जोकोभिच वाइल्ड कार्ड खेलाडीसँग हारे



मेलबर्न, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच दोस्रो चरणबाटै बाहिरिएपछि जारी अस्टे«लियन ओपनमा सबैभन्दा ठूलो स्तब्ध नतिजा बनेको छ ।

मेलबर्न कोर्टमा जोकोभिचले चार घण्टा ४८ मिनेट सम्म हारलाई टार्न कोसिस गरे । तर विश्वको १ सय १७ औं वरियता प्राप्त डेनीस इस्टोमिनले उनलाई सफल हुन दिएनन् । ६ पटकका अस्टे«लियन ओपन च्याम्पियन ७–६, ५–७, २–६,७–६ र ६–४ ले पराजित भएका हुन् ।

सर्बियाली खेलाडी जोकोभिच ग्रान्डस्लामको दोस्रो चरणमा हारेको विम्बल्डन २००८ पछि पहिलो पटक थियो । उनको हारले विश्व नम्बर एक एन्डी मुरे उपाधि दावेदारीमा सबैभन्दा अगाडि आएका छन् । ब्रिटेनका मुरे पहिल्यै तेस्रो चरणमा पुगिसकेका छन् । मुरेले मेलबर्नमा अघिल्ला सात वर्षमा पाँच फाइनल हारेका छन् । उनी चार पटक जोकोभिचसँगै हारेका थिए ।

जोकोभिच शीर्ष १ सयौं वरियता भन्दा बाहिरका खेलाडीसँग हारेको यो पहिलो पटक भने होइन । हालै ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ को फाइनलमा उनी १ सय ४५औं स्थानका हुआन मार्टिन डेल पोट्रोसँग हारेका थिए ।

हारपछि जोकोभिचको प्रतिक्रिया यस्तो थियो—उनी जितका हकदार थिए, यसमा शंका छैन उनी अहिलेको क्षणमा राम्रो खेलाडी थिए । यसैले मैले केही गर्न सकिएन ।

लय भेटाउन नसकेको जोकोभिचले पहिलो सर्भिस गेम जित्न १५ मिनेट लगाएका थिए । तर पहिलो सेट उनले १ घण्टा २५ मिनेटमा गुमाए । उनले तेस्रो सेटमा लगातार चार गेम जिते । यसको बावजुद चौथो सेट इस्टोमिनले टाइब्रेकमा हात पारेका थिए । निर्णायक सेटमा इस्टोमिनले जितेपछि जोकोभिचको अस्टे«लियन ओपनमा उपाधि रक्षा गर्ने अभियान समाप्त भयो ।

उज्बेकीस्तानका इस्टोमिनले अर्को खेल स्पेनका पाब्लो कारेनो बस्टासँग खेल्नेछन् । २००१ मा कार दुर्घटनामा खुट्टा भाँच्चिएपछि दुई वर्ष खेलबाट टाढा रहेका इस्टोमिनले वाइल्ड कार्ड मार्फत् अस्टे«लियन ओपनमा सहभागिता जनाएका हुन् । जितपछि उनले बताए—यो मेरो करिअरको सबैभन्दा ठूलो जित हो । तेस्रो सेटदेखि मेरो खुट्टा दुखेको थियो । मैले कसरी राम्रो खेले म आफै छक्क थिए ।

प्रतिक्रिया दिनुहोस्