(डा. देवीप्रसाद आचार्य ) शिक्षकहरू विद्यार्थीका जीवन निर्माणका स्रोत हुन्, ज्ञानआर्जन र मार्गप्रदर्शकका माध्यम हुन्। जसरी एउटा कुमालेले काँचो माटोको घैंटोलाई आकार दिएर सुन्दर बनाउँछ त्यसरी नै योग्य, असल र दक्ष शिक्षकले विद्यार्थीको बौद्घिक, चारित्रिक र आचरणगत व्यवहारहरू बदल्न सक्छन्। अहिले हाम्रो देशका शिक्षालयहरूबाट उत्पादित शिक्षित नागरिकहरू सक्षम नभएको जनगुनासो छ। एकातिर शिक्षालयहरूमा समयसापेक्ष पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन हुन सकेको छैन भने अर्कोतिर परम्परागत शिक्षण शैलीबाट पठनपाठन घोकन्ते सिकाइ शैलीमा निर्भर भएको शिक्षाविज्ञहरूको गुनासो छ।
शिक्षालयहरूमा विद्यार्थी आधुनिक शिक्षण पद्घतिको सुविधाबाट वञ्चित भएका छन्। शिक्षकहरू शास्त्रीय शैलीको अध्यापनबाट आधुनिक शिक्षण पद्घतिमा रूपान्तरण हुन सकेको अवस्था छैन। हाम्रा शिक्षार्थीहरूमा मौलिक सिर्जना, रचनात्मक चिन्तन, आत्मविश्वास र आत्मनिर्भरका सिकाइका बाटा र पाटाहरू साँघुरिएको अवस्था छ। राज्यले शिक्षण विधि र शैलीलाई आधुनिकीकरण गर्दै नयाँ सीप र तरिकाहरूलाई प्रयोग गर्न सक्ने शिक्षकहरू तयार गर्नका लागि विषयगत तालिमहरू दिने गरेको छ। तालिम भनेको ज्ञान, सीप, प्रवृति र व्यवहारमा परिवर्तन ल्याउने प्रविधि हो। अर्को अर्थमा तालिम कुनै पनि व्यक्तिले आपूmमा भएको ज्ञान, सीप र अभिवृद्धिलाई परिष्कृत गर्ने, पुनर्ताजगी गर्ने र आपूmमा भएका कमी–कमजोरीलाई हटाउने साधन हो। सरकारी विद्यालयमा धेरै शिक्षक तलिमप्राप्त पनि छन्। तर शिक्षकहरूले प्रशिक्षणमा सिकेका नयाँ ज्ञान, सीप र तरिकाहरूलाई कक्षामा रूपान्तरण गर्न नसकेको जनगुनासो छ।
अहिलेको वैज्ञानिक युगमा शिक्षण सिकाइका नयाँ–नयाँ कुराको आविष्कार भइरहेको छ। आधुनिक शिक्षा पद्घतिमा शिक्षणशैलीको अभ्यासगत प्रयोग गर्दा पाठ्यपुस्तकमा निहित ज्ञानको पक्षभन्दा व्यावहारिक र सीपक्षलाई बढी जोड दिनुपर्दछ। जबसम्म शिक्षक आफ्नो विषय र तत्सम्बन्धी ज्ञानमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम हुँदैनन् तबसम्म गुणात्मक शिक्षा दिने काम सम्भव हुँदैन। सिकाइ पूरा हुन सक्दैन। यस सन्दर्भमा शिक्षकले आफ्नो विषय र शिक्षणसम्बन्धी ज्ञान र शैलीशास्त्रमा नवीनतम् कला जान्नु समयको माग हो।
शिक्षा क्षेत्रमा नयाँ आविष्कार, प्रयोग र परीक्षण भइरहने हुनाले शिक्षकहरू सधैँ ज्ञान र शिक्षणसीपमा जिज्ञासु भइरहनुपर्दछ। शिक्षक, प्राध्यापकलगायतका शिक्षाकर्मीहरू शिक्षाको अध्ययन, अनुसन्धान र ज्ञानआर्जनको बाटोमा तल्लीन हुनुपर्दछ। शिक्षाक्षेत्रका पेसाकर्मीहरूले आफ्नो सैद्घान्तिक ज्ञान र कार्यगत सीप तथा समयको मागलाई सम्बोधन गर्न सक्षम हुनुपर्दछ। एकातिर पढाउने गुरुहरूको अध्ययन, अनुसन्धान र शिक्षण शैलीशास्त्रमा आधुनिक कलाको विकास हुन सकेको छैन भने अर्कोतिर शिक्षालयहरूमा राज्यको नियन्त्रण, निरीक्षण र मूल्यांकन प्रणाली चुस्त नभएको नागरिक गुनासो छ।
राज्यले शिक्षामा गरेको लगानी पर्याप्त छैन भन्ने समाजमा बहस पनि चलेको छ। गरिब अर्थतन्त्र भएको मुलुकमा राज्यले लगानीको क्षमता वृद्घि गर्न नसक्नु एउटा पक्ष हो तर हाम्रो देशको सन्दर्भमा शिक्षाको गुणस्तर खस्कँदै जानुमा लगानीको कमी मात्र कारण होइन। शिक्षकहरू आफ्नो पेसाप्रति इमानदार र समर्पित नहुनु र राज्यले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्नु कारक तत्वहरू हुन्। राज्यले विद्यालयहरूमा प्रभावकारी शिक्षण सिकाइ गर्नका लागि शिक्षकहरूलाई तालिमको व्यवस्था गरेको भए तापनि उनीहरूलाई आफ्नो पेसाप्रति बफादार र जवाफदेही बनाउन सकेको छैन। राज्यले आफ्ना संयन्त्रमार्फत शिक्षालयका गतिविधिलाई रेखदेख, निरीक्षण र मूल्यांकन गर्ने प्रणालीलाई प्रभावकारी बनाउन नसकेकाले शिक्षाक्षेत्र तहसनहस भएको हो।
शिक्षा नियमावली आठौं संशोधनले विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्ड्सेक’को माध्यमद्वारा व्यवस्थापन गरी मूल्यांकन परीक्षामार्फत दक्ष शिक्षकलाई विद्यालयमा नियुक्ति गर्ने व्यवस्था गरेको छ। यो शिक्षाको गुणस्तरीय पठनपाठनका लागि एउटा कदम हो। तर यत्तिले मात्र पनि शिक्षामा गुणस्तरीय पठनपाठनको मापदण्ड हुनसक्दैन। गुणस्तरीय शिक्षाका लागि पुरानो शैक्षिक संरचनाका साथै शिक्षणशैलीमा आधुनिकीकरण गर्दै शिक्षालयहरू राज्यको खरो नियन्त्रणमा सञ्चालन हुन जरुरी छ। शिक्षाले समाजलाई सुसंगठित, सभ्य, परिस्कृत, सहिष्णु, मर्यादित, शिष्टाचारी, आत्मसंयमी, परोपकारी र बसुधैव कुटुम्बकम् भावनाको विकास गर्न सहयोग गर्दछ। शिक्षाका यी असल गुणहरूलाई शिक्षार्थीमा बीजारोपण गर्नका लागि समयसापेक्ष पाठ्यक्रम, स्तरीय पाठ्यपुस्तकीय विषयवस्तुको निर्माण र व्यावहारिक शिक्षण शैलीको आवश्यक छ।
विकास सँगसँगै समाजका मूल्य, मान्यता र आवश्यकताहरू पनि परिवर्तन हुन्छन्। यी परिवर्तित मूल्य र मान्यतालाई शिक्षाले अंगीकार गर्नुपर्दछ। पाठ्यपुस्तकमा लेखिएका विषयवस्तुलाई कण्ठस्थ गराउने, अभ्यास गराउने र कक्षागत श्रेणी बढाउने कार्यले शिक्षार्थीको प्रतिभा फस्टाउँदैन, मौलिक सिर्जना मर्छ, आफ्नोपन हराउँछ। शिक्षार्थीमा मौलिक चिन्तन, सिर्जनात्मक शक्ति, अन्वेषण र अनुसन्धान
गर्न सक्ने क्षमता, प्रतिभा र आत्मविश्वास साँघुरिन्छ।
एक्काइसौं शताब्दी ज्ञान, विज्ञान र प्रविधिको युग हो। शिक्षणकलामा पनि नयाँ तरिका, प्रयोग र सीपहरूको आविष्कार र प्रयोग भइसकेको छ। यस्तो सुविधा र प्रविधिको युगमा पनि हाम्रा शिक्षालयहरू किताबी ज्ञानको परम्परागत शैलीबाट माथि उठ्न सकेका छैनन्। शिक्षकबाट विद्यार्थीलाई ‘बैंकिङ विधि’को शिक्षण प्रणालीमार्फत ज्ञान थोपर्ने काम भइरहेको छ। यो पुरानो शिक्षण शैली हो। यस विधिले सिर्जना फस्टाउँदैन। मौलिक ज्ञानको विकास हुँदैन। नयाँ चिन्तन र आविष्कारका बाटाहरू थुनिन्छन्। आफ्नोपन हराउँछ। शिक्षालाई मौलिक ज्ञान र सिर्जनामा आधारित बनाउन पढाइने विषयवस्तु र पढाउने शैलीशास्त्रमा रूपान्तरण गर्न अब ढिला गर्नुहुँदैन।
प्रतिक्रिया