यदुप्रसाद भट्ट, पाण्डवनगर, चितवन
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमपट्टि वनकट्टामा एउटा ठूलै बस्ती छ। ठोरी जाने बाटोमा नै पर्छ वनकट्टा। यही वनकट्टाको रिउ खोलाको किनारैमा पर्छ ऐतिहासिक बस्ती पाण्डवनगर।
यही पाण्डव नगरका स्थानीय माघको चिसो रातमा पनि आफ्नो घर छाप्रोमा नसुती मचानमा नै रात बिताउँछन्। मचानमा रात बिताउनु उनीहरूको दैनिकी हो, बाध्यता हो, रहर भने पटक्कै होइन। निकुञ्जको छेउ, जंगली हात्तीको आक्रमणको डरले उनीहरूको रात मचानमा बित्ने गरेको छ। साँझ पर्छ खाना खाइवरी एक दम्पती मचानमा सुत्न जान्छन्। दुई महिनादेखि मचानमै रात काटेको पीडित भुवन विकले बताए। मंसिरमा राखेको धानको बोरा सबै हात्तीले खाएको, आफ्नो घर भत्काएको र आफैंलाई मार्ला कि भन्ने डरले मचानमा सुतेको विक दम्पतीले बताए।
पुसको रातमा मचानमा रात कटाउन ज्यादै गाह्रो भएको गुनासो गर्दै थिए ६० वर्षीय भुवन विक। जाडो र डर दुवै हटाउन रक्सीको सहारा लिएको बताउने विक एकाबिहानै नशाको सुरमा भेटिए। साथमा रहेकी उनकी पत्नी चीजमाया विक पनि भुवनको कुरामा सहमति जनाउँदै थिइन्। ७० घरपरिवार रहेको दलित बस्ती पाण्डवनगरका स्थानीय अगुवा मानबहादुर परियार हात्तीले आफ्नो भत्काएको घर देखाउँदै थिए।
भर्खरै विदेशबाट आएका छोराबुहारीले राति हात्तीले आक्रमण गर्दा छानामा चढेर आफ्नो ज्यान बचाएको मानबहादुरले बताए। यही कात्तिकको रात पिसाब फेर्न भनी बाहिर निस्कँदा कोठाको ढोकैमा हात्ती भेटेपछि एकाएक चुपचाप कोठाभित्र पसी चुकुल लगाएर भित्रबाटै काठको भित्ता काटी मूल घरमा छिरी छानोमा चढेर गुहार लगाएपछि मात्र छोराको ज्यान बचाउन सफल भएको मानबहादुरले सुनाए।
पाण्डवनगरका ७० घरमा न बत्ती छ, न त बाटो नै। बत्तीको अभावमा उनीहरूले महँगोमा सोलार बालेका छन्। पक्की घरको त कल्पना नै गर्न सकिँदैन यो बस्तीमा गरिबी चरम छ। यसैमा पानीको समस्या पनि उत्तिकै छ। १० वर्षअघि बनाएको धारा अहिले अवशेष मात्रै बाँकी छ। स्थानीयले बस्ती नजिकैको जंगलबाट ल्याएको पानीको मूल सुकेर अहिले पूरै बस्ती काकाकुल बनेको छ।
यति मात्रै छैन यहाँको पीडा नजिकैको रिउ खोलाले कटान शुरु गरेपछि उजाडिँदै छ बस्ती। क्रमशः बस्ती छोड्दै छन् यहाँका स्थानीय। अभावै अभावमा बस्नुभन्दा बस्ती छोड्न उचित हुने तर्क गर्छन् स्थानीय होटल व्यवसायी रामकृष्ण तिमल्सिना। वर्षेनी पीडा सहनुभन्दा बस्ती छोड्नु राम्रो भएको उनको भनाइ छ।
रातभरि हात्तीको हुल आउने, अन्नपात खाने, स्थानीयको घर भत्काउने, मानिसलाई मार्ने भएपछि अभावै अभावमा बाँच्नुपरेको पीडा सुनाए मानबहादुरले।
विशेष गरी हात्तीले रक्सी, जाँड तथा नुनका लागि स्थानीयको घर भत्काउने गरेको उनको भनाइ थियो। ‘यदि हात्तीले खानेकुरा पाएन भने मात्र केरा खाएर जान्छ नत्र जाँदैन।’ –उनले बताए। तीन वर्षअघि यही पाण्डवनगरमा तिहारका बेला टीका लगाउन घर आएका रमेश अधिकारीको जंगली हात्तीको आक्रमणका कारण मृत्यु भएको थियो। रमेशको मृत्यु भएपछि स्थानीयमा अझै त्रास बढेको छ।
त्यसपछि भने कसैको ज्यान नलिए पनि घाइते बनाएको तथा सताएको दिन कमै मात्र भएको रामकृष्णको भनाइ छ। त्यसपछिका दिनमा पनि प्रायः हात्तीका हुल बस्तीमा आइरहन्छ र केही न केही उपद्रो नगरी जाँदैन। सधैं त्रास र डरमा बाँच्नुभन्दा जंगली हात्तीको आक्रमणबाट बच्नका लागि स्थानीय सबै मिलेर एउटा अग्लो मचान बनाए, जहाँ अहिले पनि उनीहरू हात्ती आएको थाहा पाउनेबित्तिकै सबै जना त्यही मचानमा रात काट्छन्। गुहार लगाउँछन्। अनि सुरक्षित हुन सबैलाई आग्रह गर्छन्।
जंगली हात्तीको पीडाले मात्रै बस्ती नांगिएको छैन वर्षेनीको रिउको कटानले पनि यहाँको बस्ती उजाड बन्दै गएको छ। सम्बन्धित निकाय यसबारे बेखबरजस्तै बनेको छ। धेरैपटक आफ्ना पीडा सुनाउँदा पनि सम्बोधन नभएको तिमल्सिनाले बताए। यस्तै पीडाको बीचमा पनि जीवन धान्न पर्ने भएकाले नमुना होमस्टे सञ्चालन गरेको सञ्चालक सुनीता बोटेले बताइन्। दलित तथा बोटे समुदायका लागि अहिले आय आर्जनका लागि सामूहिक बंगुरपालन तथा माछापालन शुरु गरिएको छ।
प्रतिक्रिया