आर्थिक क्रियाकलापमा लाग्न प्रमको आग्रह


नेपाल समाचारपत्र
पर्वत
प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धिबिना देशका नागरिक स्वाभिमान बन्न नसक्ने भएकाले आर्थिक उपार्जनमा लाग्न आग्रह गर्नुभएको छ। बिहीबार पाँचौ पर्वत महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो।

माघ २२ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सम्बोधन गर्दै देश धनी नभएसम्म व्यक्ति धनी भएरमात्रै केही नहुने उल्लेख गर्दै भन्नुभयो–‘सबै मिलेर देशलाई समृद्ध बनाउनेतर्फ लागौं।’ देशलाई आर्थिक रूपमा समृद्ध बनाउन राजनीतिक स्थिरता आवश्यक पर्ने भएकाले त्यसका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प पनि नभएको उहाँको भनाइ थियो।

उहाँले राष्ट्रिय गौरवका योजना सम्पन्न गर्न आफूले पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै कालीगण्डकी प्रसारण करिडोरको काम सम्पन्न गर्न, उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर लोकमार्ग सम्पन्न गर्नका लागि आफूले सहयोग गर्ने बताउनुभयो।

यसैगरी पर्वतको विकास निर्माणको मेरुदण्ड मानिएको कुस्मा–फलेवास–मिर्मी सडक कालोपत्रे गर्नका लागि आवश्यक बजेट विनियोजन गराउन तत्कालै निर्देशन पनि दिने प्रधानमन्त्रीले आश्वासन दिनुभयो। कुस्मामा सभा हल निर्माणका लागि पनि प्रक्रिया शुरू गर्न निर्देशन दिने भन्दै उहाँले देशको विकास र समृद्धिका लागि जस्तोसुकै रिक्स उठाउन पनि तयार भएको बताउनुभयो।

पर्वत महोत्सवमा यस वर्ष अघिल्ला महोत्सवभन्दा केही पृथक आकर्षणपनि थपिने भएका छन्। महोत्सवमा हिमाल, पहाड र तराईलाई झल्काउने गरी चौंरीगाईं, र ऊटका साथै अस्ट्रिज पनि प्रदर्शनीमा राखिने भएको छ। महोत्सव अवधिभर कालीगण्डकीमा जलयात्रा गराउने तथा दुर्लुङको डाँडाबाट प्याराग्लाइडिङ गराइने आयोजक नेपाल उद्योग वाणिज्य संघका महासचिव ठाकुर बि पौडेलले जानकारी दिनुभयो। महोत्सवमा १ करोड आम्दानी हुने अनुमान आयोजकको अपेक्षा छ।