‘मान्छेभित्रको मान्छे’ बोकेर शान्ता’

0
Shares

किरण श्रेष्ठ
नेपालको राजनीतिक वृत्तमा, सामाजिक आन्दोलनमा, महिला मुक्तिको सङ्घर्षमा र साहित्यिक सिर्जनामा समर्पित शान्ता श्रेष्ठभित्र अनेकौं खालका आफूले भोगेका तीता–मीठा कथा र व्यथाहरू छन्, जसको स्मरणले तत्क्षणको इतिहास स्मरण गराउँछन् । वि.सं. १९९१ फागुन १४ गते आमा मोहनमाया श्रेष्ठ र बुबा आनन्दलाल श्रेष्ठकी सुपुत्रीका रूपमा काठमाडौंमा जन्मिएकी शान्ता श्रेष्ठ चेतना र जागरणका अभियन्ता हुन् भनी सबैले औंल्याउने गर्छन् । वि.सं. २००४ मा महिला सङ्घको स्थापना गर्ने क्रमदेखि अविछिन्न आफूलाई समर्पित तुल्याउँदै आएकी यिनी जनयुद्ध कालमा माओवादीलाई सघाएको आरोपमा महिनौं–महिनौंसम्म भैरवनाथ गणका कालकोठरीमा अमानवीय यातना भोगेर पनि आफूलाई आत्मसमर्पण गर्न नदिएकी सङ्घर्षशील महिला हुन् ।

८३ वर्षको उमेर भोग्ने क्रममा शान्ता श्रेष्ठले निकै त्रासदीपूर्ण क्षणहरू, अप्ठ्यारा व्यवहारहरू र तथाकथित शासक र नेताहरूका घिनलाग्दा चरित्रहरू पनि देखेकी छन् । स्वाभिमानका एउटा धरोहर । महिला अभियन्ताहरूको हूलमा स्वच्छ र सुन्दर देखिँदो छवि भएका कञ्चन महिला । प्रस्ट वक्ता । चित्त नबुझेका कुराहरू राखिहाल्ने स्पष्ट प्रवक्ता । इतिहासमा सधैँ बाँच्ने र बचाउनुपर्ने सुन्दर नाम पनि हो शान्ता श्रेष्ठ । यिनै शान्ता श्रेष्ठले आफूभित्रको कथा र व्यथाहरू संस्मरणका रूपमा ‘मान्छेभित्रको मान्छे’ सङ्ग्रहमा सम्प्रेषण गरेकी छन् । ५१ वटा संस्मरणहरू सँगालिएको यस पुस्तकमा केही नलुकाईकन आफूले भोगेका, देखेका र अनुभूत गरेका संस्मरणहरू निर्भिक भएर लेखिएका छन् । यस सङ्ग्रहमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका नामअनुसार नसुहाउँदो क्रिया–कर्महरू, निर्मल लामाजस्ता कम्युनिस्ट नेताको स्वच्छताको वर्णन, मनमोहन अधिकारी, विश्वेश्वरप्रसाद कोइरालाप्रतिको धारणाका साथै कृष्ण सेन ‘इच्छुक’ सँगको संस्मरण समेटिएका छन् ।

सबैजसो संस्मरण लेखहरूमा यिनले प्रस्टरूपमा बेइमान र भ्रष्टहरूको भण्डाफोर गर्नुका साथै इतिहासमा ठगिएका, ओझेलमा पारिएका कुपात्र र सुपात्रहरूको वर्णन गरिएको यस संस्मरणसङ्ग्रह इतिहासमा नदेखिँदो तर घटित कथाहरूको सङ्ग्रह हो । प्रस्ट वक्ता र सङ्घर्षशील स्वभाव भएकै कारणले यिनले सत्यलाई सत्य र असत्यलाई असत्य भन्न कहिल्यै बाँकी राखिनन् । यसर्थ, यिनले भोगेका साँचा विम्बहरूको यो कथा–पुस्तक मान्छेभित्रको मान्छेको स्वरको कथा हो । इतिहास लेख्नेहरूले फू्लबुट्टा भरिदिएर ‘इतिहास’को स्वरूपलाई नै बङ्ग्याइदिने चलन व्याप्त भएको यो देशमा सत्य लेखेर इतिहासको साँचो पटकथा प्रकाशन गरेर शान्ता श्रेष्ठले आफ्नो पहिचान देखाएकी छन् । शान्ता श्रेष्ठद्वारा लिखित यस ‘मान्छेभित्रको मान्छे’ सङ्ग्रह हेरेर म भनिरहेछु– चाप्लुसी गर्न नजान्नेहरू, अन्याय हेरेर टुलुटुलु नबस्नेहरूले मात्र इतिहासमा ‘मान्छेभित्रको कथा’ लेख्न सक्छन् । यस्तै कथा लेखेर शान्ता श्रेष्ठले आफ्नो साहस सार्वजनिक गरिन्, जसको लागि लेखिका शान्ता श्रेष्ठलाई म बधाई र शुभकामना दिन चाहिरहेछु ।