एनसेलको नयाँ डेटा अफर



काठमाडौं, (नेस)
एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ, जसअन्तर्गत एनसेलका सबै ग्राहकले अब अझ आकर्षक तथा सुलभ मुल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्ने एनसेलको भनाइ छ । माघ ९ गतेदेखि लागू हुने यस योजनामा एनसेलले भोल्युममा आधारित नयाँ डेटा प्याकलाई मात्र पाँचवटा सरल शुल्कमा समेटेको छ, जसले ग्राहकलाई आफ्नो छनोटको डेटा प्याक लिन अझ सहज बनाएको छ ।

योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याकमध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्छन् ।

अल टाइम डेटा प्याक चाहने ग्राहकले ९ रुपियाँमा २० एमबी, २० रुपियाँमा ५० एमबी, सय रुपियाँमा तीन सय एमबी, १५० रुपियाँमा ५ सय एमबी र मात्र २५० रुपियाँमा हजार एमबी डेटा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोही मूल्यमा अल टाइम डेटा प्याकभन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् ।

अर्थात डे डेटा प्याक खरिद गर्ने ग्राहकले ९रुपियाँमा ४० एमबी, २० रुपियाँमा सय एमबी, सय रुपियाँमा ६ सय एमबी, १५० रुपियाँमा हजार एमबी र २५० रुपियाँमा २ हजार एमबी डेटा पाउने छन् । नाइट डेटा प्याक सुचारु गर्नेले ९ रुपियाँमा ८० एमबी, २० रुपियाँमा दुई सय एमबी, सय रुपियाँमा १२ सय एमबी, १५० रुपियाँमा दुई हजार एमबी र २५० रुपियाँमा ४ हजार एमबी डेटा पाउने छन् । यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले १३ पैसा प्रतिएमबीसम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ७ पैसा प्रतिएमबिसम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

उल्लेखित शुल्क करसहित रहेको यस योजना अन्तर्गतका सबै प्याकको समयावधि ३० दिन रहेको छ । प्याकको भोल्युम चाँडै सकिएमा ग्राहकले प्याकको बाँकी समयावधिभर १ रुपियाँमा प्रतिएमबीको ‘पे एज यू गो’ दरमा इन्टरनेट चलाउन सक्नेछन् । सुलभ दरमा डेटा सेवाको फाइदा लिन ग्राहकले एस्ट्रिक्स् १२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्