लोप हुने अवस्थामा नेवारी पोसाक

282
Shares

समीना तिमल्सिना, भक्तपुर
नेवारीहरूको आफ्नै पहिचान मानिने नेवारी पोशाक पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। युवा पुस्ता फेसन र जिन्सी कपडातर्फ आकर्षित हुँदा नेवारी पोशाक दिन प्रतिदिन संकटमा पर्दै गएको पोशाक उद्यमीहरू बताउछन्।

नेवारीहरूले पोशाक निर्माण कार्यलाई पुख्र्यौली पेशाका रूपमा अंगाल्दै आएका छन्। नेवारी पोशाक भन्नाले महिलाहरूले लगाउने हाकुपटासी, चोली, पछ्यौरी र पुरुषले पहिरने दौरा, सुरुवाल, स्टकोट पर्दछन्। दैनिक १ सय ५० मिटरदेखि २०० मिटरसम्म कपडाहरू उत्पादन हुने गरेको पोशाक उद्योगीहरू बताउँछन्।

पोशाक बुन्ने जनशक्तिको अभाव हुँदा नेवारको पहिचान मानिने नेवारी पोशाक संकटमा पर्दै गएको हो। पोशाकका लागि आवश्यक कच्चा पदार्थ पर्याप्त मात्रामा भए पनि युवाहरूले चासो नदिँदा दिन प्रतिदिन नेवारी पोशाक लोप हुँदै गएको भक्तपुरका पोशाक उद्योगी बुद्धिसागर प्रजापतिले जानकारी दिनुभयो।

पोशाकको माग पर्याप्त भए पनि आपूर्ति हुन नसकेको बताइएको छ। उद्योगी प्रजापतिले भन्नुभयो– ‘नयाँ पुस्ता आफ्नो पढाइसँगै विभिन्न पेसामा आबद्ध हुन थालेपछि यसतर्फ आकर्षण घट्दै गएको छ। यस्तै हुने हो भने, नेपालीहरूले नै बुनेको नेवारी कपडा नेपालबाट लोप हुनेछ।

पहिले पहिले त नेपालमा बुनेको नेवारी पोशाक विदेशमासमेत निर्यात हुने गथ्र्यो। त्यही भएर यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक छ।’
कपडा बुन्नका लागि धागो प्रतिकिलो पाँच सय रुपियाँ पर्ने गर्छ। उता, कामदाहरूले युवा पुस्ताहरू यस पेशातर्फ समाहित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

नेवारी पोशाक निर्माणका लागि काम गर्दै आउनुभएका ५० वर्षीय महालक्ष्मी कोजुले भन्नुभयो– ‘हामी निकै बुढा भयौं। युवाहरू यस पेशामा लाग्नुपर्यो। आर्थिक हिसाबले पोशाक बुन्ने पेशा निकै राम्रो छ। एक मिटर कपडा बुनेको १० रुपियाँ पाउँछौं।’ विस्तारै नेवारी पोशाक संकट हुँदै गएपछि नेवार जातिले चाडपर्व, विवाहमा मात्रै लगाउने गर्दछन्।
प्रशिक्षार्थी