कर्मचारीप्रति सबै बेखुसीः मन्त्री


काठमाडौं, (नेस)
सामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीले कर्मचारी संयन्त्रको कामकारवाहीप्रति सर्वसाधारणसंगै राजनीतिक नेतृत्व खुसी नभएको बताउनुभएको छ।

सामान्य प्रशासन मन्त्रालय र नेपाल प्रशासनिक पत्रकार मञ्चले संयुक्त रूपमा आइतबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री बुढाथोकीले सो कुरा बताउनुभएको हो। कर्मचारीहरूको प्रवृत्ति खासै नसुध्रिएको बताउनुहुँदै उहाँले जनताप्रति उत्तरदायी भएर सेवा पवाह नगरेको पनि बताउनुभयो।

सामान्य प्रशासन मन्त्रालयलाई अन्य आकर्षक र मालदार मन्त्रालयमा सरुवा नभएसम्मका लागि जगेडाको मन्त्रालयका रूपमा मात्र कर्मचारीले लिने गरेको पनि मन्त्री बुढाथोकीको धारणा रहेको छ।

सो अवसरमा मुख्य सचिव डा. सोमलाल सुवेदीले संघीयता कार्यान्वयन चुनौतीपूर्ण भएको भन्नुहुँदै कर्मचारीभित्र पनि संघीयता कार्यान्वयन गर्न नचाहनेको प्रवृत्ति देखिएको बताउनुभयो। ‘आफ्नो अधिकार, मन्त्रालय, विभाग र दरबन्दी घट्ने डर कर्मचारी संयन्त्रमा रहेको पाइयो। यसले संघीयता कार्यान्वयनलाई थप चुनौतीपूर्ण बनाएको छ’ –उहाँले भन्नुभयो।

नेपालमा कार्यान्वयन हुन लागेको संघीयताको अभ्यास विश्वका अन्य देशको अनुभव र सैद्धान्तिक अभ्यासभन्दा नितान्त भिन्न रहेको उल्लेख गर्नुहुँदै मुख्य सचिव डा. सुवेदीले काम गर्दै सिक्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश थपलियाले संघीयता कार्यान्वयन गर्ने तयारी गरिरहँदा विभिन्न मन्त्रालय र विभागले पठाएको कार्यविश्लेषण प्रतिवेदन सन्तोषजनक नभएको बताउनुभयो। सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले संघीयता कार्यान्वयनमा भइरहेको तयारीबारे जानकारी दिनुभयो।