निर्वाचनका लागि तयार रहन प्रमको निर्देशन



धन बस्नेत, पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनका लागि तयार रहन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ।

सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सि.सं. ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले संविधान कार्यान्वयनका लागि निकट भविष्यमा घोषणा हुने तीनवटै तहको निर्वाचनका लागि तयार हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको हो।

सशस्त्र प्रहरी बलले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाकासाथ शान्ति सुरक्षा र अमनचयन कायम राख्न सफल बन्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संगठनलाई समयानुकूल स्रोतसाधन सम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न सशस्त्र प्रहरी बल सक्षम रहने उहाँको विश्वास रहेको छ। स्थापनाकालदेखि नै व्यवसायिक कौशलता, आम जनताको सेवा सुरक्षाका साथै विपद् व्यवस्थापनमा पुर्याएको योगदानकै कारण सशस्त्र प्रहरी नेपाली जनमानसमा बस्न सफल बनेको उहाँले बताउनुभयो।

कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आन्तरिक सुरक्षाका साथै सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसायोग्य भएको बताउनुभयो। सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्पष्ट पार्नुभयो। बढ्दो सुरक्षा चुनौतीको समानका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको उहाँको भनाइ रहेको छ।

सो अवसरमा तालिमका क्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सशस्त्र प्रहरी अधिकृतलाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गर्नुभयो। तालिममा सबैभन्दा पहिलो र शारीरिक सहिष्णुतामा प्रथम मौसम पोखरेल, कवाज प्रथम बुद्ध श्रेष्ठ तथा चादमारी प्रथम सुवास भट्टराईलाई पुरस्कृत गरिएको थियो।

सशस्त्र प्रहरी बल महाविद्यालय लामापाटन पोखराका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक कविन्द्रमान श्रेष्ठका अनुसार सि.सं.११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा एक महिलासहित २५ जनाले ५४ हप्ताको तालिम सम्पन्न गरी दीक्षित भएका छन्।

कार्यक्रममा महिला तथा बालबालिका मन्त्री कुमार खड्का, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गृहसचिव, क्षेत्रीय प्रशासक, नेपाली सेनाका पश्चिम पृतनापति, प्रमुख जिल्ला अधिकारीलगायत पोखरास्थित सबै सुरक्षा निकायका प्रमुख एवं विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्