एपीएफ शीर्ष स्थानमा


नेपाल समाचारपत्र
काठमाडौं ।
विभागिय टोली एपीएफ क्लब १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार शीर्ष स्थानमा उक्लिएको छ ।

दोस्रो लिगअन्तर्गत पुछारमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराएर एपीएफ १३ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा उक्लेको हो । अर्को खेलमा रिड मोडल कलेज र न्यु डायमन्डबीचको खेल खराव प्रकाशका कारण स्थगित भएपछि दुई खेल बढी खेलेको एपीएफले शीर्ष स्थान कब्जा गरेको थियो ।

दोस्रो स्थानमा झरेको रिड मोडलको ११ खेलबाट ३३ अंक छ । न्यु डायमन्डले तेस्रो स्थानमा रहँदै १२ खेलबाट ३० अंक जोडेको छ । दोस्रो खेल रद्द भए पनि पहिलो खेलमा भने न्यु डायमन्ड विजयी भएको थियो । न्यु डायमन्डले विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराएको थियो ।

लिगमा चौथो स्थानमा रहेको नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा हराउँदै ३ अंक थपेको छ । पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पश्चिमाञ्चलकी अरुणा शाहीले वुमन अफ द डे को उपाधि जितिन् । उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ ।