कमैलाई थाहा होला गीत र संगीतबाट नाम कमाएका पन्नाकाजी शाक्य अभिनयमा पनि उत्तिकै दख्खल राख्थे। सुरिलो स्वरमा गीत गाउन र मिठासपूर्ण संगीत भर्न सिपालु उनी गीत रचना पनि गर्थे।
९/१० वर्षको उमेरमै सुरिलो स्वरका साथ गीत गाउन सिपालु उनी १५/१६ वर्षको किशोरावस्थामा पुग्दा टोल र स्कुलमा गीत गाएर मात्र होइन, नाटकमा अभिनय गरेरसमेत सबैको प्रिय बन्न सफल भएका थिए। राजकुमार, राजाजस्ता भूमिकामा अभिनय गरेका उनले २००४ सालमै औपचारिकरूपमा गीत गाउन थालेका थिए। नास खलः, बिसन्तरया मच्चादान, कुंडालजस्ता नाटकका प्रमुख पात्रको भूमिकामा अभिनय गरेका उनी ती नाटकमा अभिनयका साथ संवाद मात्र बोल्थेनन्, मनै हर्ने स्वरले भाका पनि हालिदिन्थे।
उनको यो अद्वितीय प्रतिभा देखेर रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालले रेडियो नेपालमा जागिर खान सुझाएका थिए। बालकृष्ण समले त उनको गायन र अभिनय दुवै प्रतिभाको परीक्षा लिएका थिए। समकै सिफारिसमा रेडियो नेपालका प्रथम निर्देशक तारणिप्रसाद कोइरालाले उनलाई २००७ सालमा गायकका रूपमा जागिर दिएका थिए। २००८ सालमा भने उनले स्थायी नियुक्ति पाएका थिए। उनले रेडियोमा २०४० सालसम्म जागिर खाए र नासु पदबाट स्वैच्छिक अवकाश लिए।
पन्नाकाजीले सांगीतिक जीवनको प्रारम्भिक चरणमा रेडियो नेपालमा आफ्नै संगीतमा रात यो नबित्ला, कस्तो कस्तो, एउटा मुटु, झल्किन्छ तिम्रो, म हुँ सराबी, अन्जान भएर, आजफेरि, कलेजा मेरो, म तिम्रो नजर जस्ता गीतहरु गाएका थिए। उनले गाएका अधिकांश गीतमा संगीत पनि उनकै हुन्थे। राजा महेन्द्रले मन पराएका यी गायकले मवीवी शाहका झन्डै एक दर्जन गीत गाएका छन्। पछि उनले आ“खाको भाखा, एेंसेलुको दाना, जति भावना छ, व्यर्थै सखी, किन किन तिम्रो तस्वीर, मनको कुरा, कहाँसम्म धाउन, मेरो मनको, तिमीभन्दा याद, एकै र थुंगा, सागर हो मेरो, नौलाख तारा बन्द छौ तिमी, मलाई भेट्न देउ, बिहानी घाम, जाँदै छु आज, जाली रैछौ, एकानी दुवान, बतासले, कसरीमा बिर्सुंजस्ता गीतबाट चर्चा कमाए।
उनले रेडियो नेपालमै रहँदा आफ्नै संगीतमा तन मन ध्यान दिई, पशुपतिनाथ प्रभु, भवसागरको नाउ, भज रामको नाम, जय जय हे त्रिपुरारी, नारायणको नाम जपौं, हरि हरि जप्दै जाउँ, राम भज कृष्ण भज जस्ता एक दर्जन जति भक्तिसंगीत गाएका छन्।
विभिन्न विधाका करिब ४ सय गीतका धनी यी गायकको लिजेन्ड अफ पन्नाकाजी (कसरी बिर्सुं म), लिजेन्ड अफ पन्नाकाजी (आफ्नो संसार र साधक गायक पन्नाकाजी (भजन–कीर्तन) गरी ३ एकल एल्बम प्रकाशित छन्।
पन्नाकाजीको कालजयी सदावहार गीत तिरिरी मुरली बज्यो वनैमा २०१३ सालमा कलकत्तामा रेकर्ड भएको थियो। सो गीतको रेकर्डिङमा नेपाली कांग्रेसका सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई पनि उनीसँगै थिए।
पन्नाकाजीको विशेषता के थियो भने उनी अब्बल स्वरका धनी त थिए। तर, गीत गाएबापत पाउने पुरस्कार ग्रहण गर्न हत्तपत्त मान्दैन थिए। ‘ढाँट्नु हुँदैन पाप लाग्छ, त्यसबेला त हामी पुराना कलाकारका पनि गीत बज्थे। रेडियो नेपालबाट पनि बज्थे। भर्खरै प्रजातन्त्र आएको थियो। त्यो जोशमा स्वर्णिम गीतहरु पनि रेडियोहरुबाट खुब बजे। खुसी भएँ हाम्रा पनि दिन आएछन् भनेर। पुरस्कारहरु पनि लिएँ’, केहीअगाडि संगीतकार टीका भण्डारीसँगको कुराकानीमा पन्नाकाजीले भनेका थिए– ‘जब हाम्रा गीत बज्न छोडे, त्यसपछि मैले पुरस्कारको नाम सुन्ने वित्तिकै इन्कार गर्न थालें।
वास्तवमा दिन आएका हैनन् दिन त गएका पो रहेछन्। जसले पुरस्कार दिन्छु भन्छ पहिला पुराना श्रष्टाहरुको गीत बजाउनूस्, त्यसपछि पुरस्कार लिन आउँछु भन्ने ग¥या छु।’ उनले गोदवा (२०३९), सर्वोत्तम साधक गायक, नातिकाजी सम्मान, वीरेन्द्र पदक, रेडियो नेपाल सेवा पदक, शुभराज्याभिषेक पदक, इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड जस्ता विभूषण, सम्मान र पुरस्कार स्वीकारेका थिए।
‘कुनै पनि कलाकारलाई गरिने सबैभन्दा ठूलो सम्मान भनेको उनीहरुद्वारा गाइएका, संगीतबद्ध गरिएका र लिपीबद्ध भएका गीतहरु सम्मानपूर्वक प्रसारण गर्नु हो। जसले नेपाली संगीतको जग खने, दुःख सहेर नेपाली संगीतको सुन्दर मुहार निर्माण गरे, आज तिनका गीत–संगीत रचनाहरु आक्कलझुक्कलबाहेक कहाँ प्रसारण हुन्छन? घर–घरमा रेडियो स्टेसन छन्।
तर, ती श्रष्टाका गीत बज्दैनन् अनि केका लागि सम्मान लिने, किन लिने ? सम्मान शब्दमा हैन व्यवहारमा हुनुपर्छ, ओठको सम्मान हैन। हृदयले सम्मान गरिनुपर्छ’, भण्डारीस“गको कुराकानीमा पन्नाकाजीले भनेका थिए– ‘अरू त अरू राज्यले खै कहाँ चिन्न सक्यो त राष्ट्रका ती संस्थापक स्रष्टा सर्जकहरुलाई, देखावटी सम्मान बेकार हो।’
प्रतिक्रिया