टेम्पु व्यावसाय प्रति युवा आकर्षित



बजारको क्षेमता भन्दा वढी टेम्पो सञ्चालान हुँदा आम्दानी कम

नविन श्रेष्ठ
सिन्धुली, १४ माघ ।
सिन्धुलीका दिलिप तामाङ साउदिमा २६ महिना डाईभर काम गरे तर भनेको जस्तो आम्दानी नभए पछि नेपाल फर्के । नेपालमा रोजगारी नपाए पछि पून कत्तार गए त्याहाँ पनि १४ महिना सम्म दुःख गरे तर दुःख बढी आम्दानि कम भए पछि नेपाल नै फर्किए र सिन्धुलीमा अटो टेम्पो सञ्चालन गर्न थाले ।

उनको अहिलेको आम्दानी दैनिक एक हजार सय देखि पन्ध सय सम्म हुने गरेको छ । थोरै लगानी राम्रो आम्दानि हुने भए पछि दिलिप जस्तै युवाहरु अटो टेम्पो सञ्चालन प्रति आकर्षित हुन थालेका छन् । हाल सिन्धुलीमा मध्य तराई यातायात सेवा समिति मार्फत २० ओटा अटो टेम्पो सञ्चालनमा रहेका छन् ।

५ लाख १५ हजार मुल्य पर्ने अटो टेम्पो दुई लाख भुक्तानी दिए पछि वित्तिय संस्थाबाट १६ हजार ७ सयमा मासिक किस्तमा खरिद गर्न सकिने भएकोले पनि युवाहरु यो व्यावसायमा आकर्षित भएका हुन् । ३ सय ८० केजी बोक्न सक्ने क्षेमता भएको तीन पाँग्रे टेम्पो सदरमुकाम वरपर मानिस यात्रा गर्न वा सामान ढुवानी गर्न रिजभको लागि सस्तो पर्ने भएकोले पनि सिन्धुलीमा यसको व्यावसाय फस्टाएको हो ।

कमलामाई नगरपालिका ७ का केदार सारु मगरले पुस महिनामा किस्ता, गाडीको मर्मत तथा अन्य खर्च कटाएर ३० हजार मुनाफा राख्न सफल भएको वताए । सिन्धुलीको सदमुकामका बजारहरु, खट्टार, चियावारी ठूलीटार, माईस्थानसम्म र सर्वसाधरणको आवश्यकता अनुसार अन्य स्थानसम्म रिजभमा लान सक्ने भएकाले राम्रो आम्दानी हुने गरेको सारु मगरले वताए । सार्वजनिक गाडीमा भिडभाड वढी, गाडीको लागि पर्खिनु पर्ने र नजिकको दुरीमा गाडी भनेको वेलामा नपाईने भएकोले सर्वसाधरण अटो टेम्पो चढ्न रुचाउने गरेको सारु मगरले वताए ।

दुई वर्ष अघि घरमा रङ लगाउने काम छाडेर सिन्धुलीमा पहिलो चोटी अटो ट्याम्पो सञ्चालनमा ल्याउने राजकुमार घिमिरेले पहिला दैनिक ४ हजार सम्म आम्दानी गरेको स्मरण गर्दै अहिले अटो टेम्पोको संख्या वढेकोले दैनिक १ हजार मात्र आम्दानी हुने वताउछन् ।

‘आफै मालिक हुन पाउने भएकोले युवाहरु यो व्यावसायमा आकर्षित भए पनि संख्या वृद्धिले गर्दा आम्दानी कम हुदै गईरहेको छ, यो भन्दा वढी संखयामा यो बजारले धान्दैन ।’ घिमिरेले भने, ‘एउटा व्यावसाय फस्टाएको देखेपछि त्यसैमा सबैले लगानी गर्ने र बजारले धान्न नसकेर ब्यावसाय नै धरापमा पर्ने समस्या रहने गरेको छ । यो हाम्रो टेम्पो व्यावसायमा पनि त्यो रोगले छोएको छ ।’ घिमिरेले थपे ।

ब्यावसाय चलेको देखेर विभिन्न वैंक तथा वित्तिय संस्थाहरु लगानी गर्न इच्छुक भए पनि बजार सानो भएकोले अव यो भन्दा वढी बजारले नथेग्ने घिमिरेको भनाई छ ।

यसरी छोटो समयमा नै सिन्धुलीमा अटो टेम्पोको संख्या वढे पछि यसलाई व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले टेम्पो रुढ मुल्य कायम गरेको छ । सर्वसाधरण नठगिउन भनेर टेम्पो सञ्चालन हुने रुढमा दुरीको हिसावले मुल्य निर्धारण गरेको छ ।

व्यासायिहरुको समन्वयमा चियावारी ५०, पानीट्याङकी ३०, ढुङग्रेवास २५, रातमाटा, बजार एरिया र माझीटार २० रुपया र अन्य स्थानमा आपसी समझदारीमा मुल्य निर्धारण गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले मुल्य निर्धारण गरेको छ । रुढमा सञ्चालन भएको अवस्थामा प्रति व्यक्ति मुल्य निर्धारण गरे पनि अधिकाँश टेम्पो रिजभमा मात्र सञ्चालन हुने भएकोले सर्वसाधरणलाई यो मुल्य निर्धारणले कुनै अर्थ राखेको छैन ।

प्रतिक्रिया दिनुहोस्