर आजकल आफू लागिपरेको उनको भनाइ छ । २४ सय जनासँग लाख लिएर सहकारी अवधारणाअन्तर्गत चलेको मनमोहन अस्पतालले बनाउन लागेको मेडिकल कलेजको घोर विरोध भइरहेकोमा उनी अचम्मित छन् । वर्षेनी नेपाली बजारमा डक्टर बन्न चाहने थपिन्छन् । प्रत्येक वर्ष कम्तिमा दश हजारले डाक्टर पढ्न खोज्छन् नेपालमा १८ सय सिट छ । बाँकी सबै विदेशमा पढ्न जान्छन् । एक जनाको पचासै लाखको दरले पनि कति नेपाली पैसा पढ्नका लागि बाहिर गयो ? उनी सोध्दै थे । मैले हिसाबका लागि क्यालकुलेटर थिच्ने जिम्मा पाठकलाई नै दिएँ । फि नबढाउने गर्दा मेडिकल कलेज झन् अपारदर्शी बन्दै जाने र त्यसले गरिबका लागि भनेर गरिएको आन्दोलनले गरिब झन् गरिब बनाउने उनी देख्दै छन् ।

स्वास्थ्य क्षेत्र सपार्नै पर्छ उनको यही माग छ । सुविधा सम्पन्न उत्कृष्ट अस्पताल, नाम चलेको कलेज बनाउँछु भन्ने अभियान नै बनाएर लागि परे पनि गर्न सकिरहेका छैनन् । बेला न कुबेलाको अनशनको झ्याउलोले उनलाई पिरोलिरहेको छ । अनावश्यक लाग्छ उनलाई गोविन्द केसीको अनसन । फि निश्चित गर्ने, मेडिकल कलेज नथप्ने, दुर्गममा कलेज खोल्नुपर्ने जस्ता कुरा देख्दा राम्रो, मीठा कुरा तर भित्र नेपालमा मेडिकल कलेज नपढाउने र विदेशमा पढ्न पठाउने खेल भएको उनी दाबी गर्छन् । स्वास्थ्यसम्बन्धी चेतनाको काम गर्दै हेल्थ इन्सुरेन्स अनि अस्पताल, कलेज बनाउने अभियानमा छन् राजेन्द्र । स्वास्थ्यग्रस्त हैन चुस्त बनाउन राजेन्द्र लाग्दै छन् ।

सीए पढ्न हिँडेका राजेन्द्र राजनीतिज्ञ भएर निक्ले । राजनीतिज्ञ भएर निक्लेका राजेन्द्र विकेन्द्रीकरण र स्वास्थ्यका विज्ञ बन्दै छन् । तीन छोरा आ–आफ्नो ठाउँमा परिपक्व भएका छन् । उमेर पनि साठीतिर लाग्दै छ । जीवनको यो मोडमा जीवनमा नभई नहुने स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने अर्काे मोड बनाउँदै छन् । आखिर सिंगो जीवन नयाँ मोडहरूको राजमार्ग त हो । यो नयाँ मोडमा आफूलाई नयाँ ढंगमा अभ्यस्त बनाउँदै आजकल राजेन्द्रको दिनचर्या चलिरहेको छ ।