मुलुकको वैदेशिक व्यापारमा आयातको अनुपातमा निर्यातको अनुपात वृद्धि हुन नसक्दा आयात–निर्यात अनुपात हालसम्मको उच्च तहमा पुगेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १२.८ गुणाले निर्यातभन्दा आयात बढी भएको छ । यो अनुपात हालसम्मको उच्च विन्दु हो । गतवर्षको सोही अवधिमा ८.८ गुणाले मात्रै आयात वृद्धि भएको थियो । विदेश निर्यात हुने वस्तु कम उत्पादन हुनु र आयात गर्ने सामग्रीमा वृद्धि हुनुले नै अहिलेसम्मकै उच्च विन्दुमा व्यापार घाटा बढेको हो ।
राजनीतिक अस्थिरताका कारण नेपालले उत्पादन गरेका विभिन्न सामग्रीहरू विदेश निर्यात हुन नसक्नु र नेपाली उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्नुले पनि आयात–निर्यातमा असन्तुलनको अवस्था सिर्जना भएको अर्थविद्हरूले बताएका छन् । चालू आर्थिक वर्षको पुस महिनामा सबैभन्दा बढी व्यापार घाटा व्यहोरिएको छ । पुस महिनामा सबैभन्दा धेरै वस्तुको आयात गरिएको र सोही महिना नेपालबाट अन्य महिनाको तुलनामा नेपाली सामान विदेशिएको कारण यो समस्या र्सिजना भएको भन्दा अत्युक्ति नहोला । चालू वर्षको पहिलो ६ महिनामा कुल व्यापार ४ खर्ब ९९ अर्ब ९२ करोड ८८ लाख हुँदा ४ खर्ब २७ अर्ब ५३ करोड ७ लाख रुपियाँ व्यापार घाटा भएको देखिन्छ ।
गतवर्षको सोही अवधिको तुलनामा यस वर्ष ७३.७५ प्रतिशतले व्यापार घाटा बढेको देखिनुले पनि नेपालको अवस्था नाजुक हुँदै गएको छ । नेपालले सो अवधिमा ३६ अर्ब १९ करोड ९० लाखका विभिन्न सामान निर्यात गरेको देखिन्छ ।
नेपालले आफ्ना उत्पादनलाई विश्वबजारमा पुर्याउन नसक्नु नै व्यापार घाटाको प्रमुख कारण रहेको छ । राज्यले उत्पादनमुखी व्यवसायमा लगानीको वातावरण बनाउन नसक्दाको परिणामले नेपाली जनताले जहिले पनि व्यापार घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको हो । नोपालमा भएको उद्योग कलकारखाना नियमित चल्ने वातावरण नहुनु, भएका उद्योगहरूमा पनि मजदुरहरूले विभिन्न बहाना बनाएर सधैँ आन्दोलन, हडताल गर्नु, विदेशी लगानी भित्र्याउने विषयमा सरकार मौन रहनुजस्ता कारणले नेपालले हरेक वर्ष ठूलो मात्रामा व्यापार घाटा व्यहोर्दै आएको छ । स्थिर सरकार स्थापना नभएसम्म मुलुकले यही परिणाम भोग्नुपर्ने अवस्था आइरहनेछ । त्यसैले व्यापार घाटा कम गर्ने वातावरण तयार गर्न सरकार एवम् सम्बन्धित पक्षहरू संवेदनशील हुनै पर्छ ।
प्रतिक्रिया