(दामोदर पौडेल ) पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियताको बारेमा समेत उल्लेख गरेर विज्ञप्ती जारी गर्नु आफैंमा संयोग मात्र होइन। एमालेका उपाध्यक्ष वामदेव गौतमले संघीयता माओवादीको हिंसात्मक आन्दोलनलाई सेल्फल्यान्डिङ दिनको लागि स्वीकार गरिएको बताए। राप्रपा नेपाल र जनमोर्चा संघीयताको पक्षमा कहिल्यै थिएनन्। राप्रपा नेपाल र राप्रपाको एकीकरणपछि पनि सम्भवतः यो दलमा संघीयता नचाहनेहरूको संख्या कम छैन। राजा, राप्रपा, जनमोर्चा र एमालेको ठूलो पंक्ति संघीयताको पक्षमा छैन भन्ने यो प्रमाण नै हो। वास्तवमा संघीयता यो देशको लक्ष्य होइन। पुरातनपन्थी केन्द्रीय सोचको कारण संघीयता आवश्यकजस्तो दखिन थाल्यो। वास्तवमा संघीयता माओवादीको सत्ताकब्जाको रणनीति थियो। पछि माओवादीलाई पनि सजिलो भएन। भारतलाई माओवादीले प्रयोग गर्ने कि माओवादीलाई भारतले प्रयोग गर्ने भन्ने भित्री दौडमा माओवादीले त्यो दौड देशको लागि आत्मघाती भएको महसुस गरेको हुनुपर्दछ।
संघीयता, धर्मनिरपेक्षता र कृश्चियन धर्मको कारण आर्थिक सहयोग हुने दलगत स्वार्थ हो भनिन्छ। यद्यपि यसका प्रायोजित पात्र र देखिने शक्ति विभिन्न भए। माओवादीको सत्ताकब्जाका माध्यममध्ये संघीयता साधन बन्न सकेन। माओवादीलाई न जीत, न हारको खेल खेलेर जनता र आफूहरूलाई बलिका बोका बनाउने इच्छा नहुने भए पनि सेफ ल्यान्डिङका लागि संघीयतासमेत स्वीकारिएका हुन् भन्न सकिन्छ। पछि ती आधारहरूमा माओवादी नरम भए पनि अरु दलहरूले सघनरूपमा समाते। अहिले संघीयता र गणतन्त्र साह्रै आवश्यक विषय थिएनन् कि भन्ने धेरैलाई लागेको छ। समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा प्रबल विकेन्द्रीकरणको चाहना भने सकारात्मक पक्ष हो भन्न सकिन्छ।
माओवादी छोडेपछि बाबुराम भट्टराई, मधेश केन्द्रित दलहरू पूर्णरूपामा संघीयताको पक्षमा छन्। नेपाली कांग्रेसले संघीयताको पक्षमा वा विपक्षमा रहेको प्रस्ट भावनात्मक मानसिकता बनाउन सकेको छैन। धर्मको सम्बन्धमा ठूला दलहरूमध्ये नेपाली कांग्रेसमा हिन्दु धर्मको पक्षमा समूह नै तयार छ। पहाडका साना दलहरू केही संघीयताको पक्षमा छन् भने केही विरुद्धमा छन्।
नेपालको संघीयताको आवाज नेपालीहरूको मात्र हातमा छैन। भारतीय प्रशासन नेपाल संघीयतामा जाओस् भन्ने चाहन्छ। भारतीय कांग्रेस नेपाल संघीयतामा जाओस् भन्ने चाहना राख्थ्यो। अहिले भारतमा कांग्रेस कमजोर भएको छ र अब भारतीय कांग्रेसका लागि नेपालमा एकात्मकता वा संघीयता भन्ने कुरा कम चासोको विषय हुँदै गएको छ।
भारतीय जनता पार्टीको लागि संघीयता चासोको विषय होइन तर बाहिर त्यो दल संघीयताको नाममा मधेस केन्द्रित दलको पक्षमा देखिएको जस्तो लाग्छ। भाजपालाई नेपालमा हिन्दु धर्मलाई राष्ट्रिय धर्म नबनाएकोमा दुःख छ। त्यो भन्न मिल्ने विषय भने छैन। यदि आफ्नो चाहनाअनुसार नेपाल चल्दैन भने मधेस केन्द्रित पक्षलाई शक्ति सन्तुलनमा किन नलिने भन्ने भाजपाको मानसिकता हुनु उनीहरूको हेराइबाट अन्यथा पनि नहोला। नेपालले हिन्दु धर्मलाई राष्ट्रिय धर्म बनाउने हो भने कमसेकम भाजपा सरकारमा रहेसम्म भारतको लागि मधेस र संघीयताको सवाल गौण बन्ने सम्भावना छ।
भाजपा र मधेस केन्द्रित दलहरूको सोच हाललाई मिलेको जस्तो देखिए पनि मधेस केन्द्रित दलहरू धर्मनिरपेक्षता र संघीयताको पक्ष्मा छन्। भाजपालाई नेपालको संघीयतासँग कुनै लेनादेना छैन तर धर्मनिरपेक्षता अपाच्य छ। यसरी नेपालको सम्बन्धमा भाजपा र मधेश केन्द्रित दलहरूको लक्ष्य फरक भए पनि नेपालको परम्परागत राजनीतिको पकड भएको पक्षसँग फरक कारणले विमति र असमझदारी छ तर विमति जनाउन एकता छ। यदि नेपालमा हिन्दु राज्यको स्थापना भएमा भाजपा खुशी हुनेछ। संघीयतासहित हाल देखिएका भारत–नेपालबीचका विवादमा पनि चासो रहनेछैन भन्ने उसको व्यवहारले देखाएको छ। भाजपा नेपाललाई भारतको छायामा राख्नभन्दा हिन्दुत्वमा भारत र नेपालको एकै सोच चाहन्छ। नेपालको कारणले आतंकवादसमेतमा सहयोग नपुगोस् भन्ने चाहना सबै भारतीयको रहेको देखिन्छ। भारतीय कांग्रेस बलियो भएमा भने त्यो दलको परम्परागत सोच र व्यवहार नेपाललाई कमसेकम भूटानसरह बनाउने हुन सक्दछ।
यी कतिपय सतहका रूपा हुन्। कतिका जरा नेपालकै भूमिमा होलान्। भ्रष्टाचार गरेर धन कमाउनेहरूको भावनात्मक पक्ष धेरै भिन्न छ। बाध्य भएर उनीहरूको पछि लाग्नेहरूको चाहना फरक छ। नेपालमा बस्ने हो भने डिप्रेसनले मरिन्छ भन्ने जमात पनि छ। यिनीहरूका पाएसम्म स्थायी डिस्टिनेसन युरोप वा अमेरिकी क्षेत्र हुन्। नभए यो जत्था दक्षिण कोरिया, जापानजस्ता देशमा गई पैसा कमाएर पनि चित्त बुझाउन चाहन्छ।
नेपालीहरूको साझाजस्तै रोग अर्को पनि छ। त्यो हो दुःख नगरी पैसा कमाउने। बढी गफ गर्ने, काम नगर्ने र दोषमात्र अरुलाई दिनेको संख्या पनि कम छैन। जग्गाको काम, शेयरको कारोबार, ढुकुटी, जुवातासजस्ता विषय पनि अहिले उल्लेख्य नेपालीको रोजगारी बनेका छन्। राजनीति, जातीयता, संस्कृति आदिको कुरा गर्ने तर देशको रोजगारीमा नेपालीको हैसियत भने अन्त्य हुँदै गएको वास्ता धेरैलाई छैन। आफ्नो हातमा भएको सीप, जाँगरबाट भएको कमाइले नै हाम्रो स्वाभिमान बचाउँछ र हामी हाम्रो संस्कृतिलाई बचाउन सक्छौं भन्ने मनमा भए पनि दुःख नगरी संस्कृति एवम् परम्पराको नाममा कमाउने र नेता बन्ने रोग पनि कम छैन। अर्को रोग अप्रत्यक्ष वा अस्वीकार्य आम्दानीको माध्यम प्रयोग गरेर अरुलाई रवाफ दिने पनि हो। यो चरित्रले नेपालीबीच गरिब–धनी, इमानदार–बेइमान, परिश्रमी–बेइमानी, सोझा–धुर्तबीच ठूलो खाडल पारेको छ।
प्रतिक्रिया