(सुशील देवकोटा) लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको अभिव्यक्ति स्वतन्त्रता हो । एकतन्त्रीय व्यवस्था अथवा तानाशाही व्यवस्थामा जनताको यो अधिकार कुण्ठित भएको हुन्छ । जनताले आफ्नो मनका कुरा लेखेर वा बोलेर व्यक्त गर्ने अवस्था र व्यवस्था त्यहाँ हुँदैन । आजको युगमा जहाँ कि पशुको समेत अधिकारको लागि लडाइँ लडिन्छ भने मानिसले आफ्नो बोल्न पाउने, मनको कुरा सम्बन्धित पक्षसम्म पुर्याउने र आफ्नो हक–अधिकारको लागि लड्ने चाहना राख्नु भनेको सामान्य हो । जनताले जनतामाथि गर्ने शासन वा जनताको शासन हुने भएकाले जुन देशमा लोकतन्त्र हुन्छ त्यो देशमा जनताको आवाज कुण्ठित हुँदैन र जनचाहनाअनुसार देश अगाडि बढ्छ । हाम्रो देशमा लोकतन्त्रको यो सामान्य सिद्धान्तलाई गलतरुपमा बुझिएको छ, त्यो बेग्लै कुरा हो ।
अभिव्यक्ति स्वतन्त्रताको अर्थ जसले जे पनि बोल्न पाउने स्वतन्त्रताचाहिँ पक्कै होइन । नेपालको संविधान, २०७२ को भाग ३ मा मौलिक हक र अधिकारमा विचार र अभिव्यक्तिको स्वतन्त्रता पाइने लेखिएको भए तापनि त्यसलाई अझ स्पष्ट व्याख्या गर्दै जे भनिएको छ त्यसको सार यस्तो छः नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा र विभिन्न जातजाति, धर्म र सम्बन्धमा खलल पर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन । यसको अर्थ यो हुन्छ कि त्यस खालका अभिव्यक्ति दिन पाइँदैन । आफ्नो देशको विरुद्ध आउने कुनै पनि अभिव्यक्तिप्रति सरकार सदैव सचेत रहनुपर्छ । त्यस्ता अभिव्यक्ति दिने व्यक्ति, समूह वा देशलाई मनासिव जवाफ अविलम्ब दिनुपर्छ । आफ्नो राष्ट्र, राष्ट्रियता र नागरिकको सम्मानको लागि पनि त्यस्ता अभिव्यक्ति दिने व्यक्ति, समूह वा देशलाई कडा जवाफ दिनै पर्छ, ताकि उनीहरूले बुभूmन्– त्यो राष्ट्र आफ्नो सुरक्षाप्रति संवेदनशील छ र त्यो देशका विरुद्ध कुनै किसिमको चलखेल सम्भव छैन ।
विडम्बना, हाम्रो देशको विरुद्ध जसले जतिसुकै विष वमन गरे पनि हाम्रा कुनै नेताको छाती पोल्दैन । देश टुक््रयाउँछु भन्दा पनि कुनै नेताको रगत उम्लिदैन । जनता त्रसित छन् देश टुक्रिन्छ कि भनेर, भयभित छन् देश खण्डित हुन्छ कि भनेर तर हाम्रा कुनै नेतालाई जनताको यो त्रास र भयसँग कुनै लेनादेना नै छैनजस्तो देखिन्छ । सिके राउत भनिने चन्द्रकान्त राउतले केही वर्षअगाडिदेखि खुलेर हाम्रो देशको विरुद्ध विष वमन गर्दै छन्, देशको सामाजिक सद्भाव भाँड्ने काम गर्दै छन् र हाम्रै भूमिमा आमसभा गरेर खुलेर नेपाल टुक््रयाउने कुरा गर्दै छन् तर उसलाई कारबाही गर्ने कुरा त परै जाओस्, उसलाई सचेत बनाउने खालको अभिव्यक्तिसमेत औपचारिकरुपमा कुनै नेताबाट आएको छैन ।
पछिल्ला दिनमा देशको नागरिक भएर बसेका राजाले जनताको भावनाको प्रतिनिधित्व हुने अभिव्यक्ति दिँदा राजालाई देश निकाला गर्नुपर्ने (जबकि कसैलाई देश निकाला गरिने छैन भनेर नेपालको संविधानमा स्पष्ट लेखिएको छ), जेल हाल्नुपर्ने जस्ता निर्लज्ज अभिव्यक्ति आए । विश्व हिन्दु महासंघको आयोजनामा भएको विराट हिन्दु सम्मेलन र श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आएको ज्ञानेन्द्रको वक्तव्यमा कहीँ–कतै देशलाई आघात पुग्ने कुरा भनिएको छैन । यथार्थमा त्यसमा जनताको मनोभावना नै व्यक्त गरिएको छ ज्ञानेन्द्रको वक्तव्यमा । जनताको सरकार भनिएको सरकारले जनताको चाहनाको कदर गरेर जनभावनाअनुरुप चलेको भए उनले त्यस्तो अभिव्यक्ति दिने मौका नै पाउने थिएनन् नि । यदि हाम्रा नेतालाई ज्ञानेन्द्र नबोलून् भन्ने लाग्छ भने काम पनि त्यस्तै गरेर देखाउनुपर्यो नि । नेताहरूले राम्रो काम गर्दागर्दै उनले त्यसरी बोलेका भए सबै जनता उनका विरुद्ध खनिन्थे होला, तर हाम्रा नेताहरूको गैरजिम्मेवार व्यवहार, सत्तालिप्सा र स्वार्थी चरित्रले गर्दा राजाको त्यो अभिव्यक्तिलाई धेरै नेपालीले स्वागत गरे ।
देशको हितमा वक्तव्य दिनेविरुद्धचाहिँ खनिने र देश टुक््रयाउँछु भन्दै हिँड्नेलाई चाहिँ एक शब्द नबोल्ने, यो कस्तो नीति हो सरकारको ? कुन अदृश्य शक्तिले चलाएको छ हाम्रा नेताको मुख ? देशमा गणतन्त्र केका लागि ल्याइएको हो ? जनताको सरकार भएको आभास जनताले कहिले गर्न पाउने हुन् ? जनता आज यी तमाम प्रश्नको उत्तर जान्न चाहन्छन् ।
२०७१ साल भदौमा सिके राउतलाई गिरफ्तार गरिएको थियो, तर उनले आफ्नो गिरफ्तारीको विरुद्धमा अनशन शुरु गरे र नेपाली कांग्रेसका उपाध्यक्ष रामचन्द्र पौडेल, तत्कालीन सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र तत्कालीन कृषिमन्त्री हरि पराजुलीले अस्पतालमा गएर उनको स्वतन्त्रताको आन्दोलनको सम्मान गर्ने प्रतिबद्धता जनाउँदै अनशन तोडाए । उनको स्वतन्त्रताको आन्दोलन अर्थात् नेपालबाट मधेस अलग देश बनाउने आन्दोलन । किन उनको अगाडि घँुडा टेक्न गए ती नेताहरू ? किन सम्मान गर्ने भनियो उनको देश टुक््रयाउने आन्दोलनलाई ? किन यति बेथितिको बन्दै छ हाम्रो देश ? एकजना बहालवाला मन्त्रीले सीधै स्वीकार गर्छन् म तस्कर हुँ भनेर, तर उनीमाथि कारबाही हुँदैन । अर्का नेता खुलेआम सामाजिक सद्भाव भड्काउन खस आर्यहरूले मधेसी समुदायलाई दबाएको अभिव्यक्ति दिन्छन् । त्यो सामाजिक अपराध मानिदैन । अझ मजाको कुरा त के भने, स्वयम् उनी आफैं खस आर्य नै हुन् । सोझा मधेसी समुदायले त्यस्ता छट्टु स्वार्थीको कुरा किन र कसरी विश्वास गरिरहेका छन् ? यो थप आश्चर्यको विषय हो ।
हाम्रो जस्तो देशमा जहाँका जनता अहिले पनि आफ्नो आधारभूत अधिकार गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य सेवाको लागि संघर्ष गरिरहेका छन्, त्यो देशमा विकसित देशका मानवअधिकारवादीहरू मानवअधिकारको नाममा सिके राउतहरूजस्ताको पक्षपोषण गरिरहेका छन् । जनताले शान्तिका साथ बाँच्न पाउने अधिकार कुण्ठित हुँदा उनीहरूलाई केही फरक पर्दैन । तर सिके राउतजस्तालाई गिरफ्तार गर्दा मानवअधिकार उल्लंघन भयो भन्दै सात बित्ता माथि उफ्रन्छन् तिनीहरू । अनि तिनको होमा हो मिलाउँछन् हाम्रा स्वार्थी नेताहरू । यदि नेताहरूको यस्तै ताल हो र सधैँ यसरी देशको अस्मितालाई नै दाउमा लगाएर आफ्नो स्वार्थ मात्रै पूरा गरिरहने हो भने, त्यो दिन टाढा छैन जब देशका जनता फेरि एकपटक घर–घरबाट निस्कनेछन् स्वर्गीय बीपी कोइरालाले भन्नुभएको जस्तै एउटा निर्णायक आन्दोलनका लागि ।
प्रतिक्रिया